ताजा समाचार

News

सीमा क्षेत्रमा संयुक्त हेल्प डेस्क

२०७५ असोज २९ सोमबार

कञ्चनपुरको (नेपाल–भारत) सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको संयुक्त हेल्प डेस्क स्थापना गरिएको छ । दसैँ, तिहारका बेला सीमा क्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप रोकथाम गर्न र सुरक्षित यात्राका लागि सीमा क्षेत्रमा संयुक्त हेल्प डेस्क स्थापना गरिएको हो ।

 कञ्चनपुरका चार स्थानमा संयुक्त हेल्प डेस्क स्थापना गरिएका छन् । दुवै देशका सीमा सुरक्षा बलका सुरक्षाकर्मी हेल्प हेस्कमा खटिएका छन् । नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतीय पक्षका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) खटिएका हुन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदकुमार श्रेष्ठले तिहारका बेला सीमा क्षेत्रमा हुने मजदुरमाथिको लुटपाट र अवैधानिक क्रियाकलाप रोक्नका लागि संयुक्त हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो । 

उहाँका अनुसार नेपाल र भारतको मुख्य नाका (गड्डाचौकी–बनबासा), (ब्रह्मदेव–टनकपुर), (दोधाराचाँदनी–लठ्याघाट) र (बेलौरी–खजुरिया) सीमा क्षेत्रमा हेल्प डेस्क राखिएका छन्  प्रायःजसो दसैँ, तिहारका बेला कामका लागि भारतका विभिन्न स्थानबाट घर फर्किने नेपाली मजदुरमाथि डकैती, लुटपाट, नसालु पदार्थ सेवन गराएर लुट्ने काम निरुत्साहित पार्दै सुरक्षित यात्राका लागि हेल्प डेस्क स्थापना गरिएको सशस्त्रका गणपति श्रेष्ठले बताउनुभयो ।

 उहाँका अनुसार हेल्प डेस्कमा भारतीय नागरिकलाई लुटपाट भएको भारतीय एसएसबी र नेपाली नागरिकलाई लुटिएको नेपाली सशस्त्र प्रहरी बलले सम्बन्धित निकायमा समन्वय गर्नेछ । सीमा क्षेत्रमा नेपाली मजदुरबाट अवैध रूपमा भाडा लिने र असुल्ने काम रोक्नसमेत हेल्प डेस्कले गर्नेछ । समस्यामा परेका पीडित व्यक्तिलाई हेल्प डेस्कमार्फत सहयोग गरिनेछ । दुवै देशका सुरक्षाकर्मीले आ–आफ्नो रजिष्ट्ररमा गुनासा दर्ता गराउने गरेका छन् । दुई साताको अवधिमा गड्डाचौकी नाकामा रहेका हेल्प डेस्कमार्फत कष्टम र सीमा क्षेत्रमा खटिएका अधिकारले पैसा माग्ने गरेको, रिक्सा, टाँगावालाले बढी भाडा लिने गरेको गुनासा आएका छन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले (नेपाल–भारत) गड्डाचौकी र बनबासा सीमा क्षेत्रमा अनुगमन गरेका छन् । शनिबार प्रहरी, सशस्त्र प्रहरीसहित बनबासा पुगेका प्रजिअ अधिकारीले भारतीय भन्सारका प्रमुख अजय कुमार सिन्हा, भारतीय सीमा सुरक्षा बल र नेपालतर्फ भन्सार र सुरक्षाकर्मीसँग भेटघाट गरेका छन् । प्रजिअ अधिकारीले दुवै देशका सीमा क्षेत्रका अधिकारीलाई भेटेर सीमा क्षेत्रमा तिहारका बेला घर फर्किने मजदुरका लागि सहज आवतजावत र चेकजाँच गर्न छलफल गरेका छन् ।

 सीमा क्षेत्रमा लुट्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने र अवैध रूपमा पैसा नअसुल्नसमेत उहाँले आग्रह गर्नुभएको छ । सीमा क्षेत्रमा जिम्मेवार अधिकारीबाटै मजदुर लुट्ने भएकाले प्रजिअ अधिकारीले गरिब, निमुखावर्गमाथि लुटपाट गर्ने काम रोक्नसमेत नेपाली सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

 सीमा क्षेत्रमा पुगेका प्रजिअ अधिकारीले घर फर्किने नेपालीलाई भाडा लिएको वा लुटपाट गरेको विषय सोध्नुभएको थियो । यात्रुलाई सचेतना गराउनुपर्नेमा प्रजिअ अधिकारीले जोड दिनुभयो । हरेक जसो दसैँ, तिहारका बेला दुवै देशका सीमा क्षेत्रमा खटिएका अधिकारी र विचौलियाबाट मजदुर कुनै न कुनै बहानामा लुटपाटको सिकार बन्दै आएका छन् । पटक–पटक दुवै देशका अधिकारीबीच मजदुरको विषयमा छलफल, सहमति, वार्ता हुँदा पनि  सीमा क्षेत्रमा मजदुरमाथि हुने लुटपाट र दुव्र्यवहार अझै रोकिएको छैन् ।

प्रमुख समाचार

कर्मचारी

View All