ताजा समाचार

News

सुदूरपश्चिममा दशैँ तिहारपछि जात्राको ताँती

२०७५ कार्तिक २७ मंगलबार
image not found

    नेपालीहरूको ठूला चाडपर्व सकिएसँगै सुदूरपश्चिमको पहाडी क्षेत्रका विभिन्न शक्तिपीठमा जात्राको मौसम शुरू भएको छ । विशेष गरेर कात्तिक महिनापछि आ–आफ्नो कुलदेवता पुज्ने चलनलाई पनि यो मौसमले साथ दिएको छ । धार्मिक परम्पराअनुसार कात्तिक शुक्ल पक्षदेखि शुरू हुने विभिन्न शक्तिपीठलगायत देवीदेवता जात्राले भक्तिभावको बेग्लै रौनकता छाएको हो । 

सुदूरपश्चिम पहाडका डोटी, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुलालगायतका केही शक्तिपीठमा कात्तिक शुक्लपक्षभर जात्रा हुने प्रचलन छ । बझाङको तल्कोट, छान्ना, बान्नी पाटादेव तथा बुँगल क्षेत्रमा विभिन्न धार्मिक शक्तिपीठमा मेला लाग्ने गरेका छन् । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ ।

शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैलपाल मन्दिर चौडमा शनिबार द्वितीया तिथिबाट जात्रा शुरू भएको हो । यी मन्दिरमा द्वितीया तिथिबाट शुरू भएको जात्रा पूर्णिमाको दिन सकिने छ । जिल्लाकै सबैभन्दा ठूलो शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । 

दार्चुलाको लेकम क्षेत्रमा दशँैतिहार भन्दा पनि जात्रालाई बढी महìव दिइने गरेको स्थानीय शिक्षक तीर्थराज विष्टले बताउनुभयो । यस्तै बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । तराईका कैलाली, कञ्चनपुर र भारतको सीमावर्ती कुमाउ गडवालदेखि दर्शनार्थी आउने भएकाले यहाँका स्थानीय बासिन्दा तयारीमा जुटेका छन् । 

शनिबार डडेल्धुराको अजयमेरु–१ स्थित पासामाडौँमा जात्रा लागेको छ भने तीन दिनपछि अमरगढीको पोखरास्थित सल्लेगडा महादेवको र सोही रात छनासमैजीको जाँत रहेको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँका अनुसार अष्टमीमा भैरवबाबा, नवमीका रात कैलपाल र दशमीका दिन कोला समैजीको जाँत रहेको छ । त्यसको पाँच दिनपछि उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कात्तिक शुक्ल पूर्णिमामा मेला लाग्ने गर्दछ । उता बैतडीका त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन नै मेला लाग्ने गर्दछ । 

परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजाआजा गर्ने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । शरद ऋतु देवीदेवताहरूको पूजाआजा गर्ने समय भएकाले सुदूरपश्चिमी पहाडका विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने लेखकको भनाइ छ । यस्तै स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण  पन्तले बताउनुभयो । सुदूरपश्चिम पहाडमा रहेका यी मन्दिरहरू धेरैजसोमा रात्रि जात्रा लाग्ने गर्दछ ।

प्रमुख समाचार

कर्मचारी

View All