ताजा समाचार

News

सांसद चौधरीको शपथपछि राजपा सरकारसँग लचक

२०७५ पौष २१ शनिबार
image not found

काठमाडौं -

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने धम्की दिँदै आफ्ना एक जना अभियुक्त सांसदलाई सपथ दिलाउन सफल राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको मागलाई अब प्रमुख एजेन्डा बनाउने भएको छ ।

कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई सपथ गराएपछि सरकारप्रति केही लचक देखिएको राजपाले अब संविधान संशोधन गर्न सरकारलाई फकाउँदै दबाब दिने भएको हो ।

दुई तिहाई बहुमत हुँदाहुँदै पनि राष्ट्रिय जनता पार्टीको समेत समर्थन कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले अभियुक्त सांसद रेशमलाल चौधरीलाई सपथ गराउने बाटो खोलिदिएपछि सरकारप्रति राजपा केही लचक देखिएको छ ।

राजपाले सरकारलाई धम्की दिँदै र फकाउँदै आफ्ना माग पूरा गर्ने बाटो अबलम्बन गरेको हो । उसले सरकारलाई दिएको समर्थन कायम राख्नु र फिर्ता लिनुको कुनै औचित्य छैन ।

तर पनि प्रधानमन्त्री ओलीले विपक्षीको संख्या बढाउन नदिने रणनीति अबलम्बन गर्दै सांसद चौधरीलाई सपथको वातावरण मिलाइदिएपछि सरकारप्रति राजपा लचक भएको हो ।

राजपाका नेता अनिलकुमार झाले सरकार गलत दिशामा गइरहे पनि चौधरीलाई सपथ गराउने वातावरण मिलाइदिएर एउटा काम भने सकारात्मक गरेको बताए ।

संविधानप्रति असन्तुष्ट रहँदै आएको राजपाले अब संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकता बनाएको छ ।

सरकारले संविधान संशोधन गर्ने आश्वासन दिएकाले त्यो पनि पूरा हुने आशा उसले गरेको छ ।

राजपाले गरेको संविधान संशोधनको माग सम्बोधन गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिए पनि के–कस्ता विषय समेट्ने भन्ने प्रष्ट भएको छैन ।

राजपाले भने संविधानको प्रस्तावनामा मै संशोधनको माग गरेको छ । प्रस्तावनामा मधेस आन्दोलन राख्नुपर्ने उसको माग छ ।

केपी ओली नेतृत्वको सरकारसँग दुई तिहाई बहुमत छ । सरकारलाई फकाएर मात्र संविधान संशोधनको माग पूरा हुने बुझेको राजपाले समर्थन कायमै राखेर आफ्ना एजेन्डा पूरा गर्ने रणनीति अबलम्बन गरेको छ ।

प्रधानमन्त्री ओलीले पनि विपक्षीको संख्या बढ्न नदिएर सरकारलाई सफल भएको भान पार्ने रणनीति बनाइरहेको कतिपयको विश्लेषण छ ।

तर राजपाले उठाउँदै आएको संविधान संशोधनको माग तत्काल पूरा गर्न प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रबाट सहज भने छैन ।

प्रमुख समाचार

कर्मचारी

View All