ताजा समाचार

पर्दाफास

धनगढीको महोत्सवभित्र खुलेआम मदिराको ब्यापार

२०७३ मङ्सिर २९ बुधबार
image not found

मंसिर । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भनेर धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवमा छ्याप्छ्याप्ती मदिरा बिक्री वितरण हुने गरेको छ ।

महोत्सव स्थलमा रहेका होटलका अधिकांश स्टलमा गुणस्तरहीन घरेलु तथा ब्रान्डेड मदिरा बिक्री वितरण हुने गरेको पाइएको हो । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवमा मदिरा बिक्री वितरणमा रोक लगाएको भनेपनि महोत्सवस्थलमा मदिरा कारोबार हुने गरेको छ । स्टल दिने समयमा होटलमा सम्झौता गर्दा कुनै पनि मदिराजन्य वस्तुको कारोबार गर्न नपाउने सम्झौतामा उल्लेख गरेको कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष शंकर बोगटीले बताए ।

‘हरेक दिन महोत्सव स्थलमा रहेका होटलमा छापा हानेर प्रहरीले विभिन्न ब्राण्डका मदिरा बरामद गर्दै आएको छ,’ उनले भने, ‘आयोजकले हरेक दिन बिहान मेला सुरु हुनुभन्दा पहिला हरेक होटलमा अनुगमन गर्ने गरेको भएपनि कताबाट कसरी मदिरा ल्याएर बिक्री गर्छन् भन्ने थाहा नै हुँदैन ।’ होटल सञ्चालकले पानीको बोतलमा घरेलु ब्राण्डका मदिरा भरेर महोत्सव स्थलमा रहेका होटलमा ल्याउने गरेको बोगटीले बताए ।

यति मात्र होइन, महोत्सव स्थलको मुख्य प्रवेशद्वारमा बसेका प्रहरी र सुरक्षा गार्डलाई होटल सञ्चालकले पैसा दिएर महोत्सवस्थलमा रहेका होटलमा मदिरा लैजाने गरेको उनले बताए । यसका साथै आयोजकले बारम्बार महोत्सव स्थलमा रहेका होटलमा मदिरा बिक्रीवितरण नगर्न भन्दै आएको र अटेर गरेमा प्रशासनको सहयोगमा कारबाही गर्ने अध्यक्ष बोगटीले बताए ।

महोत्सवस्थलमा मदिरा कारोबार भइरहेको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी नायव निरीक्षक बजिरसिंह धामीले समेत बताए । महोत्सवमा लुकिछिपी मदिरा बिक्रीवितरण भइरहेको उनले बताए । ‘केही पसलबाट मदिरा बरामद गरेर नष्ट समेत गरिएको छ,’ उनले भने, ‘हरेक दिन प्रहरीले मदिरा जफत गरेको भएपनि अझ पनि महोसत्वमा खुला रुपमा मदिरा बिक्रीवितरण भइरहेको देखिएको छ ।’

मदिरा खाएर विभिन्न किसिमका अनैतिक क्रियाकलाप भइरहेको महोत्सव अवलोकनका लागि आएका दर्शकहरु बताउँछन् । ‘महोत्सवभित्र मदिरा खानेको भीड बढी देखिन्छ,’ महोत्सव हेर्न चौमालाबाट आएका एक दर्शकले भने, ‘खुलेआम मदिरा बिक्री गरिँदा महोत्सवमा सर्वसाधारण दर्शकमाथि दुव्र्यवहार र झैंझगडा हुने गरेको छ ।’

प्रमुख समाचार

कर्मचारी

View All