अरू कसैले चलाइरहेको त छैन तपाईँको आईडी ?

२०८१ श्रावण ३० बुधबार

हाम्रो दैनिकी अनलाइनमा यति धेरै अभ्यस्त भइसकेको छ कि इन्टरनेट नहुँदा धेरै काम रोकिन्छन् । एउटा शाश्वत सत्य, कुनै पनि कुरा जति धेरै प्रचलनमा आउँछ, त्यसलाई लिएर चुनौती र जोखिम बढ्दै जान्छन् । यही कुराको फाइदा उठाउँदै अनलाइनमार्फत तपाईंको अकाउन्ट ह्याक गर्ने, अनलाइन डेटा चोरी गर्ने तथा अनलाइनमा भएको बैंक खातामा पहुँच पुर्‍याउने, सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गरेर ठगी गर्ने जस्ता प्रवृत्ति विश्वभर बढ्दै गइरहेका छन् । 

 

जति जति प्रविधि विकसित हुँदै गइरहेको छ, त्यति नै चुनौती बढ्दै छन् । यस्तोमा तपाईंका अनलाइन अकाउन्टहरू कत्तिको सुरक्षित छन् ? तपाईंको अकाउन्टमा तपाईं बाहेक अरू कसैले पहुँच पाइरहेको त छैन ? कसरी थाहा पाउने ? 

 

आफ्नो अकाउन्ट ह्याक भएको छ कि छैन भनेर थाहा पाउन केही साना साना कुराहरू ध्यान दिन सक्नुहुन्छ । सबैभन्दा पहिले त तपाईंको अकाउन्टमा पहुँच भएको मान्छेले तपाईंसँग वा तपाईंको अकाउन्टमार्फत अरूसँग फिरौती स्वरूप वा सहयोगको रूपमा पैसाको माग गर्छ ।

 

उदाहरणका लागि, केही समय अगाडि मात्र लक्ष्मी क्यापिटलको साइट ह्याक हुँदा ह्याकरले माग गरेको रकम प्राप्त नभएपछि डार्कवेबमा डेटा लिक गरिदिएको थियो ।

 

अर्को भनेको कसैले तपाईंको फेसबुक आईडीमा पहुँच पाएर सहयोग स्वरूप तपाईंको आईडीमार्फत अरुलाई रकम माग गर्ने । यो बाहेक अरू भनेको तपाईंको ईमेलमा नक्कली ईमेलहरू आउनु, चिट्ठा परेको भन्दै मेसेज आउनु, तपाईंको आफ्नै अकाउन्टमा लगइन गर्न नसक्नु लगायत अन्य साना-साना कुरामा ध्यान दिने हो भने पनि आफ्नो अकाउन्ट ह्याक भएको कुरा समयमा नै थाहा पाउन सकिन्छ ।

 

यही विषयलाई ध्यानमा राख्दै आजकल धेरैजसो कम्पनीहरूले विभिन्न प्रकारका ह्याकिङबाट बच्न र आफ्नो अकाउन्ट सुरक्षित राख्न सुरक्षा फिचरलाई कडा बनाउँदै लगिरहेका छन् ।

 

कुन-कुन प्लेटफर्म तथा माध्यममा तपाईंको अकाउन्ट अरूको हातमा छ कि छैन भनेर थाहा पाउने व्यवस्था के कस्तो छ त ? आज हामी यस सामग्रीमा चर्चा गर्ने छौं :

 

जिमेल

 

प्रायः सबै जनासँग जिमेल आईडी हुन्छ । अनि सोही आईडीबाट हामीले अन्य सामाजिक सञ्जालका अकाउन्ट खोलेका हुन्छौं । यदि तपाईंलाई आफ्नो जिमेलमा कुनै अस्वाभाविक गतिविधि भइरहेको अथवा  आफ्नो अकाउन्ट कोही अरूले चलाइरहेको महसुस भइरहेको छ भने तलको तरिका अपनाउनुहोस्:

 

-आफ्नो जिमेल खोल्नुहोस् । 

-स्क्रोल गरेर स्क्रिनको सबैभन्दा तल जानुहोस् । त्यहाँ दायाँतिर सानो अक्षरमा 'लास्ट अकाउन्ट एक्टिभिटी’ भनेर लेखिएको हुन्छ, त्यसको तल रहेको 'डिटेल्स’मा क्लिक गर्नुहोस् । 

 

 

-त्यहाँ  तपाईंले आफ्नो अकाउन्ट कुन कुन ठाउँमा एक्टिभ छ भनेर हेर्न सक्नुहुन्छ । जसमा तपाईंले कुन देशबाट कुन समयमा अकाउन्ट प्रयोग भएको छ वा थियो भन्ने विवरण देख्न सक्नुहुन्छ । 

 

यदि यस्तो विवरणमा तपाईंले प्रयोग गरिरहनु भएको क्षेत्रभन्दा बाहिरबाट अकाउन्ट प्रयोग भएको देखाएमा तपाईंले तत्काल कदम चालिहाल्नु पर्ने हुन्छ । यस विषयमा थप जानकारी लिनका यसो गर्नुहोस: 

 

-स्क्रिनको सबैभन्दा माथि लेखिएको सेक्युरिटी चेकअपमा क्लिक गर्नुहोस् । 

 

 

-त्यहाँ दिइएका विभिन्न अप्सनमध्ये 'योर डिभाइसेस'मा जानुहोस् । यहाँ भने तपाईंले आफ्नो अकाउन्ट कुन कुन डिभाइस अर्थात् मोबाइल, ल्यापटप, कम्प्युटर आदिमा प्रयोग भइरहेको छ भनेर देख्न सक्नुहुन्छ । यदि त्यहाँ तपाईंले प्रयोग गर्ने भन्दा कुनै फरक डिभाइस प्रयोग भएको देखियो भने बुझ्नुहोस्, तपाईंको अकाउन्ट अरू कसैले प्रयोग गरिरहेको छ । 

 

योर डिभाइसेसको ठ्याक्कै तलपट्टि 'रिसेन्ट सेक्युरिटी एक्टिभिटी’ मा पनि तपाईंका विभिन्न गतिविधिहरू देख्न सकिन्छ । यहाँ तपाईं आफूले नगरेको, तर तपाईंको रिसेन्ट एक्टिभिटीमा देखिएको कुनै गतिविधि छ भने तपाईंको अकाउन्टको पासवर्ड अरू कसैसँग छ भन्ने कुरा बुझ्नुपर्छ । 

 

यसबाट बच्ने एउटा उपाय हो, तत्काल पासवर्ड परिवर्तन । तपाईंको अकाउन्टमा कुनै अस्वाभाविक गतिविधि भइरहेको छ भने पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । सँगसँगै तपाईंले बलियो पासवर्ड राख्ने, पासकी प्रयोग गर्ने, टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्ने लगायतका काम गर्न सक्नुहुन्छ ।

 

विश्वभर अर्बौं मान्छेको व्यक्तिगत विवरण सहित ईमेल आईडी, पासवर्ड लिक भएका ठूला ठूला घटना बाहिरिएका छन् । यस्तो प्रकारको चोरीमा तपाईंको डेटा पनि परेको छ भने तपाईंको अकाउन्ट खतरामा पर्नसक्छ । 
 

माइक्रोसफ्ट 

 

अब कुरा गरौं आउटलुक अथवा माइक्रोसफ्ट अकाउन्टको । यदि माइक्रोसफ्ट अकाउन्ट प्रयोग गर्नुहुन्छ र आफ्नो अकाउन्ट अरू कसले प्रयोग गरिरहेको छ अथवा कहाँ र कहिले साइन इन भएको थियो भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ तलको प्रक्रिया अपनाउनुहोस्:

 

-स्क्रिनको दायाँतिर माथिपट्टि भएको आफ्नो प्रोफाइल आइकनमा क्लिक गरेर माई माइक्रोसफ्ट अकाउन्टमा क्लिक गर्नुहोस् । 

 

-अब स्क्रिनको बायाँतिर भएको सेक्युरिटी अप्सनमा क्लिक गर्नुहोस् । 

 

-यहाँ तपाईंले अकाउन्ट टाइटल भित्र 'भ्यू माई साइन इन एक्टिभिटी' भन्ने विकल्प देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नुहोस् । 

 

यहाँ तपाईंले आफ्नो आईडीबाट कुन कुन डिभाइस कुन मितिमा कुन स्थानबाट साइन इन भएको छ भनेर सबै विवरण प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाईंलाई कुनै गतिविधि शङ्कास्पद लाग्यो भने आफ्नो अकाउन्टको सेटिङ्समा गएर चेन्ज पासवर्डमा क्लिक गरेर पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।  

 

एप्पल आईडी

 

यदि एप्पल डिभाइस प्रयोग गर्नुहुन्छ भने एप्पल आईडीको कुरा छुटाउने कुरा नै भएन । तपाईंले आफ्नो आईफोन अथवा म्याकको सेटिङबाटै आफ्नो एप्पल आईडी अन्य कुनै डिभाइसमा प्रयोग भएको छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ ।

 

यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

 

-आफ्नो एप्पल डिभाइसको सेटिङ्समा जानुहोस् ।

 

-आफ्नो नाममा क्लिक गर्नुहोस् । 

 

 

थोरै तल स्क्रोल गरिसकेपछि तपाईंको अकाउन्ट साइन इन भएका डिभाइसहरूको विवरण त्यहाँ देख्न सक्नुहुन्छ । 

 

म्याकमा भने थोरै फरक छ । यसका लागि यसो गर्नुहोस्:

 

-स्क्रिनको बायाँतिर माथिपट्टि भएको एप्पलको आइकनमा क्लिक गर्नुहोस् । 

 

-यसपछि सिस्टम प्रिफरेन्सेसमा क्लिक गरेर आउने पपअप बक्समा आईक्लाउडमा क्लिक गर्नुहोस् ।

 

-अब अकाउन्ट डिटेल्समा क्लिक गर्नुहोस् । यहाँ तपाईंले अर्को पपअप बक्स देख्नुहुन्छ, जहाँ डिभाइसेस भनेर लेखिएको हुन्छ । 

 

 

त्यहाँ क्लिक गरिसकेपछि भने तपाईंले आफ्नो आईडी कुन कुन डिभाइसमा लिंक भएको छ भनेर थाहा पाउन सक्नुहुन्छ ।  

 

अब यदि तपाईं विन्डोजबाट चेक गर्दै हुनुहुन्छ भने एप्पलको आईक्लाउड एपमार्फत आफ्नो अकाउन्ट कुन कुन डिभाइसमा प्रयोग भएको छ भनेर हेर्न सक्नुहुन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

 

-विन्डोजमा भएको आईक्लाउड एप ओपन गर्नुहोस् 

 

-एप्पल आईडी प्यानलमा जानुहोस् । 

 

-त्यहाँ तपाईंले आफ्नो अकाउन्ट प्रयोग भएका डिभाइसहरू देख्न सक्नुहुन्छ । अथवा एप्पल आईडी अकाउन्ट पेजमा गएर 'डिभाइसेस' अप्सनमा गएर आफ्नो आईडीको गतिविधि विवरण हेर्न सक्नुहुन्छ ।  

 

फेसबुक तथा इन्स्टाग्राम

 

यही कुरा फेसबुक वा इन्स्टाग्राममा कसरी चेक गर्ने त ? यो विषयमा धेरै चर्चा परिचर्चा भइरहन्छ । फेरि आजकल फेसबुकको पासवर्डमा पहुँच बनाएर दुरुपयोग गर्ने घटना पनि धेरै भइरहेका छन् । यस्तोमा आफ्नो अकाउन्ट सुरक्षित छ कि छैन भनेर कसरी चेक गर्ने त ? 

 

यसका लागि तलको तरिका अपनाउनुहोस्:

 

 -फेसबुकको सेटिङमा गएर पासवर्ड एन्ड सेक्युरिटीको विकल्पमा जानुहोस् ।

 

-त्यहाँ 'ह्वेर यु आर लग्ड इन' भन्ने विकल्प आउँछ । त्यसमा क्लिक गर्नुहोस् ।

 

 

यसपछि तपाईंले पछिल्लो समय कुन कुन डिभाइसबाट लगइन हुनुहुन्थ्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

 

त्यस्तै इन्स्टाग्रामका लागि तलको प्रक्रिया अपनाउनुहोस:

 

‍-अकाउन्ट सेन्टरमा गएर पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्नुहोस् । 

 

-त्यसपछि 'ह्वेर यु आर लग्ड इन' मा क्लिक गर्नुहोस् ।

 

 

यसपछि तपाईंले लगइन विवरण हेर्न सक्नुहुन्छ । इन्स्टा र फेसबुक दुवैमा तपाईंले सोही विकल्पबाट कुनै निश्चित डिभाइसमा लगइन रहेको आफ्नो आईडी लगआउट गर्न सक्नुहुन्छ ।     

ह्वाट्सएप 

 

यही कुरा ह्वाट्सएपमा केही सहज देखिन्छ । केही समय अघिदेखि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसमा प्रयोग गर्न सकिने व्यवस्था लागु भएको छ । 

 

यदि तपाईं आईफोन वा आईप्याड प्रयोग गर्नुहुन्छ भने तलको तरिका अपनाउनुहोस्:

 

-ह्वाट्सएपको सेटिङमा जानुहोस् ।

 

-स्क्रिनको तलपट्टि दाहिने कुनामा रहेको 'लिङ्क्ड डिभाइसेस' मा क्लिक गर्नुहोस् । 

 

 

यसो गर्नासाथ तपाईंले आफ्नो आईडी लिङ्क्ड भएका डिभाइसहरू सहजै देख्न सक्नुहुन्छ । लिंक भएका मध्ये तपाईंलाई कुनै डिभाइस शंकास्पद लाग्यो भने त्यही डिभाइसको नाममा ट्याप गरेर आफ्नो आईडी लग आउट गर्न सक्नुहुन्छ । 

 

एन्ड्रोइडका लागि भने यसो गर्नुहोस्:

 

-ह्वाट्सएपमा गएर स्क्रिनको माथिपट्टि दाहिनेतिर भएको तीनवटा डट आइकनमा ट्याप गर्नुहोस् ।

 

-अब 'लिङ्क्ड डिभाइसेस' मा ट्याप गर्नुहोस् ।

 

 

अब तपाईंले यहाँबाट आफ्नो आईडी लिङ्क भएका डिभाइसहरू हेर्न सकिन्छ । साथै त्यहीबाट हटाउन पनि सक्नुहुन्छ ।

 

एक्स

 

पहिलेको ट्वीटर, अहिले एक्समा पनि तपाईंले आफ्नो अकाउन्ट तपाईंको डिभाइसबाहेक कहाँ कहाँ प्रयोग भइरहेको छ भनेर थाहा पाउन सक्नुहुन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

 

-एक्सको सेटिङमा जानुहोस् ।

 

-त्यहाँ देखिने विभिन्न विकल्पमध्ये मोरमा क्लिक गर्नुहोस् । 

 

-अब स्क्रिनको बायाँतिर सेटिङ एन्ड प्राइभेसी भन्ने विकल्प देख्न सक्नुहुन्छ । 

 

- त्यहाँ क्लिक गरेर सेक्युरिटी एन्ड अकाउन्ट एक्सेसमा क्लिक गर्नुहोस् । र, एप्स एन्ड सेसन्समा जानुहोस् । 

 

 

यहाँ तपाईंले आफ्नो एक्स अकाउन्ट कुन कुन एपमा कनेक्ट गर्नु भएको छ, र तपाईं कहाँ कहाँ लगइन हुनुहुन्छ भन्ने विवरण देख्न सक्नुहुन्छ । 

 

यसरी तपाईंले विभिन्न प्लेटफर्ममा आफ्नो अकाउन्टको वर्तमान अवस्था थाहा पाउन सक्नुहुन्छ । तपाईंले बेलाबेला यसो गर्दा ठूलो नोक्सान हुनु अगावै आफ्नो अकाउन्ट ह्याक भए/नभएको थाहा पाउन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस

२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्।    तर सन् २०२३ मा रिलिज भएको फिल्म

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी

प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेन टिकटक ?

६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार