ताजा समाचार

News

बलात्कारबाट बच्न महिलालाई आत्मरक्षा सीप सिकाइने

२०७५ असोज ६ शनिबार

६ असोज - 

बलात्कार, हत्या जस्ता जघन्य अपराधको श्रृङ्खला बढ्दै गएपछि महिलालाई आत्म रक्षा सम्बन्धी सीप सिकाइने भएको छ । 
    

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले प्रदेश नम्बर ७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो । असोज २० गतेबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गरेर एक हजार जना किशोरी तथा महिलालाई सीप प्रदान गरिने शनिवार यहाँ पत्रकार सम्मेलन गरी जनाइएको छ । 
    

धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद् र क्रियाशिल महिला पत्रकारको संयुक्त समन्वयमा एक हप्तासम्म शिविर सञ्चालन गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । 
    

धनगढीको रङ्गशालामा हुने उक्त शिविरले महिलामा आत्मरक्षा सीप विकासको साथै आत्मबल बढाउने ओरेक नेपाल कैलालीका कार्यक्रम संयोजक बिनु रानाले बताइन् । ‘पछिल्लो समय बलात्कार लगायत महिला हिंसा धेरै बढेको छ’, उनले भनिन्–‘त्यसैले अत्यन्त फलदायी हुने विश्वासका साथ यस्तो शिविर आयोजनाको जमर्को गरिएको हो । यसमा धेरैभन्दा धेरैको सहभागिताको अपेक्षा गर्दछु ।’
    

पछिल्लो समय कैलाली, कञ्चनपुरमा महिलाको बलात्कारपछि हत्या गर्नेक्रम पनि बढेको छ । असारदेखि हालसम्म कञ्चनपुरको निर्मला पन्त, कविता बिष्ट र कैलालीको माया विक गरी तीन जनाको बलात्कारपछि हत्या भएको छ । बलात्कारमात्रै गरिएको घटनापनि दिनानुदिन सार्वजनिक भइरहेका छन् । एक वर्षमा मुलुकभरी एक हजार १४ वटा बलात्कारको घटना ओरेकमा दर्ता हुन आएको संयोजक रानाले जानकारी दिइन् ।  
    

महिलाहरु असुरक्षित भइरहेको बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको कमैया प्रथा उन्मूलन समाज कैलालीका सचिव बसन्ती चौधरीले बताइन् । ‘घटनापछि न्यायको लागि भौतारिनुभन्दा घटना हुन नदिने उपाय अपनाउनु नै उत्तम हो’, उनले भनिन्–‘यसले महिलालाई हिंसाबाट कसरी बँच्ने भन्ने सीप प्राप्त हुनेछ ।’ 
    

देशव्यापी रुपमा दिनहुँ भइरहेको सबै खाले महिला हिंसा तथा आपराधिक घटनाहरुले समाजमा विकृति बढाउनुका साथै महिला तथा बालबालिकामा त्रास उत्पन्न भइरहेको जनाइएको छ । यस्ता त्रासलाई केहिहद्सम्म भए पनि कम गर्न आत्मरक्षा अभियानले सहयोग पु¥याउने आयोजकले विश्वास व्यक्त गरेको छ । 
    

आत्मरक्षा शिविरमार्फत महिला तथा बालबालिकालाहरुलाई कसरी आफ्नो आत्मसुरक्षा गर्ने भन्नेबारे सीप सिकाउने, सुरक्षामा उनीहरुको आत्मनिर्भरता, आत्मविश्वास बढाउने र बलात्कार घटना न्यूनीकरणमा सहयोग पुग्ने राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए ।  
    

‘हामीले पुरुषसंग लड्नको लागि यो सीप सिकाउने होइन’, उनले भने–‘समस्या आइपरेको बेलामा महिलालाई आफै बच्नका लागि सीप प्रदान गर्ने हो ।’ उनले प्रयोगात्मक अभ्यासमार्फत नै महिलाहरुलाई दक्ष बनाउने उल्लेख गरे ।  
    

शिविरमा महिलालाई मार्शल आर्ट सिकाउनुका साथै पुरुषको शरीरको कुन भागमा प्रहार गर्दा वा आक्रमण गर्दा बच्न सकिने भन्ने सीप सिकाउने चन्दले बताए । ‘यसले महिलामा आत्मविश्वास समेत बढ्नेछ’, उनले भने । 
    

प्रदेश नम्बर ७ को धनगढीबाट सुरुवात गरिने यो अभियानलाई मुलुकको सबै प्रदेशमा सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । पहिलो पटक एक सय जना प्रशिक्षक उत्पादन गर्ने र उत्पादित प्रशिक्षकले हरेक स्थानीय तहमा गएर आफूले सिकेको सीप अरुलाई सिकाउने महासचिव चन्दले बताए । ‘यसका लागि हरेक स्थानीय तहसंग कुराकानी समेत भइसकेको छ’, उनले भने । 
    

यो प्रदेशबाट सुरु हुने महिला आत्मरक्षा सम्बन्धी अभियानले विभिन्न सरोकारवाला निकायलाई महिला अधिकार र हिंसा अन्त्यको विषयमा सम्वेदनशील र जिम्मेवार बनाउने आयोजकले अपेक्षा गरेको छ । अभियानमार्फत महिलालाई ‘किक’ र ‘पञ्च’ प्रहार गर्न सिकाउनुका साथै उनीहरुलाई आत्मविश्वासी बनाउने बताइएको छ । 
    

वर्तमान परिस्थिति अनुसार आवश्यकता बोध भएर किशोरीहरुलाई आत्मरक्षाको लागि सीप सिकाउने अभियान धेरै महत्वपूर्ण हुने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ का अध्यक्ष अर्जु्न शाहले बताए । ‘यो अभियानले मुलुकको अन्य क्षेत्रमा समेत सकारात्मक सन्देश जानेछ’, उनले भने । 

प्रमुख समाचार

कर्मचारी

View All