दाँत र गिजामा आउने समस्याबाट बच्न के गर्ने ?

२०८१ मङ्सिर २ आइतबार

नेपालीहरूमा दाँतमा कीरा लाग्ने र गिजाको समस्या बढी देखिन्छ । दाँतको समयमा हेरचाह नगर्दा विभिन्न समस्या देखा पर्ने गरेका छन् । दाँतका कारण मुखको रोग पनि देखा पर्छ ।

 

यदि दाँतको सफाइ र हेरचाह राम्ररी गर्ने हो भने यी समस्या निम्तिने सम्भावना कम हुन्छ । त्यसैले दाँत र गिजामा के कस्ता समस्या देखा पर्छन् ? स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? लगायत विषयमा गिजारोग विशेषज्ञ डा. खुश्बु गोयलसँग सुमित्रा लुईटेलले गरेको कुराकानी :

 

मुख गन्हाउने कारण केके हुन् ?

 

सास गन्हाउने समस्याको मुख्य दुई कारण हुन्छ । एउटा मुखको कारण निम्तिन्छ र अर्को मुखभन्दा बाहिरको कारण । मुखमा घाउ खटिरा आएमा, जिब्रो राम्ररी सफा नहुँदा, गिजा पाकेमा, दाँतमा कीरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी दाँतको कापमा तथा मुखमा फोहोर जम्मा भएर बसेमा पनि त्यहाँ अड्किएका फोहोरका कारण मुख गन्हाउने गर्छ ।

 

त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा मधुमेह, श्वासप्रश्वासनलीमा मिर्गौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।

 

गिजाबाट रगत आउने कारण ?

 

नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने दन्ते लेउ जम्मा हुन्छ र गिजामा भएका ब्याक्टेरियाका कारण गिजा सुन्निने, चिलाउने दुख्ने र पाक्ने जस्ता समस्या देखिन्छ । जसले गर्दा सुरुमा गिजाबाट रगत आउने र समयमा उपचार भएन भने ठूलो सङ्क्रमणमा परिवर्तन हुनसक्छ । जसले गर्दा पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ । त्यो रोगले गिजा यति कमजोर हुन्छ कि दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ ।

 

दाँत सिरिङ–सिरिङ गर्ने समस्याको कारण चाहि के हो ?

 

दाँत सिरिङ–सिरिङ हुनुलाई मेडिकल भाषामा हाइपर सेन्सेटिभिटी भनिन्छ । यसको विभिन्न कारण हुन्छ । दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । गिजा आफ्नो ठाउँबाट तल झर्‍यो भने त्यसको कारण पनि दाँत सिरिङ-सिरिङ हुन्छ ।

 

दाँत कीरा लाग्ने कारण नि ?

 

दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । खानेकुरा खाँदा दाँतमा अड्कियो र मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ ।

 

गिजाको समस्या र दाँतमा कीरा लाग्ने समस्याको उपचार के छ ?

 

यदि गिजासम्बन्धी कुनै समस्या देखा परे दन्त चिकित्सककहाँ गएर गिजामा जम्मा भएको दन्त लेउ र दन्ते पत्थरलाई सफा गर्नुपर्छ । जम्मा भएर बसेको फोहोर सफा भएपछि गिजाको समस्या ठीक हुन्छ ।

 

गिजा सम्बन्धी जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ । गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठूलो सुन्निएको जस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्छ । यसका लागि गिजा रोग विशेषज्ञ दन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

 

दाँतमा कीरा लाग्न थालेपछि दाँतको सतह कालो हुँदै जान्छ । दाँतमा भर्खरै कीरा लाग्न थालेको छ भने सिमेन्ट लगाएर भर्न सकिन्छ । त्यस्तै कीरा लागेर दाँत खाल्डो भइसकेको छ भने दुई चरण गरेर सिमेन्ट लगाउन सकिन्छ ।

 

दाँत दुखेको, सुन्निएको र हल्लिएको छ भने दाँतलाई जरासम्म कीराले खाइसकेको बुझ्न सकिन्छ । त्यसका रुट क्यानल उपचार (आरसीटी) गर्नुपर्ने हुन्छ । यो विधिमा दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।

 

दाँतको र गिजाको समस्याबाट बच्ने उपाय

 

दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्दा फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्छ, जसले दाँतलाई मजबुत बनाउँछ । दाँत माझ्नुका साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिंदैन ।

 

दाँतको बीचबीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ ।

 

मुखबाट दुर्गन्ध आउँछ भने माउथवासको प्रयोग गर्न सकिन्छ । तर यसलाई लामो समय प्रयोग गर्न भने मिल्दैन । माउथवासमा ‘एन्टिब्याक्टेरियल प्रोपटी’ हुन्छ । त्यसले मुखमा भएको चाहिने जीवाणुलाई पनि मारिदिन्छ र मुखमा फंगल इन्फेक्सन हुने, घाउ आउने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले माउथ फ्रेसनरलाई दैनिक प्रयोग गर्नु राम्रो हुँदैन । चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।

 

सकेसम्म वर्षको दुई पटक ६–६ महिनाको फरकमा वा कम्तीमा पनि वर्षमा एक पटक दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुका साथै दाँत सफा गराउनुपर्छ । यसले दाँतमा निम्तिने जटिलताबाट बच्न सकिन्छ ।

 

दाँत माझ्ने सही तरिका

 

दाँतलाई सही तरिकाले दुई मिनेट ब्रस गरे पुग्छ । गिजा र दाँतको बीच प्लाक जम्मा हुने भएकाले ब्रसलाई दाँत र गिजातिर फर्काएर ब्रसको ब्रिसल्सलाई अगाडि पछाडि गरेर फोहोर निकालेर फाल्ने हो । तीन-तीनवटा दाँतलाई छुटाएर नरम तरिकाले दाँत माझ्नुपर्छ ।

 

दुई दाँतको बीचमा पनि ब्रस गर्नु आवश्यक हुन्छ । त्यसका लागि इन्टर डेन्टल ब्रसको प्रयोग गर्नुपर्छ । दुई दाँतको बीचमा ग्याप छैन भने डेन्टल फल्सको प्रयोगले सफा गर्नुपर्छ । यसरी माझ्यो भने दाँतमा समस्या कम आउँछ ।

 

प्रतिकृया दिनुहोस

सानै उमेरमा कपाल फुल्ने कारण र घरेलु उपचार विधि

बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् । सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर

१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ। क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म

गर्भ बसेको पहिलो महिना कस्तो हुन्छ ?

गर्भ बसेको पहिलो महिना गर्भवती महिलाका लागि अनौठौं र नयाँ अनुभव हुने समय हो । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा पनि कमजोर महसुस