ट्राफिक प्रहरी श्रीमान्!

२०८१ भदौ १९ बुधबार

बिचरा मेरा ट्राफिक प्रहरी श्रीमान्। घरमा होस् वा अफिस, सधैँ इमानदार। ड्युटी जान तयारी अवस्थामा हुनुहुन्थ्यो, म पनि अफिसका लागि निस्कँदै थिएँ। भनेँ, ‘ए बुढा, आज मलाई तपाईंको सरकारी बाइकमा अफिस छोडिदिनु न, तपाईं जाने बाटोमै पर्छ आखिर अफिस। आज के-के गर्दा गर्दै अबेर हुन लाग्यो अफिस जान!’

 

‘तिम्रो त प्राइभेट जागिर हो, आज गाडी जाम भएर आउन ढिलो भयो भन न। म त त्यहाँ साथीलाई खाना खाएर आइहाल्छु भनेर सरकारी बाइक लिएर हिँडेको। अहिले तिमीलाई लिएर गयो भने फेरि कसैले फेसबुक, युट्युबमा हेर त सरकारी गाडीको दुरुपयोग; ट्राफिक प्रहरीले ड्युटीकै बर्दीमा केटीलाई लिएर डेटिङ गइरहेका छन् भनेर हाल्दिन सक्छन्। अनि फेरि यो बल्लबल्ल पाएको जागिर पनि खुस्किन्छ। ल म लागेँ है,’ भनेर हेलमेटको फित्ता बाँध्दै निस्कनु भयो।

 

मनमनै सोचेँ, अरू ठुलठुला हाकिमका सरकारी गाडीमा त आफन्त लिएर हिँड्दा केही हुन्न, बिचरा मेरा सिपाही श्रीमान् मलाई सरकारी गाडीमा चढाउन डराउनु पर्ने। यति सोच्दै म आफ्नो अफिसतर्फ लागेँ।

 

करिब ३ बजे तिर अफिसको समयमा फेसबुक चलाउँदै थिएँ, भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएर प्रहरीमाथि नागरिकहरूले ढुंगा मुढा गरिरहेको भिडिओ देखेँ। फेरि अर्को पेजमा ट्राफिक प्रहरीलाई माथि होटेलबाटै तान्दै बर्दी सहितको लुगा तान्दै घिसारेको देखेँ। कतिले हातपात गर्दै थिए त कतिले ढुङ्गा पनि हान्दै थिए। मनमा चिसो पस्यो। मेरो श्रीमान् पनि त ड्युटीमा हुनु हुन्थ्यो कतै केही त भएन!

 

तत्कालै उहाँलाई फोन गरेँ। मोबाइल फोन अफ भन्छ। १०/१२ पटक कोसिस गरेँ, सम्पर्क हुन सकेन। सधैँ  ३ बजेपछि छोरालाई लिएर स्कुलबाट जानु हुन्थ्यो। आज छोरोलाई लिन जाने बुवाको अत्तोपत्तो छैन। आफ्नो अफिस ५ बजेपछि मात्र छुट्टी हुन्छ। आज छिटै अफिसबाट निस्कूँ भने पनि बिहान उसै अबेर आइएको छ। अफिस ढिलो आउने अनि छुट्टी पनि छिटै मागे त सरले गाली गर्नु होला जस्तो लाग्यो। त्यही पनि गाह्रो मानी मानी सरलाई बिन्ती गरी अफिसबाट बाहिरिएँ।

 

अफिसबाट सोझै बाबु पढ्ने स्कुलमा गएँ अनि सरासर कोठा पुगेर छिमेकी कोठाको बहिनीलाई ‘बाबु एकछिन हेर्दिँदै गर्नु म त्यहाँ चोक पुगेर आइहाल्छु’ भनेँ। त्यस बखत घडीको सुई ४:१५ जति भएको थियो।

 

म मेरा श्रीमानको खोजीमा गठ्ठाघरतर्फ लागे। त्यहाँ पुग्दा प्रहरीको ठुलो संख्या थियो, स्थानीयहरू ढुङ्गा मुढा गरी नाराबाजी गरिरहेका थिए। १ घण्टा जति त्यहाँ बसेँ आफ्नो श्रीमानलाई कतै देखिनँ। ट्राफिक अफिस गएर पनि सोधेँ। ‘त्यही ड्युटी खटिएको अवस्थामा दुर्घटना भएको हो, खै त्यो भाइको अहिलेसम्म अत्तोपत्तो छैन’ भनी अफिसका असई सरले भन्नु भयो।

 

श्रीमान् सकुशल रहून् भन्दै भगवान्सँग मनमनै प्रार्थना गर्दै  आफ्नो कोठातर्फ लागेँ।

 

कोठामा आएर सामाजिक संजालमा हेर्दा ‘ट्राफिक प्रहरीले लुकेर चेक गर्दा त्यो दुर्घटना भएको हो, ट्राफिक प्रहरीलाई बाँकी राख्न हुन्न। यी चोर, घुस खान पल्केका’ लगायत विभिन्न अश्लील शब्दले गाली गलौजका भिडिओ, कमेन्ट, लेखहरू छ्यापछ्याप्ती थिए।

 

सोचेँ, आजसम्म उहाँले ‘लाऊ काली ५ हजार रुपैयाँ सपिङ गर’ भनेर दिन सक्नु भएको छैन। महिना टार्न उहाँले आफ्ना साथीभाइसँग सापटी मागेर घर खर्च कटाउनु हुन्छ। फेरि महिनाको तलब आउने बित्तिकै साथीभाइको ऋण पान तिर्दै ठिक हुन्छ। आफूले कमाएको पैसा नुन तेल किन्न पनि पुग्दैन।

 

हाम्रो न युरोप, अस्ट्रेलिया जाने सामर्थ्य छ, खाडी त जान सकिन्थ्यो होला तर आफ्नो श्रीमती र छोरालाई टाढा राखेर जान सक्नु भएन। देशप्रतिको माया र परिवारको रेखदेखको लागि उहाँले यो दुःखको जागिर खाइराख्नु भएको छ।

 

अफिसभित्र बसी बसी काम गर्ने, ओभर टाइम काम गर्नेको अनेक भत्ता जोखिम तथा प्रोत्साहन भत्ता आउँछ तर काठमाडौँको चर्को घामको धुलो धुवाँमा रात दिन खटिँदा भत्ता त परेको कुरा उपहार स्वरूप  नागरिकको लात्ती, ढुङ्गा, सुन्नै नसकिने गाली गलौजको वाणी पाइने रहेछ।

 

आम जनतामा ट्राफिकले काटेको जरिवाना उनीहरूले गोजीमा हाल्छन् वा त्यसको कमिसन आउँछ भन्ने भ्रम छ। त्यो त बैंक खातामार्फत सोझै राजस्वमा संकलन हुन्छ।

 

एउटा ट्राफिक प्रहरीले रक्सी खाएको मानिसलाई मापसे गरी सवारी नकुदाउन कुदाए दुर्घटना हुन सक्ने भनी  आफन्त  बोलाई वा घर जाने व्यवस्था गरिदिन्छ, टाउको जोगाउन सही तरिकाले हेलमेट लगाउन आग्रह गर्छ,  सवारी तीव्र गतिमा नकुदाउन भन्छ। यसरी विभिन्न ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा अनेकौँ मानिसको जीवन बचाइराखेको हुन्छन्। मानिसलाई ट्राफिक नियम पालना गर्न किन अप्ठ्यारो लागेको? कानुन तोड्दा  मानिस किन आफूलाई बहादुर सम्झिन्छ?

 

सडकमा हिँड्ने हरेक नागरिकले नियम पालना गरे ट्राफिक प्रहरीको आवश्यकता पनि खासै  पर्दैन थियो। ट्राफिक प्रहरीलाई देखे सभ्य भएर सवारी कुदाउन खोज्ने नभए बालै मतलब नगर्ने प्रवृत्ति छ। 

 

यतिकैमा बेलुका करिब ९ बजेतिर श्रीमान् हातमा ब्यान्डेज बाँधेर कोठामा आइपुग्नु भयो। आउने बित्तिकै अँगालो हालेर रोएँ। ट्राफिक प्रहरीलाई लखेटेर हातपात गर्न थालेपछि ज्यान जोगाउन उहाँ एउटा होटेलको शौचालयमा छिर्नु भएछ।

 

मैले यो जागिर छोड्दिनु बरु अरू व्यापार व्यवसाय गरौँ भनेँ।

 

उहाँले मन्द मुस्कानसहित भन्नुभयो, ‘हामी त सरकारको प्रतिनिधि हौँ, जनताको मुख्य रिस यहाँको राजनीतिक व्यवस्था तथा किचलो, भ्रष्टाचार, बेरोजगारी, आर्थिक मन्दीको कारण हो। समय समयमा कहिलेकाहीँ यस्तो हुन्छ। हामी त राष्ट्र सेवक जनता र देशको लागि निष्पक्ष सेवा गर्न भनी शपथ खाएका छौँ, टेन्सन नलेऊ बरु भोक लागेको छ खाना पकाऊ, भोलि फेरि बिहान ६ बजे नै ड्युटी पुग्नु छ।’ - सुमृमा लिम्बु

प्रतिकृया दिनुहोस

बासी भातमा बाँचेको जिन्दगी!

ए बिर्खे! अझै उठेको छैनस्? कति बेर सुत्छस् हँ? आज गाईबस्तु चराउन लानुपर्दैन? खेताला छन्, तिनलाई खाजा कसले बनाउँछ? घाम धुरीमाथि आइसक्यो, अझै घुरिराख्या छ।

ऊ बाउ बन्दैछ रे!

उसको र मेरो घर एकै जिल्ला हो। हामी एकै कक्षा पढेका थियौँ। स्कुलको ट्यालेन्ट केटा ऊ। म भने न जान्नेमा पर्थेँ, न कमजोर विद्यार्थीमै।   सानै कक्षादेखि

अझै पनि माया लाग्छ!

खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज। एक्कासी तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न