ताजा समाचार

News

प्रतिनिधिसभामा चार विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

२०७५ माघ २३ बुधबार
image not found

काठमाडौं -

प्रनिनिधिसभाको आज बस्ने बैठकमा चार जना विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिनेछन् ।

सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरुले ८८ वटा मौखिक र २८ वटा लिखित प्रश्न दर्ता गराएका छन् ।

सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराएकी छन् ।

त्यस्तै कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छन् ।

त्यस्तै सांसदहरु दीलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल, अहतरकमाल मुसलमान, रंगमति शाही, राबहादुर बिष्ट, प्रकाश स्नेही, प्रेम सुवाललगायतले प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् ।

यसअघि माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All