ताजा समाचार

News

म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला मल्ल

२०७३ श्रावण २७ बिहिबार
image not found
श्रावण २७ काठमाडौं
 
फिल्म ‘कान्छी’ बनाउने गरी बीएस थापा दाइ नेपाल आउनुहुँदा म छ कक्षामा पढ्दै थिएँ । यो २०४१ सालको कुरा हो । सेनामा जागिरे बुबाले पाल्पा तानसेनको पुर्ख्यौली सम्पत्ति बेचेर डिल्लीबजारमा घर बनाउनुभएको थियो । म घरछेउकै कन्या स्कुलमा पढ्थें । जयनन्दचन्द ठाकुर दाइका कारण स्कुले जीवनमै मैले रेडियो नेपालमा प्रवेश पाएकी थिएँ, रेडियो नाटक, रुपक र बाल कार्यक्रममा बरोबर भाग लिइरहन्थें । एक दिन जयनन्द दाइले रेडियोको स्टुडियोमा सुनाउनुभयो, ‘बीएस थापा मुम्बईबाट काठमाडौं आउनुभएको छ । सोझी गाउँले फेसको हिरोइनको खोजी हुँदै रहेछ । तिम्रो अनुहार मिल्छ, जान्छ्यौ ?’
 
फिल्ममा मन त थियो, तर घरबाट पर्मिसन मिल्दैन थियो । मैले नाटक खेलेको र कविता भन्दै हिँडेको आमा रुचाउनुहुन्नथ्यो, फिल्म त निकै टाढा । दाइ (सागर शाह) लाई यो कुरा भनें । गाउँकी इनोसेन्ट केटीको भूमिका भनेपछि दाइले पनि सपोर्ट गर्नुभयो । सुरुमै भन्दा आमाले रोक्नुहुन्छ भन्ने लागेर दाइ र म सिधै फिल्मको प्रोडक्सन अफिसमा गयौं । क्षेत्रपाटीमा थियो ओम प्रोडक्सनको अफिस । त्यहाँ मुम्बईबाटै आउनुभएका टीका पहारी र बीएस दाइ हुनुहुँदो रहेछ । बीएस दाइले ‘केही अभिनय गर’ भन्नुभयो । मैले रेडियो रुपकको एउटा संवादमा अभिनय गरेर देखाइदिएँ ।
 
उहाँहरू दुवैजनाले ओके गर्नुभयो । तत्काल कन्ट्रयाक्ट पेपरमा साइन गरिहालें । घर आइपुगेपछि दाइले आमालाई सबै कुरा बताउँदै ‘यो नै फस्ट र लास्ट’ हो भन्दै सम्झाउनुभयो । आमा मुस्किलले राजी हुनुभयो । यसरी सुरु भएको थियो मेरो फिल्मी करिअर ।
 
मेरो ‘गडफादर’ भने पनि, ‘भगवान्’ भने बीएस दाइ नै हुनुहुन्थ्यो । उहाँ नहुनुभएको भए यो क्षेत्रमा मेरो अस्तित्व नै हुने थिएन । मलाई फिल्मी दुनियाँमा चिनाउनुमा उहाँको निकै ठूलो हात रह्यो । क्यामेरा फेसचाहिँ ‘कान्छी’ मेरो दोस्रो अनुभव थियो । यसअघि नै एउटा टुथपेस्टको विज्ञापनमा खेलेकी थिएँ ।
 
त्रिपुरेश्वरस्थित होटल ब्लु बर्डमा भव्य समारोहबीच ‘कान्छी’ को मुहुर्त भयो । मुम्बईबाटै आएको ठूलो टेक्निकल टिम थियो । पहिलो सुटिङ गीतबाटै भएको थियो– ‘यी ओठ तिम्रा, मुस्कान तिम्रै...’ । अहिले लाग्छ, मैले त त्यतिबेला अभिनय गरेकै रहिनछु, मात्रै बीएस दाइको फोटोकपी पो गरेछु । हरेक स्टेपमा उहाँ ‘लौ अब यसो गर’ भन्नुहुन्थ्यो, म पछ्याउँथें । हाँस्ने, रुने, अनुहारका भावदेखि सबै उहाँ सिकाउँदै जानुहुन्थ्यो । यस हिसाबले त्यो अभिनयमा पनि उहाँकै ठूलो देन रह्यो । म त अल्लारे र एकदमै इनोसेन्ट बच्ची जस्तै त थिएँ– बुद्धि नपसिसकेको । यसो गर्दा यसो हुन्छ भन्ने ज्ञानसम्म थिएन ममा ।
 
एक दिन यस्तै एउटा अल्लारेपनले दु:खद स्थिति निम्त्याइदियो । ‘कान्छी’ को सुटिङको लागि ज्ञानेश्वरमा सेट लगाइएको थियो । मलाई साँझ पाँच बजे आउनू भनिएको थियो । तिनताक सुटिङका बेला मसँग हमेसा कि आमा कि दाइ हुनुहुन्थ्यो । त्यो दिन आमा हुनुहुन्थ्यो । सहरमा त्यति बेला नाटक र टोलटोलमा भिडियो फिल्म खुब चल्तीमा थियो । मैले आमालाई भिडियो फिल्म हेर्न निकै जोड गरें । सुटिङमा केही घण्टा ढिला पुगे पनि भइहाल्छ नि भन्ने लागेको थियो । भिडियो फिल्म हेरेर सेटमा पुग्दा साँझको सात बजिसकेको थियो, त्यतिबेला मोबाइल हुने कुरै भएन । दृश्य कस्तो भने, सबैजना मेरो पर्खाइमा टाउको हात राख्दै झोक्राइरहेका थिए– कस्तो हिरोइन भन्दै । मुम्बईबाट आएको त्यत्रो प्राविधिक टिम बेकाम भएर बसेको थियो । पुग्नेबित्तिकै बीएस दाइले हकार्नुभयो, ‘एउटा फिल्म खेल्न पाको छैन, तिमीले आफूलाई सुपरस्टार ठान्यौ, हैन ?’
 
मेरो मन निकै दुख्यो । फिल्मको र टिमको वर्किङ भ्याल्यु मैले बुझिसकेकी थिइनँ, मैले त त्यही बेला कुनै पनि हालतमा फिल्म नखेल्ने घोषणा पो गर्दै फर्किन थालें । आमाले समेत ‘यस्तो गर्नु हुँदैन नानु’ भनेर फकाउनुभयो, तर मेरो मन फर्केन । सीधै बाथरुममा गएँ अनि दुई घण्टासम्म थुनिएर बसें, निस्किँदै निस्किनँ । पछि बीएस दाइले निकै सम्झाउनुभयो । मैले इनोसेन्ट पारामै ‘हुन्छ’ भनिदिएँ । त्यसपछि उहाँले कहिल्यै मलाई गाली गर्नुभएन । सायद ‘यसलाई गाली गरेर काम बन्दैन’ भन्ने ठान्नुभएको हुन सक्छ । त्यो दिन मेरै गल्ती थियो । अहिले सम्भिँmदा निकै पछुतो लाग्छ । सधैं नरम, मायालु र नरिसाउने मिजासका बीएस दाइले हकार्नुपर्ने सिचुएसन आउनु भनेको चानचुने कुरा थिएन ।
 
उहाँ टिमप्रति मायालु हुनुहुन्थ्यो । हरेक साँझ बस्ने ठाउँमै पुगेर सबैको गार्‍होसारो बुझ्नुहुन्थ्यो, केयर गर्नुहुन्थ्यो । सन्चोबिसन्चो सोध्नुहुन्थ्यो । कसैलाई टाउको मात्रै दुखेको भए पनि डाक्टर बोलाएर चेकजाँच गर्न लाउनुहुन्थ्यो । म त पूरै महारानी जस्तो नि । फलफूल र खानेकुरा कोठैमा आइपुग्थ्यो । निद्रा पुग्दैन र अनुहारको ग्लो बिग्रिन्छ भनेर मलाई छिट्टै सुत्न लगाइन्थ्यो । पुरै युनिटचाहिँ राति अबेरसम्म कुराकानी या कुनै न कुनै रमाइलो बातचितमा व्यस्त हुन्थ्यो । यस्तो बेला कहिलेकाहीँ म पनि चासो लिँदै पुगें भने टेक्निसियनहरू भन्थे, ‘हाम्रो त अनुहार देखिने हैन, तपाईंको देखिने हो । तपार्इंको अनुहार त सधैं फ्रेस हुनुपर्छ । त्यसैले टाइममा खानुपर्छ, सुत्नुपर्छ, जानुस्, निद्रा पुग्दैन ।’ यसप्रति बीएस दाइ पनि हमेसा चिन्तित बन्नुहुन्थ्यो ।
 
प्रदर्शनीमा आएपछि ‘कान्छी’ ले निकै चर्चा पायो । फिल्ममा मेरो क्यारेक्टरको नाम त ‘मीरा’ थियो तर म सबैको मुखमा ‘कान्छी’ भएँ । बीएस दाइले त कहिल्यै ‘शर्मिला’ भनेको सुनिनँ । उहाँकी म प्यारी कान्छी थिएँ । मुम्बई फर्केपछि पनि उहाँ बरोबर मलाई चिठी पठाइरहनुहुन्थ्यो, चिठीमा पनि सम्बोधन ‘कान्छी’ नै हुन्थ्यो ।
 
उहाँको अर्को फिल्म ‘मायाप्रीति’ मा पनि खेल्ने अवसर पाएँ । यो चाहिँ नचाहँदा नचाहँदै भएको थियो । यतिन्जेल म बिहे भएर शाहबाट मल्ल बनिसकेकी थिएँ । बीएस दाइ बरोबर हाम्रो घरमा पनि आइरहनुहुन्थ्यो । हिरोमा मेरा पति (कृष्ण मल्ल) र रविन्द्र खडका अनुबन्धित भइसक्नुभएको थियो । हिरोइनको खोजी हुँदै रहेछ । विभिन्न पत्रपत्रिकामा पनि ‘नायिका चाहियो’ भन्ने विज्ञापन छपाउनुभएको थियो । एक दिन बीएस दाइले नै सोध्नुभयो, ‘तिम्लाई इन्ट्रेस्ट छ ?’
 
यसरी हामी श्रीमान्–श्रीमती नै उहाँको अर्को फिल्ममा जोडियौं । फिल्ममा साइन भइसकेपछि उहाँले मुम्बई जानुपर्ने भयो । यसपटक पनि उहाँले ‘कान्छी’ सम्बोधन गरेर चिठी लेख्नुभयो । चिठी यति उत्प्रेरणात्मक हुन्थ्यो कि, उहाँ लेख्नुहुन्थ्यो, ‘अभिनय भनेको चरित्रलाई आफूमा आत्मसात् गराउनु हो । तिमी आफूलाई शर्मिला नठान । क्यारेक्टर ठान । खाँदा, सुत्दा, बस्दा पनि त्यही क्यारेक्टर फिल गर आफूलाई ।’ यस्तो हुन्थ्यो उहाँको चिठी ।हामी पनि वर्षको कम्तीमा एक पटक मुम्बई जान्थ्यौं । उहाँको फेमिलीसँग नै हाम्रो परिवारजस्तै सम्बन्ध रह्यो । ९३ वर्षको उमेरमा मंगलबार उहाँको निधन भएको सुन्नुपर्दा आफूलाई निकै दु:खी महसुस गरें । मैले आफ्नो ‘भगवान्’ गुमाएँ ।
 

प्रमुख समाचार

कर्मचारी

View All