ताजा समाचार

पर्दाफास

महिला तस्करीमा अध्यागमन कर्मचारीको मिलेमतोः संसदीय टोली

२०७३ चैत १५ मंगलबार

चैत १५ – अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । 

खाडीका साउदी अरब, कुवेत, कतार, युएईमा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ । नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही चैत ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो “त्यसरी अवधै रुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गएको देखियो । बाँकी मात्रै भारत र श्रीलङ्का हुँदै गएको भेटियो । 

मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुवई, कुवत पठाउने र त्यहाँबाट साउदी अरब, कतार, ओमन पठाउने गरेको भ्रमणको क्रममा भेटिएको उहाँले बताउनुभयो । 

साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रुपमा घरेलु कामदारका रुपमा गएको र अन्य मुलुकमा समेत त्यो सङ्ख्या धेरै रहेको संसदीय समितिले जनाएको छ । 

खाडीमा अवैध रुपमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताउनुभयो । 

चार मुलुकको दूतावासमा अस्थायी रुपमा दर्जनाैं महिलालाई उद्दार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो । 

निःशुल्क प्रवेशाज्ञा र टिकटमा जाने कोही भेटिएनन् 

भ्रमणका क्रममा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्क रुपमा आफू नआएकोे संसदीय टोलीसमक्ष बताएका थिए । 

सभापति साहले भन्नुभयो “निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ । 

समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय छन् । 

टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली सङ्घ सङ्गठन र कामदारसँग छलफल गरेको जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All