बासी भातमा बाँचेको जिन्दगी!

२०८१ भदौ २७ बिहीबार

ए बिर्खे! अझै उठेको छैनस्? कति बेर सुत्छस् हँ? आज गाईबस्तु चराउन लानुपर्दैन? खेताला छन्, तिनलाई खाजा कसले बनाउँछ? घाम धुरीमाथि आइसक्यो, अझै घुरिराख्या छ। पानी छ्याप्नुपर्छ कि क्या हो?’ आमाको कर्कश आवाज सुनियो।

 

आमाको आवाज सुन्नासाथ ऊ झस्केर उठ्यो। हिजो धेरै काम गर्नुपरेकाले थाकेको थियो। बिहानीपख भुसुक्कै निदाएछ। ऊ ऐया भन्दै उठ्यो। पुरानो राडी र उसले ओढेको धुसा मिलाएर पँधेरातिर लाग्यो।

 

उसको वास्तविक नाम बिर्खबहादुर हो तर उसले जीवनमा साह्रै कम मात्र यो नाम सुनेको छ। धेरैले उसलाई बिर्खे नै भन्छन्। ऊ सानै छँदा एक दिन ठुलो पहिरो आयो र उसको घर बगायो। आमा, बा र दिदी त्यही पहिरामा परे। ऊ खेल्न गएकाले बच्यो। पछि गाउँका एक जनाले यो अब टुहुरो भयो, यसलाई यहाँ पाल्ने कोही छैन, यसलाई म कसैकहाँ लगेर राखिदिन्छु, अरू जे भए पनि राम्रो घरमा बस्न पायो भने खान त पाउँछ भनेर अर्कै गाउँतिर लगे।

 

उनले बिर्खेले थाहै नपाएको गाउँमा लगेर एक जना मानिसकहाँ राखिदिए। ऊ त्यहीँ बस्यो। केही समय राम्रै भए पनि उसलाई नियतिले गोठालाको परिचय भिडाइदियो। त्यही दिनचर्यामा आज उसले यो आदेश पाएको थियो।

 

बिर्खे हातमुख धोएर आयो। गोठमा गाईबस्तु र बाख्रा कराइरहेका थिए। उसले आँगनको पल्ला छेउमा तीन वटा ढुङ्गा ठड्याएर बनाएको चुलामा आगो बाल्यो र गाईबस्तुका लागि खोले पकाउन थाल्यो। आफूले पनि सुर्तीको चुर बेरेर दुई चार सर्को लगायो। गोठमा बसेर चुर खानु उसका लागि दैनिकी नै बनिसकेको छ।

 

उसले खोले पाकेपछि गाईबस्तुलाई दियो र फर्केर भान्सामा आयो। भान्सामा सिलाबरे बटुकामा बेलुकाको बासी भात छोपेर राखेको थियो। उसले अकबरे खुर्सानी टोक्दै भात कपाकप खायो र बटुका माझेर त्यही ठाउँमा राख्यो। उता आमाले नातिलाई अम्लेट बनाइदिइन् र चिया पकाउन लागिन्। बिर्खे गाईबस्तुलाई धपाउँदै धुपीचौरतिर लाग्यो।

 

बिर्खे बसेको घर गाउँको खान/लाउन पुग्ने घर हो। उसको घरमा मिठो मसिनो पाक्छ तर बिर्खेका लागि भने निश्चित कुरा मात्र पाक्छन्। उसले बेलुका पकाएको खाना बिहान र बिहान पकाएको खाना बेलुका मात्र खान पाउँछ। मासु पाक्यो भने निकै झोल र एक दुई चौटा पाउँछ। यसो किन भयो उसलाई थाहा छैन तर ऊ बसौँ देखि अभ्यस्त छ। ऊ यसमा कसैसँग प्रतिवाद गर्दैन। आफ्नो भागमा जे आयो त्यही खाएर सन्तुष्ट हुन्छ। गाली नखाई बासी भात खान पाउँदा उसलाई चाडबाड आएझैँ लाग्छ।

 

ऊ सधैँ जसो गाईबस्तु लिएर धुपीचौरतिर जान्छ। त्यहाँ वस्तु चराउन राम्रो ठाउँ छ। अरू गोठाला पनि आउँछन्। गोठालाबिच दोहोरी चल्छ। बिर्खेलाई राम्ररी दोहोरी गाउन आउँछ। दोहोरी गाउँदा गाउँदै एक पटक गाउँकै डोल्मासँग उसको प्रेम बसिसकेको थियो तर बिहे हुन सकेन। डोल्मा अन्तैको केटासँग बिहे गरेर जाँदा उसले आँसु झार्नुसिवाय केही गर्न सकेन। धुपीचौरमा आउँदा त ऊ यिनै कुरा सम्झेर खुसी हुन्छ तर गैरी बेँसीतिर वस्तु लाँदा भने ऊ एक्लै पर्छ र निराश हुन्छ।

 

आज पनि ऊ आफ्नो विगत सम्झँदै धुपीचौरमा पुग्यो। वस्तु चर्न थाले, ऊ भने चौरमा लडेर के-के सोच्न थाल्यो। अलिक बिसन्चो भएकाले भुसुक्क निदाएछ। तन्द्रामा भालुले बाख्रा खेदेको देख्यो र आत्तिएर उठ्यो। बाख्रा टाढा पुगेको रहेछन्। धपाएर ल्यायो। आमाले खाजा बनाउन भनेकाले ऊ गाईबाख्रा लिएर चाँडै फर्क्यो। दिनभरको काम सकेर त्यही सिलाबरे बटुको हेर्‍यो। त्यहाँ मकैको भात र अलिकति मासुको झोल थियो। त्यही खायो र धुसामा गुटमुटियो।

 

अर्को दिनको दिनचर्या आमा उठ्नुभन्दा पहिले नै सुरु भयो। उसले आँगन बढार्‍यो र पँधेराबाट चार गाग्री पानी ल्याएर आँटीमा राख्यो। सदा झैँ वस्तुलाई खोले दियो। बारीमा कोदो टिप्ने बेला भएको थियो। ऊ सानो छँदा उसको गाउँमा पनि आमा बाले कोदो नै टिप्थे। उसले त्यही सम्झँदै खुर्रीले कोदाको बाला टिप्न थाल्यो।

 

खै किन हो आज उसलाई आमाबाटको खुब याद आयो। आज पूर्वमा देखिने घाम पनि उसलाई नयाँ लाग्यो। यसैबिच आमाको नाति आँगनमा निस्केर गुन्द्रीमा बसी पढ्न थाल्यो। एक डालो कोदो टिपिसकेर उसले आँगनको एक छेउमा राख्यो। हात खुट्टा धोयो र भान्सामा पसेर त्यही बटुको उघार्‍यो। आज बटुकामा भात थिएन। दुइटा उसिनेका पिँडालु, अलिकति ढिँडो र अलिकति सिन्कीको झोल थियो। उसले आनन्द मानेर खायो।

 

भान्सामा आमा कुखुराको मासु काट्दै थिइन्। उनले बिर्खेतिर हेरेर भनिन्, ‘हैन अझै गको छैनस्। आज घरमा पाहुना आउँछन्। बेलुका भाँडा धेरै हुन्छ। अलि चाँडै आइज नि।’ हस् भन्दै बिर्खेले कम्मरमा खुकुरी भिर्‍यो र गाईबाख्रा धपायो।

 

आज पनि उसले गाईबस्तु धुपीचौरतिर छाड्यो। छेउको जङ्गलमा चराचुरुङ्गी चिरबिराइरहेका थिए। उसले नजिकै एउटा फूल फुलेको देख्यो। यो फूल देख्नासाथ उसलाई लाग्यो अब आप्पाको जन्मदिन आउँछ। बिर्खे घरमा मानिसको भिड लाग्छ। मासु पाक्छ तर...। 

 

खै के-के सोच्दै ऊ जङ्गलतिर लाग्यो। अलिक पर पुग्दा उसले एउटा वन तरुलको लहरो देख्यो। रुखमा झ्याम्म झ्याम्मिएको र लटरम्म दाना फलेको वन तरुलको लहरो देख्दा उसलाई खनौँ खनौँ लाग्यो। उसले हाडेको एउटा तिस्कलो बनायो र तरुल खन्न लाग्यो। धेरै वर्षदेखि नखनिएको बेलो भेट्दा उसलाई पक्कै तरुल फल्छ जस्तो लाग्यो। नभन्दै एकछिन खन्दैमा तरुल देखिइहाल्यो। आज उसले एउटै बेलामा पाँच किलो भन्दा बढी तरुल खन्यो। उसको आप्पालाई वन तरुल खुब मन पर्थ्यो। आज लगेर आप्पालाई दिने विचार गरेर उसले आफूले बाँधेको पटुकामा तरुल पोको पार्‍यो। आमाले छिटै आउनु भनेकाले ऊ घाम ओरालो लाग्नासाथ गाईबस्तु धपाउँदै घरतिर लाग्यो।

 

घरमा पुग्दा केही मानिस आप्पाको वरिपरि बसेर गफ गर्दै थिए। केही अलिक परबाट आउँदै थिए। आज आप्पाको टाउकामा पगरी थियो। यो देख्नासाथ बिर्खे उत्साही भयो र गाई बाख्रालाई गोठतिर धपाई आप्पाको छेउमा आयो। ऊ आप्पाको अगाडि आएर भन्न लाग्यो, ‘आप्पा! आज तिम्रो जन्मदिन हो नि! आज मैले तिमीलाई मन पर्ने वन तरुल भेटेर ल्यायो। म उसिनेर दिन्छ ल। मेरो आमा बा त छैन। तिमी आप्पा नै मेरो बा हो नि। मसँग तिमीलाई दिन केही छैन। यही तरुल खाऊ ल।’

 

उसले सबै तरुल भुइँमा राख्यो। तरुल देखेर आप्पा र पाहुना खुसी भए। बिर्खे चाहिँ गाईबस्तु बाँधेर भान्सामा छिर्‍यो। भान्सामा आज अर्कै दृश्य थियो। उसको बटुकामा आज बासी भात थिएन। घरैमा पालेको भोटे कुकुरले बटुकामा कुखुराका खुट्टा चपाइरहेको थियो। उता आप्पा आँखाका कोस पुछ्दै थिए। गाउँले भने घरी बिर्खेलाई घरी आप्पालाई हेर्दै मौन थिए।  - गणेशप्रसाद भट्टराई 

प्रतिकृया दिनुहोस

तिमी पनि दलित, म पनि दलित

डाक्टर पनि दलित, धामी पनि दलित बाहुन पनि दलित, कामी पनि दलित अन्पड दलित, मास्टर दलित पुजारी दलित, पास्टर दलित तिमी पनि दलित म पनि दलित   वेद भागवत्

ट्राफिक प्रहरी श्रीमान्!

बिचरा मेरा ट्राफिक प्रहरी श्रीमान्। घरमा होस् वा अफिस, सधैँ इमानदार। ड्युटी जान तयारी अवस्थामा हुनुहुन्थ्यो, म पनि अफिसका लागि निस्कँदै थिएँ। भनेँ,

ऊ बाउ बन्दैछ रे!

उसको र मेरो घर एकै जिल्ला हो। हामी एकै कक्षा पढेका थियौँ। स्कुलको ट्यालेन्ट केटा ऊ। म भने न जान्नेमा पर्थेँ, न कमजोर विद्यार्थीमै।   सानै कक्षादेखि