ताजा समाचार

पर्दाफास

सुपरलिंकको ठगी प्रकरणमा गहिरो अध्ययन

२०७३ मङ्सिर १६ बिहिबार
image not found
महेन्द्रनगर, १६ मंसिर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुपरलिंक टेक्निकल कलेजको ठगी प्रकरणमा गहिरो अध्ययन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) मनोहरप्रसाद खनालले सो कलेजलाई दिएको म्यादको अन्तिम दिन बुधबार ‘थप अध्ययन गर्नका लागि’ भन्दै अन्तिम निर्णय दिन समय लाग्ने बताएका छन् । सुपरलिंकले सीटीइभीटीको सीप परीक्षण तालिमको अनुमतिलाई टी–एसएलसी र लोकसेवामा सामेल हुन सकिने शिक्षा भन्दै विद्यार्थीलाई ठगेको प्रकरण जिल्ला प्रशासन कार्यालयमा मुद्दाका रुपमा रहेको छ ।
 
यसअघि जिल्ला प्रशासन कार्यालयले इजाजत पाएको घण्टालाई दिनमा परिणत गर्न तथा सो तालिम तह–२ सरह हो भन्ने प्रमाणित गरी बुधबारसम्म पेश गर्न सुपरलिंकलाई म्याद दिएको थियो । सुपरलिंकले पेश गरेका कागजातमाथि अध्ययन गर्न प्रजिअ खनालले २ दिन लाग्ने बताएका छन् । सुपरलिंकका सञ्चालकले ठगी गरेको पाइएमा तत्काल कलेज बन्द गराई सञ्चालकलाई हिरासतमा लिने कानुनी अधिकार प्रजिअसँग रहेको छ ।
 
सुपरलिंकले सीटीइभीटीबाट पाएको ३ सय ९० घण्टा तालिम चलाउने इजाजतको आडमा विद्यार्थीबाट ७० हजार रुपैयाँसम्म असुलेर १८ महिनासम्म अलपत्र पार्ने काम गरेको विद्यार्थीले प्रजिअसमक्ष लिखित उजुरी दिएका छन् । सीटीइभीटीका अनुसार त्यो तालिम ३ महिनाको मात्रै हुन्छ । सामान्य लेखपढ भएका व्यक्तिका लागि चलाइने तालिमका लागि कम्तीमा एसएलसी उत्तीर्ण चाहिन्छ, तालिम प्राविधिक एसएलसी सरह हो र तालिम पाएपछि लोकसेवा आयोगका लागि समेत योग्य हुन्छ भन्दै सुपरलिंकका सञ्चालकले विद्यार्थीलाई ठगेको आरोप छ ।
 
सीडीओ खनालले प्रकरणबारे अध्ययनका क्रममा विद्यार्थी र शिक्षकसँग जानकारी लिएको बताए । उनले यसबारे थप अध्ययन गर्न समय चाहिएको पनि बताए । ‘विद्यार्थी र सञ्चालकलाई हामीले केही बुँदामा प्रश्न सोधेका छौं, उहाँहरूको जवाफ अध्ययन गर्दै छौं,’ उनले भने, ‘जवाफको फाइल तयार गरिसकेका छौं, त्यो फाइल अध्ययन गरिरहेका छौं ।’

प्रमुख समाचार

कर्मचारी

View All