राजनीतिको बाहुबलीभित्र कर्मचारीको बलि

२०८१ भदौ २४ सोमबार

नेपालमा कर्मचारीको नियति विलियम शेक्सपियरका  “ह्यामलेट” र “ओथेलो” नाटकका पात्र झैँ लाग्दछन् । नाटकमाझै भुइँपात्र सङ्घर्ष गर्दै उचाइमा पुग्छन् र राष्ट्र भावनाले ओतप्रोत भई साहसिक चरित्र देखाउँछन् । शक्तिको उन्मादमा आत्मरतिले पुलकित हुन्छन् । कालान्तरमा, ती पात्र शासकका मतियार मात्र होइन, भुत्ते हतियार हुन्छन्। अन्त्यमा,  चक्रव्यूहको शिकार भई दुखान्त अवसान (ट्रयाजिक इभेन्ट) भोग्छन् । अनि राष्ट्र सेवाको सिन्दूर कलङ्क टीकामा रूपान्तरण हुन्छ ।

 

नेपालको ऐतिहासिक पृष्ठ पल्टाउँदा कर्मचारीले भोगेका अपमान, दुर्दशा र त्रासदीका महाकाव्य नै छन् । हुकुमी शासन होस्, जङ्गे या जङ्गी शासनभित्र सबै कालखण्डमा कर्मचारीतन्त्र निम्छरो र जुम्सो नै थियो । पृथ्वीनारायण शाहले “थरघर” (पाँडे, अर्ज्याल, खनाल,थापा, बोहरा, पन्त) को टेकोमा मुलुक चलाए । उनले “दिव्य उपदेश” कृति’मा  भनेका छन् -” दवलत (दौलत) कमाउन नदिनू आदमी(व्यक्ति) हेरी हुर्मत मात्रै राखी दिनू । काममा जो योग्य ठहर्छ, त्यसैलाई शिरपाउँ दिनू ।” पृथ्वीनारायण शाहको पालामा सेनालाई खान्की (तलब) जग्गा र बान्की (रङ्गीचङ्गी पोसाक) दिइन्थ्यो । तर कर्मचारीलाई खानपानमा सौतेलो व्यवहार थियो । युद्धका स्थलमा राष्ट्रिय एकताको भावले पुलकित हुँदै कर्मचारी पनि रणभूमिमा पुग्थे । गतिलो खानपान थिएन । छुट्टै निजामती सेवा पनि थिएन त्यसताका । भोकले ग्रसित कर्मचारीको वेदना र याचनाको लेखोट यसरी उतारेको पाइन्छ –

 

“आन्द्रा लागे छुत्ती खेल्न तिघ्रा लागे काप्न,
सक्दिन म आज पत्थरकाला थाम्न।”

 

सरदार भीमबहादुर पाँडेको “त्यस बखतको नेपाल- ५” कृतिले कर्मचारीको दुर्दान्त चित्रण गरेको छ । तीन दशक मुख्तियारी चलाएका भीमसेन थापाले राज्यको ढुकुटीको राफसाफ पाँडे खलकलाइ बुझाउन सकेनन् । अन्त्यमा, राज्यको ढुकुटी खाइमासेको अभियोगमा थापा जेल परे । आत्महत्या गर्नु पूर्व भीमसेन थापाले भनिदिए- “राज्यको हिसाबकिताब कुमारी चोक अड्डाको खरिदार गुणबन्तसँग बुझ्नू।” त्यसताका धन, दोलत, कर सबै शासकका भण्डारमा थुप्रिन्थ्यो । तर कागजात राख्ने तल्लो स्तरको खरिदार गुणबन्तको टाउकोमा कसुर थुप्रियो । गुणबन्तले खाइमासेका थिएनन् । राजनीतिको दाउपेचमा निर्धो कर्मचारी पोलिए । “सरकारी नुन” को गुन त्यही अभियोग पाएँ । बिरक्तिएर गुणबन्तले घरछेउमै तुलसीको मोठ अगाडि गोबरले लिप्न लगाए । त्यही पलेटी कस्दै हातको सुनको औठी निल्न थाले। अतालिएर श्रीमतीले सोध्दा राज्यलाई ‘बही(ऋण) बुझाउन लागेको’  प्रत्युत्तर दिए ।

 

नेपालमा राजनीतिले कर्मचारीलाई गरेका उपयोग र परित्यक्ताका शृङ्खला लामै छ । शासनमा आफू अनुकूल कर्मचारी भर्ना गर्ने र पछि चक्रव्यूहमा फसाइएका रणनीतिका शिकार प्रशस्तै छन् ।  राणाका कालमा कतिपय कर्मचारी अड्डाको मुद्दा फन्दामा फसेर अड्डा धाउँदा धाउँदै देह त्याग गर्थे। बाउ जागिरे भएका कारण आदिकवि भानुभक्त आचार्य पनि जेलमा परे । उनले कुनै गल्ती थिएन, बाउको कसुर उनीमाथि थोपरियो । कुमारी चोक धाउँदा धाउँदै आजित भएर आचार्यले लेखेका छन् – “मानमाथि पनि भुक्तमान थपि दिया कहिल्यै नटुट्ने गरी ।” यसरी गलाएर, थकाएर र सास्ती खेपेर कर्मचारीको देह त्याग हुन्थ्यो । कर्मचारी मरेपछि “राज्यलाई बही बुझायो” भन्ने कथन समाजमा चलेको थियो । यही अकर्मण्यता देखेर सैन्य कमान्डर जसपाउ थापाले भनेका थिए- “सक्छौ जागिर नखाऊ, सक्तैनौ जागिर खाऊ। झन्डामुनि बस, दरबार नपस ।”

 

राणाका भाइ भारदार खलक उच्च तहमा नियुक्त हुन्थे । राणाको निगाहले निर्धा रैतीका छोराछोरीले ढोके, पाले, भरियाजस्ता काम पाउँथे । राणाका कर्मचारी छनोटका मापदण्ड चाकडी र भक्ति भाव नै थिए । वर्षको एक पटक सिंहदरबारभित्र “कर्मचारी जात्रा” (पजनी प्रथा) र टुँडिखेलमा “घोडे जात्रा” आयोजना हुन्थ्यो । निर्धा कर्मचारीलाई वर्षे नि साउन भदौ महिना “चाकडीमा झुल्ने, पजनीमा भुल्ने” समय थियो । खसी बोकाझैँ राणाले कर्मचारी छान्थे । पजनीमा परेको (जागिर खोसिएको) कर्मचारी असाध्यै अपहेलित हुनुपर्थ्यो । पजनीमा कर्मचारीको जागिर खोसिन्थ्यो । अनि घोडाको पुच्छरको चाँदको “लिँडे बिडो” लगाएर बजार घुमाइन्थ्यो । खल्तीमा टोपी हालेर कर्मचारी पजनीको महिनामा सिंहदरवार पुग्थे । ससाना कसुरमा  कर्मचारीलाई कुखुराको प्वाँख लगाएर बजार घुमाइन्थ्यो । अपमानको पराकाष्ठा थियो।

 

श्री ३ चन्द्रशमशेरको असाध्यै सन्की थिए । एक दिन सुब्बा कृष्णमानले सरकारी कागजमा लेख्दा केरमेट भएछ । केरमेट भएको अक्षरमाथि सरकारी छाप लगाएनन् । यही सानो गल्तीमा चन्द्र शमशेरले चालीस हजार जरिवाना  तोके । कसुरको मात्रा बमोजिम दण्ड सजाय थिएन । सुब्बा कृष्णमानले तिर्न सकेनन् र जेल परे । पछि चन्द्रसमशेरलाइ बिन्ती पत्र चढाउँदा हुकुम दिए -‘त्यसलाई इज्जत हैन, पैसाको माया रहेछ । कानमा  कौडा झुन्ड्याइ अड्डा घुमाएर छोड्नू।”  

 

वि. सं १९७७ मा नासु कृष्णलाल अधिकारीले ‘मकैको खेती ‘कृति लेखे । यस कृतिमा  मकै खाने कीरा “सेतो टाउके” र “राता टाउके” हुन्छन् भनेर व्याख्या गरे । ती दुई प्रतीकको अनर्गल व्याख्या गरियो। “सेतो टाउके” का रूपमा कर्मचारी र “राता टाउके” का रूपमा जङ्गी भनेर अर्थ्यायो । जङ्गीका कमान्डर इन चिफ राणा आफैँ थिए ।  जेल परी कृष्णलाल अधिकारीले त्यही देहत्याग गरे, मुलककलाइ “बही” जेलभित्रबाट बुझाए। पहिले देखि नै कर्मचारीको तलब प्राण धान्ने तृण मात्र थियो । वि. सं २००७ साल माघ ४ गते केही कर्मचारी जुरमुराए र खा नपुग्ने तलबको माग गरे । उल्टै मोहन  शमशेरले कर्मचारीको जागिर नै खोसिदिए ।

 

पञ्चायतकालीन युग पनि कर्मचारीका लागि पनि काल कोठरी थिए । वि. सं २०१७ पश्चात् राजा महेन्द्र पनि कर्मचारीको पजनी (खोसुवा) मा लागेका थिए । वि. सं २०१९ सालमा लोकसेवा आयोग नै निलम्बन गरिदिए । अनि  चोर बाटो (रेड कार्पेटिङ) बाट राजाले उच्च पदमा पढेलेखेका प्रतिभा (हेड हन्टिङ) भित्र्याए र भित्रियाबाटै ‘प्रशासनिक राज्य’ स्थापित गर्न खोजे । कर्मचारीका नवशासक थपिए। मूल शासक त नारायणहिटी दरबारमा हुन्थे। १४ अञ्चलतिर “अञ्चलाधीश” नामधारी रजगज सहित कर्मचारी कज्याउन लागे । राजा महेन्द्र र वीरेन्द्रबाट पटक पटक सिधै नियुक्ति पाएका डा.भेषबहादुर थापाले “राष्ट्र-परराष्ट्र” ग्रन्थभित्र दरवारिया र सिंहदरबारको दाउपेचमा कर्मचारी पिल्सिएका उदाहरण दिएका छन् ।

 

राजा ज्ञानेन्द्रको पानी जहाजको प्रोजेक्टमा अर्थ सचिव हैसियतले बजेट निकास नगर्दा आफू पनि गलैँचा काण्डमा फसाइएको उल्लेख गरेका छन् । “टेक्नोक्रेट” डा. हर्क गुरुङले दरबार र आफूबिचको टकराबमा भनेका छन् – “नेपालमा राजनीति होइन; षड्यन्त्र हुन्छ। पहिले भारदार काटिन्थे। तर अहिले कर्मचारी छानी छानी रेटिन्छन्।” निमुखा कर्मचारीलाई पूर्ण नियन्त्रण राख्न नेपालभर “दौडाहा टोली” खटाइयो । यिनीले कर्मचारीको चुक्ली सिधै राजा महेन्द्रलाई गर्दथे भने सरजमिनकै भरमा कर्मचारीको जागिर खोसुवाको अधिकार थियो । निमुखा कर्मचारीतन्त्रमाथि पूरै छापामार शैली थियो ।

 

कर्मचारी तर्साउने अर्को तरबार थियो, पर्चा प्रणाली । पर्चा खडा गरेर कर्मचारीलाई अवकाश दिइन्थ्यो । पेन्सन पकाएका कर्मचारीको हैसियत अस्थायी नै हुन्थ्यो । निजामती सेवा ऐन २०१३ (वि.सं. २०२९ मा संशोधन गरेर) ‘कर्मचारीको सेवा अवधि श्री ५ को सरकारको इच्छाअनुसार हुनेछ’ भन्ने प्रावधान थपिएको थियो । राजा वीरेन्द्रको पालामा त नारायणहिटी दरबारभित्र नै “जाँचबुझ केन्द्र” थियो । यस संस्था काम नै कर्मचारीको गल्ती कमजोरी खोतल्ने अनि मुद्दामा फसाउने थियो । राजा वीरेन्द्रका समयावधिमा मुलुकको शासन “सिंहदरवार” र “नारायणहिटी ” गरी दुई केन्द्रबाट समानान्तर रूपमा चल्थ्यो । नागरिक दुनियाँमाथि सिंहदरबारले शासन गर्थ्यो । तर सिंहदरबारमाथि दरबारको पजनी थियो । पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले “मेरा नौ दशक” संस्मरणमा भूमिगत गिरोह र द्वैत शासन (सिंहदरवार र नारायणहिटी दरबार) को चर्चा गरेका छन् । सिंहदरबार होस् या राजदरबार होस्, तिनै निर्धा कर्मचारी चेपुवामा थिए ।

 

वि. सं २०४६ पछि प्रजातन्त्र आयो । पर्चा प्रथा त हट्यो तर कर्मचारीमाथि शासकका नजर बदलिएन । गिरिजाप्रसाद कोइरालाले “पञ्चे” का नाममा केही कर्मचारी हटाए । राजा ज्ञानेन्द्र शाहको शाही अवधिमा उच्च पदस्थ कर्मचारीले अपमानित भई आत्महत्या समेत गर्नुपर्‍यो । वि. सं २०५९ मा ‘निरीक्षण टोली’को नाममा गरेका बहुलठ्ठीका शिकार कर्मचारी नै थिए । गणतन्त्रीय शासन  ‘बालुवाटार’ र “सिंहदरबार” बाट चलेको छ ।अहिले दलीय  आस्थाका आधारमा कर्मचारी विभाजित छन् । राजनैतिक दलको प्रतिशोध र कोप विभाजनमा कर्मचारी फसेका छन् । उल्टै सरकारी संयन्त्रकै प्रयोग गरेर अख्तियार र सिआबीका नाममा अकुत, भ्रष्ट्राचार, हानीनोक्सानीका नाममा कसुर नै यकिन नगरी कलङ्कको टीका लगाइएको छ । राजनीतिज्ञले उन्मुक्ति लिने र कर्मचारी फस्ने शृङ्खला जारी छन् । यस्ता शासकीय शैली प्रदेश र स्थानीय तहमा निक्षेपण भएका छन् । यसैले गाउँ दरबारमा सिंह आएर “गाउँ गाउँमा सिंहदरबार” भएको छ ।

 

नेपालभित्र मात्र होइन, छिमेकी मुलुक भारतमा पनि कर्मचारीप्रतिका लाञ्छना उस्तै छन् । राजनैतिक नेतृत्व कर्मचारीप्रति अनुदार नै छ । सुभाष चन्द्र बोस र  केपीए जस्ता राष्ट्रवादी नेतृत्वले “ब्रिटिसको स्टिल फ्रेम” को कर्मचारीतन्त्रलाई भारतीय ढाँचामा रूपान्तरण गरेका थिए । इन्दिरा गान्धी र राजीव गान्धीका शासन अवधिमा भारतीय कर्मचारीतन्त्र दबाबमै थियो । पछिल्ला समयमा भारतमा राज्य तहमा यस्ता विवाद छरपष्ट छन् । उत्तर प्रदेशमा मायावतीले कर्मचारीमाथि गरेको व्यवहार र रजगज अत्यासलाग्दो देखिन्छ । मायावतीको आदेशलाई ‘ढुङ्गामाथि ढुङ्गा’ भनेर भारतीय प्रशासनविद्ले टिप्पणी गर्छन् । पूर्व मुख्यमन्त्री अखिलेश यादवले एक पटक आइएएस सप्ताहमा भनेका थिए, – ‘राजनीतिले कर्मचारीलाई इज्जत दिन जान्छन् भने सजाय दिन्न पनि जान्छन्।’ अर्का भाजपा नेता कल्याण सिंहको तर्क छ – “कर्मचारीतन्त्र भनेको बेलगाम घोडाजस्तै हो । नेताको लगाममा जति बल हुन्छ, त्यति नै घोडा नियन्त्रित हुन्छ । ” मध्य प्रदेशमा पूर्व मुख्यमन्त्री उमा सिंह त “कर्मचारीलाई चप्पल हान्नुपर्छ” भन्ने टिप्पणीले ‘ट्रोल” नै भइन् ।

 

साहित्यको खुराकी र खिसी ट्याउरी समेत कर्मचारी बनेका छन् । रसियन लेखक एन्टोन चेकोवले “घोडा” शीर्षकको कथामा रुसी जार एलेक्सको निरङ्कुशतालाई कर्मचारीको चरित्रबाट व्यङ्ग्य गरेका छन् । कथामा – घोडा चउरमा चरिरहेको हुन्छ । हस्याङ फस्याङ गर्दै मालिक घोडा छेउ पुगेर एक सासमा बोल्छ – “भागौँ; परबाट शत्रु आउँदै छन्, यहाँ । शत्रुले मलाई मार्नेछन् र तँलाई पनि भारी बोकाउने छन् ।” तर घोडा चलमल गर्दैन। अलमल गर्दै बोल्छ – “म भाग्दिन; मैले बोक्ने भारी हो । तिम्रो हो या शत्रुको, जसको बोके पनि भारी नै हो ।” जुन व्यवस्था र पात्र भए पनि कर्मचारीले  बोक्ने नागरिकको भारी नै हो । अर्का रसियन कथाकार निकोलाइ गोगोलले “द ओभरकोट” (१८४२) कथामा  रुसी राजधानी सेन्ट पिटर्सबर्गका एक गरिब सरकारी क्लर्कको जीवन र मृत्युको वर्णन गरेका छन् । तलबले खानलाउन नपुग्ने ती कर्मचारीको थोत्रो ओभरकोट अफिसमा हाँसी मजाकको विषय बनेको छ । निकोलाइ गोगोलले नै “डेड सोल” कृतिमा मरेका आत्मासँग कर्मचारीलाई तुलना गरेका छन् । भावहीन, संवेदनाविहीन र स्वरहीन प्राणीझैँ ।

 

रुसका शासक स्टालिनले नोबेल पुरस्कार विजेता लेखक सोल्झेनित्सिनलाइ देश निकाला गरे । जनता र कर्मचारीमाथि गरिएको अत्याचारबाट प्रताडित भई स्टालिनप्रति उनले “जननेताका नाममा खुनी नेता (ब्लडी लिडर) ” भनी आरोप लगाए । जर्मनी लेखक फ्रेन्च काफ्काले “मेटामोर्फोसिस” कृतिमा एक कर्मचारीले आफूलाई ठुलो कीरामा रूपमा लघुताभास गर्छ र बाँच्नका लागि दिनरात अथक सङ्घर्ष गर्दछ।  यदि ऊ आफ्नो परिवारमा एक मात्र कमाउने र बुबाको ऋण तिर्ने  दायित्व नभए तुरुन्तै जागिर छोड्ने थियो। अमेरिकी उपन्यासकार मार्क ट्रविनले राष्ट्रपति रुजवेल्टप्रति इङ्गित गर्दै भनेका छन्- “राजनीतिज्ञ असाध्यै छलकपट र जालसाजी गर्छन् । उल्टै समाजबाट सदैव सम्मानित हुन्छन् ।” अमेरिकी लेखक फ्रान्क हर्बटको “हेरेटिक्स अफ ड्युन ( १९८४) विज्ञान कथामा  भनिएको छ – ” कर्मचारी कार्यविधिको पहाड बोकेर कागजी खुट्किलो चढ्दै गर्दा लोभ लालचको हिम पहिरोमा लतारिएका छन्। प्रतिवेदनको जङ्गल र अध्ययनको बाढी बहावमा हराएका मात्र छैनन्, समितिका प्रतिवेदनका महासागरभित्रै रुमलिएका छन् ।” क्युबाली निर्देशक टोमस गुटिएरेज अलियाले कर्मचारीको कागजी स्वभावलाई उधिनेर “डेथ अफ ए ब्युरोक्रेट (१९६६)” कमेडी फिल्म नै बनाए । फिल्ममा – एक कर्मचारीको अचानक मृत्यु हुन्छ, अनि श्रम कार्डसहित उसलाई खाल्टोमा गाडिन्छ। पछि उक्त कर्मचारीको श्रीमतीलाई सेवा सुविधा हक दाबी गर्न त्यही कार्ड ल्याउन लगाइन्छ । अनि रातारात चिहान उत्खनन गरिन्छ र बहुमूल्य कार्ड पुनः खोजिन्छ । कार्ड भेटिँदैन । फेरि पुनः शव गाड्न कर्मचारी भएको प्रमाण स्वरूप त्यही श्रम कार्ड खोजिन्छ । कागजी खेलले मान्छेको संवेदना र भावनामा पुगेको ठेसको चित्रण छ ।

 

नेपाली लेखक भैरव अर्यालले “जय भोलि” निबन्धमा राणाले ‘आगो भोलि तत्काल निभाउनू’ भन्ने हुकुमबाट भोलि वादको उछितो काढेका छन् । विश्वेश्वर प्रसाद कोइरालाको “दोषी चस्मा” कथाभित्र एक दिन जरसाहेबले नमस्ते नफर्काउँदा कर्मचारी मरे तुल्य भएको चाकडी प्रथा देखाइएको छ । कोइरालाले अर्को कथा “एक रात” मा धर्मभक्तलाई फाँसी दिई घर फर्केको जर्नेलले आफ्नै छोरा मारेको अनुभूति गरेको छ । कर्मचारीको नुनको सोझोका लागि भए गरेका लाचारी भाव प्रकट गरेका छन् । 

 

कर्मचारीतन्त्रको जन्म नागरिक कल्याणका खातिर हो। वोइज युनिभर्सिटी, कोरियाकी प्राध्यापक सान्घि पार्कले “प्रशासनको राजनैतिक असफलता” (२०२१) शोधपत्रमा कर्मचारीतन्त्रको निरीहताले राज्यले चुकाएका मूल्यको फेहरिस्त तयार गरेकी छन् । उनको प्रतिवेदनमा भनिएको छ – “बजेट, नीति, कार्यक्रम र संयन्त्रमा राजनीति बेलगाम हुँदा नागरिकका मौलिक हक मरेका छन् । राजनीति र कर्मचारीतन्त्रले सन्तुलन गुमाउँदा सामाजिक न्याय, सेवा र विकासमा नागरिक समेत असन्तुलित भएका छन् । राज्यका संस्था र संयन्त्रलाई पूरै फलामलाई खियाले खाएझैँ राजनीतिले कुटुकुटु खाएका छन् । नागरिकको सेवा प्राप्तिको सार्वभौम अधिकार राजनीतिकरणमा ध्रुवीकृत र विभेदयुक्त छन् ।” उनको अध्ययन कोरियाको सामुन्द्रिक सुरक्षा र विकास योजनामा केन्द्रित छ । तापनि जराधारदेखि सेवादेखि नीति तहसम्मका असफलता उदाहरण दिएकी छन् ।

 

कर्मचारीतन्त्रलाई दोष दिनु (ब्युरो-ब्यासिङ) राजनीतिज्ञको प्रभावकारी रणनीति हो । कर्मचारीतन्त्रको अकुशलता र जुम्सोपन राजनीतिका लागि उत्पादक कदापि हुँदैन, प्रत्युत्पादक हुन्छ । राज्यको उन्नयन, सोच, खाका र लक्ष्य राजनीतिको प्लेटफर्म हो । राजनीति र कर्मचारीतन्त्रका  सन्निकटताका डिग्री असन्तुलन हुँदै जाँदा नीति र संयन्त्रका सन्तुलन गुम्दै जाने खतरा हुन्छ। सार्वजनिक नीति ढाँचाभित्र एजेन्डा-सेटिङ, कार्यान्वयनदेखि मूल्याङ्कनसम्म राजनीति र प्रशासनको सहकार्यको माग गर्छ । तर  राजनीतिक र प्रशासन ध्रुवीकरण बढ्दै जाँदा यी विषय गम्भीर हुन्छन्। राज्य तरल हुन्छ । विकासोन्मुख मुलुकमा राजनीति अत्यधिक ध्रुवीकृत छ । र, त्यहाँको कर्मचारी संयन्त्र आत्म केन्द्रित छ । दुवै नागरिक केन्द्रित छैनन्। राज्य सञ्चालनका कानुन र क्षेत्राधिकार( डोमिन) का स्पेक्ट्रममाभित्र सम्बन्धका वक्र रेखा खप्टिएका छन् ।यही भएर प्रशासनविद् थम्पसन (१९८८) ले भनेका छन्- “राज्यका नीतिगत असफलतामा राजनीति र कर्मचारी दुवै भागीदार छन् । एक अर्कामा हाबी भई कानुनी विचलन हुनुले दुवैको क्षमता ह्रास भएको छ । नागरिक टुलुटुलु हेरिबस्न बाध्य छन् ।”

 

तानाशाही मुलुकमा मात्र होइन, लोकतान्त्रिक मुलुकमा पनि राजनीतिक र  कर्मचारीबिच संवाद कम छ । शासनमा तेस्रो पक्ष हाबी छन्। सञ्चार जगत् पूरै कर्मचारी लखेट्न उद्धत छ । निजी क्षेत्र सदैव कर्मचारीतन्त्रलाई बाधक देख्छ । कानुनमा जेलिएको कर्मचारीतन्त्र नागरिकसँग दूरी टाढा छ । सामूहिक जबाफदेहिता  छैन । विकासोन्मुख मुलुकमा न कर्मचारीको व्यावसायिकता छ न संयन्त्र सबल छन् । राजनीतिको काँध र धापले तटस्थताको  हावा खुस्केका छन् । कर्मचारी व्यावसायिक होइन, जुम्सो भएको छ। लोभ र लालचले कर्मचारी भ्रष्ट्राचारका काण्डमा मुछिएका छन् र नैतिकता समाप्त भएको छ । राजनीति विचारहीन र अस्थिर छ । यही राजनीतिको गतिहीनता र शून्यताले कर्मचारीको दक्षता मारिरहेको छ ।

 

प्रोफेसर पाउलिट र बोउकार्टले “नव वेवरियन राज्य (२००८)” अनुसन्धानात्मक लेखमा कर्मचारीतन्त्र निरीह हुनुमा राजनीतिसँगको सामीप्ययता र लोभ लालचका प्रवृत्ति कारक मानेका छन् । राजनीति सबै क्षेत्रभन्दा माथि छ । कर्मचारीतन्त्र संवैधानिक, कानुनी र  संस्थागत ढाँचाभित्र रहन रुचाउँछन् । तर राजनीतिज्ञ त्यसभन्दा बाहिर जान चाहन्छन्। राजनीतिज्ञसँगको एकाकारले कर्मचारी लोभ लालचमा डुब्ने र राजनीतिकरणले व्यावसायिकता समाप्त हुने दुई तहको डिग्री मापन गरेका छन् ।

 

राजनीतिले पनि व्यवस्था बदलेका छन् । राज्यको सङ्क्रमणलाई  गति दिएका छन् । परिवर्तनलाई स्वीकार गरी स्थितीकरण गरेका छन् । नेपालमा पनि लोकतन्त्र, उदारीकरण, प्रशासनिक सुधार, द्वन्द्व व्यवस्थापनमा राजनीतिले उच्च क्षमता देखाएको छ । तर यति हुँदा हुँदै पनि कर्मचारी राजनीतिक विचारधाराभित्र लुटपुट छन् । व्यावसायिक छैनन् । मुलुकमा एउटै डुङ्गाका सहयात्री भए पनि कर्मचारीतन्त्रको लाञ्छना र अपमानको विरासत लामो छ । कर्मचारीले लोभ पाप र भ्रष्ट्राचारको अधोपतनबाट सच्चिनुपर्छ । संस्थागत शुद्धीकरण ( कार्थिसिस्) नभए सम्म आफै खाडल खन्ने तर अरूलाई दोष दिएर उन्मुक्ति मिल्दैन ।

 

राजनीतिको मूल चरित्र नीति निर्माण हो । नीतिको कार्यान्वयन कर्ता (टिगर) कर्मचारी हो । तर दुवै विधागत चुलीबाट पग्लिएका छन् । एउटै धर्तीका दुई पुत्र (राजनीति र प्रशासन) भए पनि दर्शन, चरित्र, विधाले यी फरक हुन् । बाहिरी आवरणमा राजनीति र कर्मचारी जति निकट, हार्दिक र आत्मीय छ। तर नेपथ्यभित्र अविश्वास, धर्षण र अन्तर सङ्घर्षका उछाल उत्तिकै छन् । अमेरिकी राष्ट्रपति विड्रो विल्सन भनेका छन्- ” प्रशासनको क्षेत्र व्यावसायिकताको क्षेत्र हो। यो राजनीतिको हतार र कलहबाट हटाइन्छ। यी दुवै नजिक हुँदा नागरिक शासनमा टाढा हुन्छन् । यी टाढा हुँदा मुलुककै सार्वभौमिकता समाप्त हुन्छ । “ज्याक्सनको लुट प्रणालीले थङथिलो भएको अमेरिकी कर्मचारीतन्त्रको क्षेत्राधिकारबाट विड्रो विल्सनले राजनीतिको अंश र हंस बाहिर निकालेका थिए । यसैले नागरिकलाई केन्द्र विन्दुमा राखेर शासनमा दुवै ‘कम्प्लिमेन्टरी’ र ‘सप्लिमेन्टरी’ बन्नुपर्छ । राजनीतिलाई विचारहीन र कर्मचारीतन्त्रलाई निरीह र जुम्सो बन्ने छुट छैन । दुबैका प्रिन्सिपल त नागरिक हुन् र  यी राज्य सञ्चालनमा वारेसनामा लिएका “एजेन्ट”  मात्र हुन् ।  - प्रशासनबाट साभार

प्रतिकृया दिनुहोस

ममताले प्रेमी बनाईन्, प्रेमी काल बने !

अमेरिकामा बेपत्ता ममता काफ्लेलाई श्रीमानले नै बेडरुममा हत्या गरी शव गायब पारेको प्रहरीले अदालतमा बुझाएको कागजमा देखिएको सिएनएनले जनाएको छ ।

केटाकेटीले नसिकेका हुन् कि हामीले नसिकाएको ?

म पेसाले शिक्षक। एक दिन आफ्नै कक्षमा थिएँ।   कक्षा ९ मा पढ्ने एक विद्यार्थीका अभिभावक आफ्नो छोराको कुरा लिएर आउनुभयो र भन्नुभयो – मेरो छोरो पढ्न

स्वास्थ्य सेवामा गरिबको पहुँच कसरी बढाउने?

नेपालजस्ता न्यून विकसित देशहरूमा छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा सहरमा बस्ने, सम्पन्न र पहुँच भएका मानिसमा सीमित देखिन्छ।   नेपालको संविधानले