ताजा समाचार

पर्दाफास

बुवासँग छोराले भने - दुई लाख पठाउ नत्र मर्छु, तर बा नै पहिले मरे

२०७३ माघ १४ शुक्रबार
image not found

माघ १४ – सिद्ध बडैला २१ वर्षका भए । गएको वैशाखमा युएई गएका उनी समस्यामा परेपछि भारतमा रहेका बुवालाई फोन गरेर दुई लाख रुपैयाँ पठाउनु नत्र मर्छु भने । तर छोराले फोन गरेको भोलिपल्ट बुवा भोजराजकै निधन भयो ।  

कैलालीको चौमाला–८ वनबेहडाकी ईश्वरा र भोजराज बडैलाका दुई जना छोरा छन् । २३ र २१ वर्षका दुई छोरा नै विदेशमा छन् । जेठा दिपक मलेसिया गएको दुई वर्ष भयो । २१ वर्षका कान्छा सिद्ध पनि यही वर्ष वैशाखमा युएई गएका हुन् । 

दिपक जुन कम्पनीका लागि जानुभएको थियो त्यहाँ बस्नुभएन । त्यहाँको काम मन नपरेपछि उहाँ भागेर अर्को कम्पनीमा काम गरिरहनुभएको छ । तर अहिले काम गरिरहेको कम्पनीमा पनि कमाई राम्रो छैन । त्यसैले आमालाई पैसा पठाउन सक्नुभएको छैन । 

सिद्ध युएई जाँदा टुरिष्ट भिसामा जानुभयो । जाँदा चौमाला–८ वनबेहडाका हिम साउँदले एक लाख ३० हजार रुपैयाँ लिए । आउने जाने प्लेन टिकट आफैले लिनु पर्‍यो । त्यति बेला उहाँले एक लाख ५० हजार रुपैयाँ खर्च भयो । ओभर टाइमसहित १२ घण्टासम्म सुपरमार्केटमा चाउचाउको काम भनेर लग्यो तर मार्बल कम्पनीमा दैनिक १५ घण्टा काम गर्नुपथ्र्यो । अनि ओभर टाइमको पैसा पाउनुभएन । त्यसैले एजेण्टलाई भनेपछि सिद्धले विदेशमा भोगेको समस्या अहिले समाधान भएको छ । 

ईश्वराका श्रीमान भोजराज छोराहरु विदेश जानुभन्दा अघिदेखि नै भारत जानुभएको थियो थियो । भारतको कमाइले घर चलाउने समस्या त थियो त्यसमाथि विदेश गएका छोराहरु समस्यामा परेपछि उहाँलाई तनाव थपियो । भोजराजलाई जेठो छोराले विदेश गएर कमाउन नसकेको, अप्ठेरो काम गर्न परेको, मलेसियामा गैरकानुनी भएकोले तनाव उत्तिकै थियो । त्यही तनावको बेला सिद्धले युएई गएर दुःख पाएको खबरले झन पिरोल्यो । सिद्धले बुवालाई फोन गरी दुई लाख रुपैयाँ पठाएर नेपाल झिकाउ, नत्र म मर्छु भन्नुभयो । 

छोरालाई घर फर्काउन त पाउनुभएन छोराले त्यसो भनेको भोलीपल्ट २०७३ जेठ ११ गते उहाँको निधन भयो । छोराको पीरले सताएकी ईश्वरालाई श्रीमानको निधनले शोक थपियो ।  भारतबाट भोजराजको शव घर आयो । तर किरिया गर्न छोरा भएनन् । न दीपक आउन पाए र न त सिद्ध नै आइपुगे । त्यसैले भोजराजको किरिया उहाँका कान्छा भाइ खन्टे बडैलाले गर्नुपर्‍यो । श्रीमान् बिते, छोराहरु बुवाको किरिया गर्नसमेत आउन नपाएको तनावले ईश्वरा विक्षिप्त हुनुहुन्छ।

अहिले त बुवा बितेको पनि आठ महिना भइसक्यो । तर दिपक र सिद्ध अझै घर आउन पाएका छैनन् । ‘कान्छोको काम सजिलो भएको छ तर जेठोको समस्या उस्तै छ’ इश्वराले भन्नुभयो, ‘चार लाख रुपैयाँ ऋण छ । गाउँघर र आफन्तबाट लिएको हो । कान्छाको कमाइले छोरी पठाउने कि ऋण तिर्ने ? यहि चिन्ताले पिरोल्छ ।’

इश्वराकी छोरी सविता स्थानीय अमर माविमा कक्षा ९ मा पढ्छिन् । सरकारी विद्यालयमा भए पनि वार्षिक १० हजार रुपैयाँ विद्यालयको खर्च अनि ट्युसन पढाउँदाको महिनाको दुई हजार रुपैयाँका दरले पैसा निकाल्नुपर्छ ईश्वराले । 

तनावले विरामी नै भएपछि छिमेकीले उहाँलाई विभिन्न अस्पतालमा पनि पुर्याए । तर बीसको उन्नाइस भएन । ‘अस्पतालमा गुल्कोज चढाउँथ्यो, सुई लगाउँथ्यो अनि औषधि दिन्थ्यो । त्यसले कसरी ठिक होस त’  उहाँले विरामी हुँदाको क्षण सम्झिनुभयो । 

तर अहिले तनाव कम गर्न उहाँ सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको मनोसामाजिक परामर्श कक्षामा सहभागी हुनुभयो । समूहमा गरिने मनोसामाजिक परामर्श कक्षामा सहभागी हुँदा इश्वराले आफ्ना कुरा परामर्शकर्तासँग भन्न सक्नुभएन । ‘दुई महिनापछि बल्ल उनले आफ्नो कुरा खोल्नुभयो ’ परामर्शकर्ता धनराज विकले भन्नुहुन्छ ‘ उहाँको समस्याको समाधान उहाँकै परिवारको कथाबाट निस्कियो ।’

त्यसले तनाव केही भएपनि कम हुँदै गएको ईश्वराको भनाई छ । ‘ पहिले त घरमा आउने मान्छेलाई चिन्दिनथें अनि मानिस आएको देख्दा झिजो पनि लाग्थ्यो ।’ इश्वरा भन्नुहुन्छ ‘ तर अचेल मान्छे चिन्न थालेको छु अनि अरुसँग गफ गर्दा मन हलुका भए जस्तो हुन्छ ।’

छोराहरु घरमा नभएकै बेला श्रीमानले पनि साथ छोड्नुभयो ईश्वराको । तर पनि आफूलाई सम्हाल्दै हुनुहुन्छ । यो सानैदेखिको हण्डरले उहाँलाई सिकाएको हो । इश्वराका श्रीमान् १२ वर्षकै हुँदा उहाँका बुवाको निधन भयो । त्यो पनि रोजगारीका लागि भारत गएकै बेला । श्रीमान नहुँदा पनि उहाँकी सासुले छोरा हुर्काउनुभयो । ईश्वरालाई त्यही कुराले आत्मबल थपेको हो । भन्नुहुन्छ ‘उहाँले १२ वर्षको छोरालाई त हुर्काउनुभयो भने मेरा छोरा त हुर्कीसके नी ।’ उहाँ अहिले यही कुरा सम्झिएर दिन बिताउँदै हुनुहुन्छ । 

प्रमुख समाचार

कर्मचारी

View All