सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

२०८१ असोज २९ मंगलबार

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले विस्फोटक व्यापार गरिरहेका छन्।

 

तुलनात्मक रुपमा कम शो पाएको ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।

 

दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको थियो। स्थापित ब्रान्ड र निरन्तर सफलताको रेकर्डका कारण यो चलचित्रप्रति प्रदर्शक र वितरकले विश्वास देखाएका हुन्। नभन्दै चलचित्रले पहिलो दिनबाटै बम्पर व्यापार गर्‍यो। ट्रेलरले आलोचना खेप्नु परे पनि चलचित्र हेरेका दर्शकले यसको यथार्थपरक कथावस्तु मन पराएका छन्। चलचित्रमा हास्यरस कम भएको कतिपय दर्शकको गुनासो पनि सुनिएको छ। समग्रमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले ‘छक्का पञ्जा ५’ ले धेरै दिनसम्म दर्शक तान्नसक्ने अनुमान गर्न सकिन्छ।

 

निर्माता दीपकराज गिरी ‘छक्कापञ्जा ५’ ले हिजोसम्म अनुमानित ८ करोड रुपैयाँ ग्रस आम्दानी गरेको बताउँछन्। बुधबारसम्म १० करोड रुपैयाँ पुग्नसक्ने उनले प्रक्षेपण गरे।

 

‘आजसम्म दर्शकको चाप हेर्दा हामी पहिलो सातामै १० करोड छुनसक्ने अवस्थामा छौं’, गिरीले भने।

 

हलबाट हुने कुल आम्दानीको ५० प्रतिशत सेयर निर्माताले पाउँछन्। जसअनुसार छक्कापञ्जा ५ ले निर्माताको गोजीमा ४ करोड रुपैयाँ मुनाफा निश्चित गरिसकेको छ। छक्कापञ्जा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो। रिलिज हुनु अगाडि नै ओभरसिज राइट्सबाट दीपकराजले लगानी उठाइसकेका थिए। त्यसैले हलबाट भएको आम्दानी उनको टीमको चोखो मुनाफा हो।

 

‘छक्कापञ्जा ५’ दीपकराजको टीमले निर्माण गरेको सातौं चलचित्र हो। अहिलेसम्म निर्माण गरेका सबै चलचित्रमा शत प्रतिशत सफलताको रेकर्ड राख्न यो टीम सफल भएको छ।

 

दशैंमा दर्शक उराल्ने अर्को चलचित्र बन्यो ‘१२ गाउँ’। कुनै समयका एक्सन स्टार विराज भट्टले निर्माण र निर्देशन गरेको यो चलचित्र पनि निरन्तर हाउसफुल छ। दक्षिण भारतीय शैलीको एक्सन चलचित्र मन पराउने दर्शकहरु ‘१२ गाउँ’मा आकर्षित भएका छन्। विराज भट्टका छोरा समीर भट्ट यो चलचित्रका मुख्य आकर्षण हुन्।

 

‘१२ गाउँ’को व्यापारिक आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छैन। वितरक गोविन्द शाहीले एकै पटक एक साताको रिपोर्ट सार्वजनिक गरिने बताए।

 

‘हामीले सबैतिरको रिपोर्ट पाइसकेका छैनौं, तर दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ’, उनले भने, ‘आज पनि सबै शोहरु हाउसफुल छन्।

 

हिजोसम्म चलचित्रले ६ करोड रुपैयाँभन्दा बढी कमाइसकेको शाहीले दाबी गरे।

 

उनले भने, ‘ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन, तर ६ करोडभन्दा माथि गइसक्यो। पछिल्लो तीन दिनमा डेढदेखि पौने दुई करोड रुपैयाँको बिजनेस भइरहेको छ।’

 

सुरुमा ‘छक्कापञ्जा ५’ भन्दा कम शो पाए पनि अहिले हाराहारी पुगिसकेको शाहीले दाबी गरे।‘उहाँहरुको स्थापित ब्रान्ड भएकाले बढी शो पाउनु स्वाभाविकै थियो। अहिले चाहिँ हाम्रोमा पनि शो थपिइरहेको छ। हलहरुप्रति कुनै गुनासो छैन’, शाहीले भने।

प्रतिकृया दिनुहोस

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले