बुवाले घर चलाउन विदेश पठाउन खोज्नुभयो, संगीत सिकेर यहीँ भविश्य खोजेँ : करण परियार

२०८१ असार २९ शनिबार

संगीतमा भित्रैबाट रुची भएका बारबर्दिया नगरपालिका वडा नं ४ पदना बर्दियाका १९ वर्षीय करण परियारलाई उनका बुवाले घरखर्च चलाउन विदेश पठाउने योजना सुनाएपछि छटपटि भएको थियो ।

 

गीतसंगीतमा भविश्य खोजेका उनले पाँच वर्ष संगीत सिक्न समय मागेर त्यो बीचमा केही गर्न नसके मात्रै विदेश जाने प्रतिवद्धतासहित बुवाको मन जितेर एक वर्षअघि काठमाडाैं गएका थिए ।

 

उनै करण केही दिनअघि सम्पन्न नेपाल आइडलको सिजन ५ को विजयी बनेर २५ लाख नगद र ट्रफी हात पारेर चर्चामा छन् । आर्थिक स्रोत बलियो भएको र नियमित आम्दानी भएकालाई २५ लाख सामान्यजस्तै लाग्दा तर १२ कक्षाको परीक्षा दिएर सामान्य पसलमा १४ हजारको मासिक तलबमा काम गरेर बसेका करणको परिवारका लागि त्यो रकम निकै ठूलो र उनको भविश्य निर्धारण गर्ने रहेको छ ।

 

बर्दियाको ग्रामीण क्षेत्रबाट पछाडि पारिएको समुदायको सामान्य परिवारमा जन्मेका करण आफ्नै क्षमताले बाजी मारेका हुन् । प्रतियोगिताको सुरुवाती चरणबाटै उनको गलाबाट निस्केको स्वरले सबैको ध्यान तानेको थियो र अन्ततः जित पनि उनकै पक्षमा भयो ।

 

बोलीमा चञ्चलता र मिठास, निश्छल स्वभाव, सफा, मधुर गलाले उनका हरेक प्रस्तुतीलाई ओझिलो पारिरहेको थियो । प्रतियोगितामा बाजी मारेपछि सबै क्षेत्रबाट पाएको सहयोगले यहाँ पुगेको उनको विश्लेषण छ ।

 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिटार उपहार दिँदै संगीतमा भविष्य बनाउन प्रोत्साहन गरेको, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भेटेर बधाई दिँदै हौसला दिएपछि करणको थप चर्चा बढेको छ ।

 

करणलाई काठमाण्डौमा एकैपटक यो उपाधि पाउने कुनै सपना पनि थिएन । आफ्नो स्वरले एउटै मञ्चबाट यति धेरै माया पाउला भनेर उनले सोचेकै थिएनन् । ‘नेपाल आइडलमा उपाधि जित्छु भनेर गएकै होइन, गुरुले एकपटक गएर हेर भन्नुभएपछि पुगेको, यहाँसम्म पुगियो’ उनले सुनाए । करणले संगीत सिक्न थालेको नै धेरै भएको छैन । उनी केही समयअघि काठमाडौँमा संगीत सिकिरहेका छन् ।

 

गीत गाउन पनि सिक्नुपर्छ भनेर स्कुल पढ्दा नै महशुस भएपनि उपयुक्त स्थान नभेटेको उनले सुनाए । करणले नेपाल आइडलभन्दा पहिला भारतीय गायन रियालिटी सो ‘सारेगमप’ हेरेका थिए ।

 

उनले हेरेको सिजनमा नेपालका आयुष केसी र प्रीतम आचार्य सहभागी थिए । उनीहरूले गाएको करणलाई असाध्यै मन पथ्र्यो । करण पनि उनीहरूले जस्तै गाउने प्रयास गरेपनि संगीत नसिकेका कारण तत्काल त्यो संभव थिएन । विद्यालय तहका थुप्रै कार्यक्रममा गायनकला प्रस्तुत गरेका करणको स्वर सबैले मन पराउँथे ।

 

करण जन्मेहुर्केको गाउँमा धेरै हिनदी गीत नै गुनगुनाउने गरिन्छ र उनी पनि हिन्दी गीत नै बढी सुन्थे । उनको गाउँ नै पुरै राना थारुको बस्ती भएकोले दैनिकजस्तो चर्को–चर्को आवाजमा माइकबाट हिन्दी गीत बजाइन्थ्यो । हिन्दी गीत सुन्दासुन्दै इन्डिन आइडलमा जाने सोच बनाएपनि तत्काल त्यहाँ पुग्न सकेका थिएनन् ।

 

कक्षा १२ को परीक्षा दिएर बसेका करणका बुवाआमा बर्दियाको जयनगरमा कपडा सिलाएर जीवन चलाइरहेछन् । करण परिवारमा जेठो सन्तान हुन् । बैनी कक्षा ९ मा पढ्छिन् भने भाई बल्ल एलकेजीमा । हजुरबुवा र हजुरआमा पनि सँगै रहेको उनको परिवारको मुख्य स्रोत नै बुवाआमाको सिलाई व्यवसाय हो ।

 

संगीतमै भविश्य देखेका करण अब काठमाडाैं बसेर उच्च शिक्षामा ललितकला पढ्ने योजना बनाएका छन् । ‘मैले धेरै सिक्नु छ, पढ्नु छ, बुवाआमा र परिवारको सपना पूरा गर्नुछ, पढाईसँगै संगीतमै करियर बनाउन चाहेको छु, सबैको साथले सफल हुन्छु भन्ने लागेको छ’ उनले भने–‘मेरो यो सफलतामा परिवार, साथीभाई, सबै शुभेच्छुकको साथ छ, म एक्लैले केही गर्न सक्ने होइन ।’

 

उनले यो प्रगतिको प्रेरणाको स्रोत नै परिवार र साथीभाई रहेको सुनाए । उनले सबैभन्दा धेरै स्कुलमा हुने कार्यक्रममा बोलाएको सम्झन्छन् । सरले स्कुलमा र बुवाले घरमा स्वर राम्रो भएको धेरैपटक बताएपछि उनलाई अघि बढ्न प्रेरणा बढेको हो । अनि सपना पनि त्यही देखेको हुँ । उनका बुवाले गायक, डाक्टर र निर्देशक बन्ने चाहना राखेपनि एकमात्र पूरा भएको उनी बताउँछन् ।

 

‘सबैको प्रेरणा छ नि, म संगीत सिक्छु, गीत गाउँछु भन्दा बुवाले गीत गाएर मात्रै हुँदैन, सीप पनि सिक्नुपर्छ, लुगा सिलाउन सिक, गीत पनि गाउलास् भन्नुभयो’ उनले भने–‘बुवाआमासँगै कलमा बसेर धागो काट्ने, टाँक हाल्ने काममा सघाएँ । तर लुगा सिलाउन सिकेन, सिकेको भए जानेको काम गर्नुपथ्र्यो,संगीत पछि पर्नसक्थ्यो ।’

 

करणको चाहनापछि बुवासँगै काठमाडौँ आएर केही समयसँगै बसेर बुवा गाउँ फर्किएका थिए । बुवा गएपछिका उनलाई साथ दिने साथी हुन् रोहित । रोहितलाई उनी आफ्नो संगीत पार्टनर सम्झन्छन् । रोहितले काम खोजिदिए र अभावमा आफ्नो घरमा लगेर राखेको उनले बताउँछन् ।

 

२०८० को असारमा काम गर्दै भोकल सिक्न काठमाडौं गएका करण बुवा फर्किएपछि जोरपाटीको एक संगीत विद्यालयमा सिक्दै कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा काम गर्न थालेका थिए । मासिक १४ हजार तलबमा काम गरे पनि करणको ध्यान भने पुरै गीतसंगीतमा हुन्थ्यो । संगीत सिकेको केही महिनामै गुरुको सल्लाहअनुसार नेपाल आइडलमा सहभागिता जनाएपछि आफ्नो सांगीतिक यात्रा नै फेरिएको उनको बुझाइ छ ।

 

उनी स्कुल, टोल–छिमेकका कार्यक्रममा गाउँथे । बाटातिरै कसैले गाउन आग्रह गरे पनि खुसी हुँदै गाउन थालेपछि उनी लोकप्रिय बन्दै गएका थिए ।संगीत सिक्दा सात महिना त करणले हरेक दिन बिहान चार बजे उठेर खाना बनाए काममा जाने र फर्किएर खाना खान्थे अनि पुनः सिक्न जान्थे ।

 

यो आइडलको यात्रा सुरुवात मात्रै भएको र धेरै सिक्न बाँकी रहेको उनी बताउँछन् । आफूले पुरस्कार राशिबाट पाएको रकम बुवालाई ऋण तिर्न दिएको उनी बताउँछन् । अघिल्लो वर्ष एक कट्ठा जमिन किनेको ऋण आइडल भएर जितेको रकमले तिर्न पाएको उनले बताए । 

प्रतिकृया दिनुहोस

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक

सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर