ताजा समाचार

News

थारू समुदायमा सखियाको रौनक

२०७५ असोज २९ सोमबार
image not found

दसैँको चहलपहलसँगै पश्चिम तराईका थारू बस्तीमा सखिया नाचले रौनकता थपेको छ । आजकल थारू गाउँमा हरेक साँझ सखिया नाच्ने गरिन्छ । गाउँका युवतीहरू जम्मा भई बड्घर (मुखिया)को आँगनमा जम्मा भई पहिलो दिन फर्सी वा लौकाको फूल लिई नाच्ने त्यसपछि लहराको धेरै लरोहरू बनाएर चौँरी नाच नाच्ने गरिन्छ । 

जब दसैँ आउँछ द्वितीया हेरेर मञ्जिरा लिएर सखिया नाच्ने परम्परा रहेको छ । यस दिनलाई सखिया नाचको विशेष दिनका रूपमा लिईन्छ । सेतो गुन्यू, कालो चोली, रातो चप्पल, कालो झोबन्ना, टिकलीले सजिएर गटैया, टौक, कन्सेरी हुमेल, टरिया, बिजली बाला, मगौरीलगायतका गहनाले सजिएर आफ्नो गाउँका साथै छिमेकी गाउँसम्म नाच्ने परम्परा रहेको छ । 

थारू समुदायले सखिया नाच दसैँ, तिहारमा नाचेर थप मनोरञ्जन लिने परम्परा अनुसार अहिले गाउँगाउँमा त्यसैको तयारी भइरहेकाले मादलको अवाजले बस्ती गुञ्जायमान भएका छन् । धनगढी उपमहानगरपालिका–१६ स्थित भादा थारू होमस्टेमा केही दिन यतादेखि सखियाको रौनक झन् थपिएको छ ।

 थारू समुदायमा सखिया प्रत्येक चाडपर्व, मेला, महोत्सवमा सामान्य जस्तै छ, आजभोलि बाह्रैमास नाचिन्छ तर दसैँमा विशेष रूपमा नाचिने भएकोले रिहर्सल भइरहेको स्थानीय गौरी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, सोही कारण मादलको तालले गाउँघरमा रौनक बढेको छ । सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गरेको उहाँले बताउनुभयो तर कुनै–कुनै गाउँमा महिलाले पनि मादल बजाएर युवतीलाई नचाउने गरेको उहाँको भनाइ छ ।

सखिया नाचको थारू समुदायमा आफनै ऐतिहासिक विशेषता रहिआएको छ । चाहे यसको सुरुवाती अवस्था होस् चाहे पहिरन या नाच्ने विधि । गाउँको अगुवा भल्मन्साको घरमा एक महिनासम्म नाचिने सखिया नाच दसैँको टीकाको दिन भने घरघरमा गएर नाच्ने गरिन्छ । यसले पर्वमा छुट्टै रौनक थप्ने गरेको थारू बुद्धिजीवी प्रभातकुमार चौधरीले बताउनुभयो । सबैको लोकप्रिय सखिया नाच थारू समुदायको मौलिक पहिचान रहेकाले यसलाई निरन्तर जीवन्त राख्न आवश्यक रहेकोमा उहाँको जोड छ ।

प्रमुख समाचार

कर्मचारी

View All