कञ्चनपुर : बाढीले बस्ती डुवान भएपछि सारा जनजीवन प्रभावित

२०८१ असार २५ मंगलबार

बेलाैरी, कञ्चनपुर -


चारदिन सम्म परेको अविरल बर्षाले कञ्चनपुरमा गाँउ देखि शहर सम्म क्षति पु¥याएको छ । उर्लिएका ठूला-साना खोला नदीले तटीय गाँउदेखि शहर बजार सम्मै क्षति पु¥याएको हो ।

 

जिल्लाभरी कतिपय घरमा पानी पसेको छ । दिनरात परेको अविरल वर्षा बाढीमा परिणत भएपछि कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानमा परेका छन् ।

 

कञ्चनपुरमा भीषण बर्षाका कारण विद्युत र टेलिकम सेवा समेत प्रभावित भएको छ । भने, मानवीय, भौतिक क्षति भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटानी तथा दक्षिणमा डुवानले नागरिकलाई सास्ती खेप्नु परेको छ । 


महाकाली र जोगबुढा दुई नदीको मिलन बिन्दु दोधाराचाँदनी नगरको कुतियाकबर यस बर्षपनि बाढीको शिकार बनेको छ । महाकाली नदीमा जगबुढा नदी थुनिदा नदी कुतियाकबरदेखि आसपासका गाँउबस्ती सुन्दरनगर, शान्तिटोल, निसानी टोल, रामपुरे बस्ती, देउराली घाट, जर्दा गाँउबस्ती डुवानमा परेका छन् ।


दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरका स्थानीय टेक बहादुर सुनारले हरेक बर्ष जगबुढा र महाकाली नदीको संगम स्थल कुतियाकबर भएकाले कटानी र बाढीको जोखिममा रहेको बताए । ‘हाम्रो सीमावर्ती बस्ती दुवै नदीबाट कटानी र बाढीको चपेटामा पर्दै आएको छ, ‘उनले भने, ‘विगतको बर्ष भन्दा यस वर्ष बर्षाले झन ताण्डप मच्चायो, हामी घर छाडेर सुरक्षित घरमा बसेका छौँ ।’


दोधाराचाँदनी नगरपालिका ८ सुन्दरनगर जर्ता टोलका ६३ वर्षीय बृद्ध जितबिर कामीले ०२८ सालयताकै भिषण वर्षा, बाढी आएको बताए । ‘हाम्रा बुढापाखाहरुको ०२८ सालतिर दोधाराचाँदनी भिषण बाढी आएको र सयौँ विस्थापित भएको कहानी सुनाउथे, आज हामीले नै त्यही बाढीसंग सामना गर्नु परेको छ, ‘उनले भने, ‘आकस्मिक रुपमा ह्वात्तै आएको जगबुढा नदी घरभित्रै पस्यो ।’ विस्थापित भएर आफुहरु विद्यालयमा बसेको उनले बताए ।

 

सुन्दरनगर जर्ता टोलका अर्का स्थानीय तुल बहादुर खडकाले ०२८ सालकै झल्कोदिने गरेर बाढी आएको बताए । ‘जगबुढा नदी र महाकाली नदीले कुतियाकबर सहितका अन्य गाँउबस्ती डुवान गरेपनि हाम्रो सुन्दरनगरमा यसरी पानी नै पस्दैन्थ्यो, ‘उनले भने, ‘यस पटकको पानी सिधै गाँउबस्तीमा पसेको छ ।’ झण्डै ५ दशक यताको बाढी सम्झाउने गरेर दोधाराचाँदनीमा बाढी आएको बताए । ‘

 

बाढी आएपछि हामीहरु नजिकै विद्यालयमा आश्रय लिएर बसेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म कुनैपनि सरकारले खानेकुरा दिएको छैन, हामीहरु आफैले खानाको प्रबन्ध गरेका छौँ ।’ 


दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पनि ०२८ सालकै यता अर्को ठुलो बाढी आएको बताए । ‘हामी गाँउमा ०२८ सालमा दोधाराचाँदनीमा ठुलो बाढी आएर धेरैको संख्याको विस्थापित भएको सुन्थे, ‘उनले भने, ‘अहिले ०८१ सालको बाढीपनि त्यस्तै भएको छ, बाढी प्रभावित क्षेत्र सहित दोधाराचाँदनीका अधिकांश गाँउबस्ती डुवानमा परेका छन् ।’

 

मेयर लिम्बुले बाढीबाट झण्डै ९सय घर परिवार विस्थापित भएको बताए । उनले सबै बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार दोधाराचाँदनीमा सोमबार बिहान ६२४मिलिमिटर बर्षा भएको छ । 


बेलडाँडी : फेरी गाँउ पस्यो चौधर नदी 


उत्तर चुरे भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाँउपालिका ५ ईमलिया भएर भारततिर बग्ने चौधर नदी फेरी डेढ दशकपछि गाँउ पसेको छ । 


१६ बर्ष अघि अर्थात ०६५ सालमा आएको बाढीका बेला पनि चौधर नदी ईमलिया क्षेत्रबाट गाँउ पसेको थियो । उतिबेला पूर्व सूचना प्रणाली नहुँदा मानवीय भन्दा भौतिक, पशुधन तर्फ क्षति भएको थियो । अहिले पूर्व सूचना हुँदा मानवीय तर्फ कुनै क्षति नभएको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले बताइन् । उनले बेलैमा सबैको उद्दार गरिएको जनाइन् ।


बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ०६५ सालमा चौधर नदीले महाकाली सिँचाईको नहर फुटाएर गाँउपस्दा ४/५ घर भत्काईदिएको भएपनि पशुधन तर्फ क्षति भएको बताए । यस पटक पनि विगतमा गाँउ पसेकोे स्थानदेखि केही पूर्वतिरबाट नदी गाँउ पसेको हाे ।

 

बेलडाँडी ५ भुर्षाको गणेश माविको पूर्वबाट गाँउ पसेको चौधर नदीले बेलडाँडी झिलमिला बेलौरी भुडा कलकत्ता बस्ती डुवानमा पारेको छ ।

यस्तै, बेलडाँडी गाँउपालिका ५ ईमलिया, २ ढकनिया, ४ वैवाह, ३ खैरिघाटका हजार बढी घर डुवानमा परेका छन् ।

 

‘यो नदीको सतह गाँउबस्तीभन्दा धेरै माथि छ, ‘उनले भने, ‘नदीमा पानीको बहाव बृद्धि हुँदा ओभरफुलु भएर नदी गाँउ नै पस्यो ।’ गाँउ प्रमुख रानाले समयमै सबैलाई सुरक्षित स्थानमा पारेपछि घर डुवानमा परेको बताए । चौधर नदीको वाढीले ईमलियाका स्थानीय नन्दकिशोर एसकेको घर बगाएको छ । चौधर नदी नियन्त्रण गर्न नसके बेलडाँडी र बेलौरीका दर्जनौँ बस्ती डुवानमा पर्ने स्थानीयको भनाई छ । स्थानीय अगुवा जनक सिह धामीले चौधर नदीलाई निकुञ्जबाटै डाईभर्जन गर्नुपर्ने बताए । 


बेलडाँडी ३ खैरिघाटका रमेश रानाले दोस्रो पटक चौधर नदी गाँउ पसेको बताए । ‘पहिले पनि ईमलियाबाट चौधर नदी गाँउमा पसेको थियो, ‘उनले भने, ‘अहिले पनि पसेको छ, पानी आउँछ, जान्छ, ‘उनले भने, ‘हामीलाई दुईदिन दुख दिएर जान्छ, ‘घरमा भएको सबै समान नष्ट गरिदियो ।’ 


लालझाडी बेलाैरी पुनर्वासमा दोदा नदीको ताण्डप 


चुरे भएर बग्ने दोदा नदीले हरेक बर्ष लालझाडी, बेलौरी र पुनर्वास तटीय क्षेत्रमा ताण्डप मच्चाउँदै आएको छ । अविरल रुपमा परिरहेको भीषण बर्षाले दोदा नदीमा आएको बाढीले डुवानमा परेका हुन् ।

 

दोदा नदीले कञ्चनपुर दक्षिणी क्षेत्रका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन् । दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन् ।

 

लालझाडी गाँउपालिका २ कञ्जका स्थानीय प्रकाश रानाले सिङ्गै दोदा नदी गाँउ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका ५ सिमरी, रातोपुल, २ मोतीबस्तीका सयौँ घर डुवानमा परेका छन् । 


दोदा नदी गाँउ पस्दा पुर्वपश्चिम हुलाकी राजमार्ग समेत अवरोध भएको छ । दोदाबाट विस्थापित भएका घर परिवारलाई पुनर्वास ५ चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ । पुनर्वास नगरपालिका विपद व्यवस्थापन संयोजक होमनाथ ढकालले बाढीबाट विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।

 
महेन्द्रराजमार्ग पुल भत्किदा

 

गत शुक्रबार देखिको भारी बर्षाका कारण जिल्ला भरीका ठुला तथा साना नदीखोला, खोल्सामा बाढी आउँदा झण्डै २ हजार बढी घर डुवानमा परेका छन् । 


सुडाको हजारा खोलामा आएको बाढीले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तररगत सुडामा पुल (कल्भर्ट) भत्किएको छ । हजारा खोलाको वाढीले बेदकोट नगरपालिका ७ सुडाको पुल भत्किएको हो ।

 

स्थानीय गणेश नेपालीले चुरे भएर बग्ने हजारा खोलामा पानीको सतह बृद्धि भएपछि राजमार्गमा रहेको पुल भत्किएको बताए । ‘तीनदिनदेखि लगातार बर्षा भईरहेको थियो, ‘सानै खोलामा ठुला बाढी आयो, पुलले थेग्नै नसक्ने गरेर वाढी आयो, पुल भत्काईदियो, ‘उनले भने, ‘हजार खोलाले पुलसंगै आसपासका झण्डै १ सय ५० घरधुरी समेत डुवानमा परेका छन् ।’ 


पूर्वपश्चिम महेन्द्र राजमार्ग नै अवरुद्ध भएपनि यात्रुहरु बैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । मालबाहक सवारी साधन जान नसकेपनि साना प्रकृतिका सवारी साधन डाईभसन भएअ ओहोरोदोहोर गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले पुल भत्किाएपनि यात्रुहरु बैकल्पिक सडक प्रयोग गर्दै आईरहेको बताए । 


सदरमुकाम महेन्द्रनगर नै डुवानमा 


महेन्द्रनगर कञ्चनपुर जिल्ला सदरमुकाम हो, समान्य बर्षा हुँदा महेन्द्रनगर बजार जलमग्न हुन्छ, तर यस पटक मुख्य बजार सहित आसपासका क्षेत्र डुवानमा पर्दै आएका छन । 


भीमदत्त नगरपालिका ४ भगतपुर बनदेवी टोलका भट्टले यस्तो पानी कहिल्यै नआएको बताए । ‘विगतमा घरको गेट भन्दा तलै रोडसम्म मात्रै पानी आउँथे, ‘अहिले त मेरो घरको भित्रै पानी पसेर घुडासम्मै पुग्यो, ‘उनले भने, घरभित्रै पानी पसेको यो पहिलो पटक हो ।’ भीनपा ३तिलकपुरका स्थानीय लोक बहादुर विष्टले बर्षाले उत्तरी भेगमा बर्षा भईरहेको बताए । यसैविच महाकाली नदीको तटसंगै रहेको भुजेला खोला गाँउपस्ता भीनपा ११ सहितका आसपासका बस्ती डुवानमा परेका छन् । चुरे भएर बग्ने भुजेला खोला र बनबासा पुल स्थित भारतीय सीमा सुरक्षा बल(एसएसबी) बसेको स्थानदेखि बग्ने नाला गाँउपसेपछि हजारौँ घर परिवार डुवानमा परेका छन् ।

 

भीनपा ११ का वडाध्यक्ष प्रकाश थापाले बाढी आएका बेला यस अघि पनि भुजेला खोला गाँउ पस्ने र महाकाली नदीमा थुनिएपछि सिङ्गै खोला नदीमा नमिसिई सिधै गाँउ पस्ने भएकाले डुवान परेको बताए । वडाध्यक्ष थापाले पहिलो पटक यसरी खोला गाँउमा पसेको बताए । ‘अरु बर्षपनि भुजेला खोला आएपनि बस्ती डुवान भएन, ‘उनले भने, ‘यस पटक डुवानले ठुलो क्षति गरेको छ ।’ भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले बाढीपीडिलाई राहत वितरण गरिएको बताईन् । 


उर्लियाे झर्नाखोला 


कञ्चनपुरको दक्षिणी क्षेत्र भएर बग्ने झर्नाखोलामा वाढी आउँदा आसपासका जनता डुवानमा परेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलौरी नगरपालिका ९ र बेलडाँडी गाँपालिका १ भएर बग्ने झर्नाखोला उर्लिएको छ । झर्नाखोलामा आएको वाढीले बेलडाँडी र बेलौरीका दर्जनौँ घर परिवार डुवानमा परेका छन् ।

 

झर्नासागरकी स्थानीय कलावती जोशीले खोलामा वाढी आएपछि केही विस्थापित सरस्वती मावि विद्यालयमा बसेको बताईन् । ‘यो खोला यस बर्षपनि उर्लिएर आएको छ, ‘उनले भनिन, ‘खोलाबाट विस्थापित भएका ८/१० परिवार सुरक्षित स्थानमा सरिसकेका छन् ।’ खोलामा आएको वाढीले पुल, तटबन्धमा समेत क्षति गरेको छ । सरस्वती मावि जाने पुल भत्काएपछि विद्यार्थी र स्थानीयलाई आवत जावतमा समस्या हुने भएको छ । 


स्थानीयले हेडटु टेलसम्म तटबन्ध र ठाँउ-ठाँउमा पक्की पुल निर्माणका लागि माग गर्दै आएपनि तीन सरकारले वेवास्ता राख्दा खोलाले बर्षनी उर्बरा जमिन कटानी गर्दै आएको छ । बर्षा नरोकिएपछि तटिय क्षेत्रका जनता त्रसित भएका छन् । 


बाढीको ताण्डप : डुबेर चारको मृत्यु, एक वेपत्ता 


घरभित्र पसेको पानीमा डुबेर नवराजशिशु, तालमा डुबेर तीन किशोरीको ज्यान गयो, नदीमा वेपत्ता युवकको बाँच्ने आस टुट्यो ! चार दिनदेखिको लगातारको भिषण बर्षाको ताण्डपले कञ्चनपुरका चार जनाको ज्यान गएको छ । भने, एक युवक वेपत्ता भएका छन् । भिषण बर्षातकै कारण नवजात शिशुदेखि तीन किशोरीको ज्यान गएको छ, एक युवक नदीमा वेपत्ता भएका हुन् । 

 

वेपत्ता युवकको खोजीकार्य जारी


आइतबार चौधर नदी तर्ने क्रममा वेपत्ता भएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै फेला परेका छैनन् । माछामार्न गएका चौधरी वेपत्ता भएको २४ घण्टासम्म समेत फेला नपरेपछि घर परिवार आफन्तले सास पाउने आसै मारेका छन् । 

 

७ महिने शिशुको मृत्यु 


आइतरबार रातभरी परेको बर्षाले घरभित्र जलमग्न भएपछि कृष्णपुर नगरपालिका १ पहरियाका ७ महिने नवराज शिशुको सोमबार बिहानै मृत्यु भएको छ । आमासंगै सुतेका नवराज शिशु सोनु धानुक सुतेको खाटबाट खसेर पानीमा परेर मृत्यु भएको हो । 

 

पुनर्वासमा तीन किशोरीकाे ज्यान गयो 


सोमबार दिउँसो एक तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालयमा विदा भएपछि पुनर्वास नगरपालिका ५(ग) गाँउका तीन किशोरी विद्यार्थी गाँउघर नजिकै रहेको तालमा पौडेखेल्ने क्रममा डुबेर मृत्यु भएको हो । गौरीशंकर माविमा अध्ययनरत तीन किशोरीको एकै तालमा ज्यान गएको छ ।

 

लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भएको हो ।  लक्ष्मी कक्षा ९ र आरती, सृजना १० कक्षामा अध्ययनरत छन् । बोगटी किशोरीत्रय सबै आफन्त हुन् । विद्यालयमा विदा भएपछि उनीहरु दौतरी घुम्न तालतिर गएका थिए ।

 

भीषण बर्षाका कारण तारमा पानीको सतह बढेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाएको बताए ।

 

वेपत्ता युवकको खोजीकार्य भैरहेको कञ्चनपुर प्रहरी  प्रवक्ता जोशीले बताए । यस बर्ष मनसुनको शुरुवातमै चार जनाले ज्यान गुमाईसकेका छन । भने, एक वेपत्ता भएका छन् । बर्षाका बेला अनावश्यक घर बाहिर ननिस्किन समेत प्रशासन, प्रहरी सहितका सरोकारवाला निकायले आब्हान गरेको छ । 

 

एक हजार बढी घर विस्थापित : प्रजिअ सापकोटा 


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले १ हजार १ सय ३१ घरपरिवार विस्थापित भएको बताए । प्रजिअ सापकोटाले विस्थापित परिवारका ४ हजार १ सय ३५ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको र पानी घट्दै गएका परिवार घर फर्किन लागेको बताए ।

 

बाढीबाट भएको क्षतिको एकिन विवरण संकलन जारी रहेको छ । प्रजिअ सापकोटाले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाले डुवानमा परेका परिवारको उद्दार गरेर सुरक्षित स्थानमा लगेको बताए । ‘हामीले विस्थापितहरुको खाने प्रबन्ध मिलाईसकेका छौँ, ‘प्रजिअ सापकोटाले भने, ‘अब सबै घरतिर फर्किसकेका छन् ।’ 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी