ताजा समाचार

News

घाममा बसेर काम गर्नेलाई मोतिविन्दुको समस्या बढी

२०७५ असोज २२ सोमबार
image not found

सिन्धुली, नेपालीहरुको आँखामा मोतिविन्दुको समस्या बढ्दै गएको छ । घाममा बसेर काम गर्नेलाई मोतिविन्दुको समस्या बढी हुने गरेको छ ।

नेपालका ८० प्रतिशत ज्येष्ठ नागरिक यसबाट प्रभावित भएको अनुमान छ ।

ओखलढुंगा, सिस्नेरीकी ६९ वर्षीया कमसरी राईलाई तीन वर्षअघिदेखि आँखामा समस्या देखियो । विस्तारै आँखा नदेख्ने भएपछि जीवनयापन गर्न उनलाई समस्या हुँदै गयो ।

तर, गत शुक्रबार आँखाको शल्यक्रिया गरेपछि उनले नयाँ जीवन पाएको महसुस गरिन् ।

काठमाडौंको तीलगंगा आँखा अस्पतालले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको मोतिविन्दुको निःशुल्क शल्यक्रियाबाट कमसरीले गुमेको आँखाको ज्योति पाएकी हुन् ।

कमसरीजस्तै दुई वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका धनुषाका ६५ वर्षीय मनोजकुमार यादव पनि शल्यक्रियापछि आँखा देख्नसक्ने भएका छन् ।

सुरक्षा गार्डको काम गर्ने मनोज अब भने काम गरेरै खानसक्ने अवस्थामा पुगेको भन्दै खुसी भएका छन् ।

तीलगंगा अस्पतालले गरेको दुईदिने निःशुल्क शिविरमा मोतिविन्दुको शल्यक्रियाबाट १३२ जनाले पुनः आँखाको ज्योति पाएका छन् ।

मोतिविन्दुको समस्या ५० वर्षमाथिका ८० प्रतिशतमा देखिने गरेको छ । आँखाको नानी वरपर देखिने सेतो बादल अथवा सेतो धब्बालाई मोतिविन्दु भनिन्छ ।

सामान्यतयाः बढ्दो उमेरसँगै आँखाका नानी कम लचिलो, कम पारदर्शी तथा मोटो हुने गर्छ । जसले गर्दा लेन्समा भएका प्रोटिन एकै ठाउँमा बस्नाले आँखाको नानी वरपरका भागमा बादल लाग्ने गर्छ ।

विस्तारै आँखा देख्न कम हुँदै जाने नानीरोग विशेषज्ञ डा. रचना सिंहले जानकारी दिइन् ।

एकपटक मोतिविन्दुको शल्यक्रिया गरी नयाँ लेन्स राखेपछि जीवनभर आँखा देख्न सकिन्छ । तर, मोतिविन्दु भएको लामो समयसम्म शल्यक्रिया नगर्ने हो भने जलविन्दुको समस्या देखिन्छ थाल्छ र आँखाको ज्योति फर्काउन सकिँदैन ।

बच्चा गर्भमा रहेको तीन महिनाभित्र आमालाई कुनै रोग देखियो भने शिशुलाई पनि मोतिविन्दु हुने सम्भावना रहने डा. सिंहले बताइन् ।

घाममा काम गर्ने मानिसमा यो समस्या बढी देखिने भएकाले उमेर बढ्दै गएपछि बाहिर हिँड्दा चस्मा लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All