ताजा समाचार

News

थारु अत्वारी पर्व र यसको महत्व

२०७५ भदौ ३१ आइतबार
image not found

लक्की चौधरी -


थारु ‘अत्वारी’ पर्व ‘आइतबारी’बाट अपभ्रंश हुँदै अतवारी अर्थात् ‘अत्वारी’ भयो । आइतबार पर्ने पर्व भएकाले त्यस्तो नाम जुरेको हो । नेपाली भित्तेपात्रोले यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको कुनै निश्चित तिथि मिति छैन । न त गैरथारु समुदायले यस पर्वबारे कुनै चासो नै राख्ने गर्छन् ।

कारण, यो पर्व नितान्त थारु समुदायको मौलिक पहिचान बोकेको पर्व हो । हरेक वर्ष भाद्र महिनामा पर्ने यस पर्व कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार पर्छ । यो पर्वको तिथि त्यही हो । यस वर्ष भदौ ३१ गते आइतबारको दिन अत्वारी पर्व परेको छ ।

पश्चिम तराईका थारुबहुल जिल्लामा यसको तयारी धुमधामकासाथ गरिएको छ । थारु पुरुषहरुले वर्षको एकदिन व्रत बस्छन् । त्यो पर्व नै अत्वारी हो । थारु महिलाहरुले कृष्णजन्माष्टमी अर्थात् अष्टिम्की (थारु भाषामा) मा व्रत बस्छन् । तीज पर्व थारु समुदायको परम्परागत पर्व होइन, जहाँ नेपाली महिलाहरुले व्रत बसी परिवारका सदस्यहरुको दीर्घायुको कामना गर्दै मनाउँछन् ।

थारु पुरुषहरुले अत्वारीमा र महिलाहरु अष्टिम्कीमा निराहर व्रत बसी परिवारका सदस्यको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् । तर पूर्वीया थारुले अत्वारी पर्व मनाउँदैनन् । उनीहरु त्यही प्रकृतिको पर्व ‘रैव’ मनाउँछन् । खासगरी पश्चिम नेपालका सुर्खेत, दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर गरी छ जिल्लाका ९ लाख १० हजार ९७० (जनगणना २०६८) जनसंख्याका थारुले अत्वारी पर्व मान्ने गर्छन् । 

थारु उत्पत्तिबारे एउटा बडो रोचक मिथक (किंवदन्ती) छ । थारु समुदाय शिव भगवानका उपासक मानिन्छन् । यसो भनिरहँदा थारु समुदाय हिन्दू धर्मावलम्बी हुन् भन्ने अर्थ लाग्छ । थारुका देवीदेवता र उच्चारण गरिने थारु मन्त्रले पनि थारुहरु हिन्दूवादी हुन् भन्ने स्पष्ट संकेत गर्छ ।

तर आजभोलि केही  अगुवाहरुले थारु समुदाय हिन्दू नभएर बौद्ध धर्मालम्बी हुन् भन्ने तर्क गर्छन् । गौतम बुद्ध पनि थारुकै सन्तान थिए भन्ने गर्छन् । यहाँ पेश हुने मिथक पनि हिन्दूधर्मसँग मेल खान्छ ।  

‘मानवको उत्पत्ति हुनुअघि पार्वतिलाई गुडिया खेलाउने निकै सोख थियो । एकदिन पार्वतिले दुईवटा गुडियासँग खेलिरहेकाबेला शिवको आगमन भयो । पार्वतिले लुकिछिपी गुडियासँग खेल्थिन् । शिवलाई देखेपछि उनी लजाइन् र गुडिया कपडामा लुकाइन् । शिव निकै भोकाएका थिए ।

पार्वतिलाई खाना पस्कन  भने । पार्वतिले थालमा खाना पस्केर शिवलाई दिनेबेलामा लुकाइएका दुईवटा गुडिया अचानक शिवको थालमा खसेछन् । महादेव आश्चर्यमा परे । पार्वतिले विनम्रपूर्वक महादेवसँग ती गुडियालाई मानव बनाइदिन आग्रह गरिन् । महादेवले पार्वतिलाई औधि माया गर्थे ।

उनको आग्रहलाई अस्वीकार गर्न नसकेर भगवान शिवले दुईटै गुडियालाई पुरुष र महिलाकोरुपमा मानव बनाइदिए । ती दुवै गुडिया थालमा खसेकाले ‘थारु जाति’को नाम दिए । यो मिथकले थारु जातिको उत्पत्ति र आदिमबासीको अर्थ दिन्छ । यसमा सत्यता छ, छैन यसै भन्न सकिदैन । 

थारु समुदाय आदिम समुदाय हो भनिन्छ । तर थारुले मनाउने यस अत्वारी पर्वको शुरुवात कहिलेदेखि भयो, अझ कुनै प्रमाण पुष्टि छैन । ‘यो त परापूर्वकालदेखि चल्दै आएको पर्व हो’ भन्नुबाहेक अर्थोक गहकिलो तर्क कसैसँग छैन ।

परम्परागतरुपमा मनाइँदै आएको अत्वारी पर्वप्रतिको विश्वास र यसको गरिमामा भने अवश्य आँच पुगेको छ । जसरी थारुका पूर्खाहरुले यस पर्वलाई जिवन्त राखेर मनाउँथे, आजका युवाहरुले मनाएको देखिदैन । यसको पछाडि अनेक कारण हुन सक्लान् । पहिलो कारण, पूर्खाकोजस्तो धर्म र परम्परामा विश्वास नभएर हुनसक्ला । दोस्रो, पुर्खाकाजस्तो हातमा सीप र जाँगर नभएर हुनसक्ला ।

तेस्रो, थारु परम्पराप्रति वितृष्णा बढेर हुन सक्ला । चौथो, यसको महत्व नबुझेर हुन सक्ला । पाँचौ, थारु संस्कार र संस्कृतिप्रति विचलन आएर हुनसक्ला । छैठौं, भोकै व्रत बस्न नसकेर होला । सातौं, पर्व मनाउने तौर तरिका नजानेर हुनसक्ला । आदि आदि ।।

अत्वारी पर्वमा थारुहरुले व्रत बसेर कुन्तीपुत्र भीमसेनको उपासना गर्छन् । अर्थात् महाभारतका एक बलसाली पात्र मानिने वायुपुत्र भीमको पूजापाठ गरी अत्वारी मनाइने गर्छन् । सँगसँगै यस पर्वमा थारुले सूर्य भगवानको पनि उसापना गर्छन् । यी दुवै पात्रको सम्बन्ध भगवान शिव, विष्णु, राम, कष्ण, हनुमानसँग छ, त्यसैले पनि थारु हिन्दू हुन् भन्ने तर्क गर्न सकिएला ।

महाभारत कथाअनुसार भीमको प्रत्यक्ष सम्बन्ध कृष्णसँग देखिन्छ । पाँच पाण्डुलाई भगवान कृष्णले महाभारत कथामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका थिए । अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय प्राप्त गर्न कृष्ण भगवानले तिनै पाँच पाण्डुलाई साथ दिएका थिए । त्यसैले भीम कुनै साधारण व्यक्तित्व थिएनन् ।

थारु समुदायले भीमलाई कृष्ण भगवानकै रुप मानेर पूजापाठ गर्ने गर्छन् । कृषि पेशामा विश्वास गर्ने थारु समुदायले भीमको पूजापाठ गर्नाले भीमसेनको जस्तो बलशाली, ताकतवर र कर्तव्यनिष्ठ हुने वर माग्छन् । 


पुनर्मिलनको अवसरः
    अत्वारी पर्वको एउटा खास विशेषता छ । सबै चाडपर्वमा विवाहित चेलीबेटीलाई माइतीमा ल्याएर भोजभतेर गराइन्छ । रामरमाइलो गरेर स्वागत गरिन्छ । तर अत्वारी पर्वमा विवाहित चेलीलाई माइतीमा ल्याइँदैन । गक्षअनुसारको उपहार चेलीकै घरमै पु¥याइन्छ ।

थारु पुरुषले व्रत बसिसकेपछि खाने परिकारको एक भाग अग्रआसनमा राख्छन् । एक भाग खान्छन् । त्यही अग्रभागमा छुट्याइएको खानेकुरा नै विवाहित चेलीबेटीलाई अग्रासन (कोसेली) कोरुपमा चेलीबेटीलाई पु¥याइन्छ ।

सरसर्ती हेर्दा खानेकुराको एक भाग भन्ने देखिन्छ । तर यसको अर्थ खानेकुरामै सीमित छैन । यसको गहिरो अर्थ छ । थारुहरु संयुक्त परिवारमा, एउटै घरमा सयौं सदस्य सँगै बस्छन् । बस्न रुचाउँछन् । 

एउटा बुहारीको माइती पक्षबाट अग्रासन (कोसेली) घरमा पु¥याउन आउँदा अर्को बुहारीका माइती पक्षकाले पु¥याएनन् भने घरमा त्यसको गलत अर्थ लगाइन्छ । अर्थात् गाउँमा भएका विवाहित चेलीका माइती पक्षका सदस्यले अग्रासन पु¥याउन आउँदा एक वा दुई चेलीका माइती पक्षकाले अग्रासन पु¥याउन नआउँदा त्यसलाई राम्रो मानिदैन ।

अर्थात् अग्रासनसँग विवाहित चेली र माइतीपक्षको सम्बन्धको विषय राम्रोसँग गाँसिएको हुन्छ । घरका सबै बुहारीका माइतीबाट अग्रासन आउँदा कुनै एक बुहारीको माइतीपक्षको नआउँदा खल्लो महशुस गरिन्छ ।

चेली र माइती पक्षकाबीचको सम्बन्धमा दरार आएको हो कि ! सबैबाट अड्कल काटिन्छ । त्यसैले विवाहित चेलीलाई अग्रासन अनिवार्य हुन्छ । समाजमा चेली र माइतीपक्षको सुसम्बन्ध यसमा जोडिएको छ । विवाहित चेली वर्षौदेखि माइती आउन नपाएको अवस्थामा अत्वारी पर्वमा उपहार लिएर चेलीको घरमा माइतीका कुनै सदस्य जाँदा विवाहित चेलीलाई निकै खुशी अनुभूति हुनेगर्छ ।

माइतीलाई स्वागत गर्न चेली आतुर हुन्छिन् । त्यो दिन विहानैदेखि माइतीका सदस्यको बाटो हेरेर चेलीहरु बस्ने गर्छन् । आफ्नो वर्षदिनको सुख, दुःख, प्रगति, पीडा माइतीसँग साट्ने अवसर पनि चेलीले पाउँछिन् । माइती र विवाहित चेलीबीचको पुनर्मिलनको रुपमा यस पर्वलाई हेर्ने गरिन्छ । 

समान तौरतरिकाः
    थारु समुदायमा सबै समान परिवारका सदस्य छैनन् । कोही सामान्य परिवारका छन् । कोही मध्यम, कोही एकदम गरिब त कोही एकदम धनी परिवार छन् । तर चाडपर्व मनाउने तौरतरिका र अग्रासनको प्रकृति समान छ । चाहे त्यो धेरै धनी होस् कि गरिब ।

महलमा बस्नेले पनि त्यही खानेकुराकै केसेली (अग्रासन) लिएर चेलीबेटीको घरमा पुग्छ । गरिबले पनि त्यही प्रकृतिको उपहार लिएर चेलीलाई दिन्छ । हुनेहरुले गक्षअनुसार आफ्नो चेलीलाई नगद पनि प्रदान गर्छन् । तर अग्रासनलाई पैसासँग दाँज्ने गरिदैन ।

सबैभन्दा प्रमुख विषय नै विवाहित चेली र माइतीपक्षको भेटघाट र सत्कार सम्मान नै हो । अत्वारी पर्वले एकअर्का प्रति गरिने सम्मान र सत्कारलाई महत्व दिन्छ । यदि कोही सम्पत्तिवाला भएरै कुनै चेलीको सम्मानमा अग्रासन नदिएर ठेस पु¥याउँछ भने उसको सम्बन्ध नै चेलीसँग सदाकालागि समाप्त हुन्छ ।

सरकारले पत्याएनः
    अत्वारी पर्व आएसँगै हरेक वर्ष थारु अगुवाहरुले सो पर्वमा कम्तिमा एक दिन भएपनि सार्वजनिक विदाको माग गर्दै स्थानीय प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गर्छन् । तर संघीय सरकारले हालसम्म सुनुवाई गरेको छैन । यसपालीदेखि थारुको मागलाई सम्बोधन गर्न प्रदेश ७ सरकारले सो प्रदेशमा विदा दिएर थारुप्रति सदासयता देखाएको छ ।

यसलाई थारु समुदायले सकारात्मकरुपमा लिएका छन् । देश संघीयतामा गएपछि प्रदेशस्तरमा भएपनि थारुबहुल जिल्लामा सार्वजनिक विदाको माग थारु समुदायको थियो । यसवर्ष पनि प्रदेश ५ र प्रदेश ७ मा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर विदाको माग थारु अगुवाहरुले गरेका थिए । तर सरकारले यसैवर्ष धेरै सार्वजनिक विदाको कटौती गरेको छ ।

केन्द्रस्तरमा सार्वज्निक विदाको सम्भावना नरहे पनि थारुबहुल प्रदेशमा त्यो व्यवस्था गर्नु राम्रो हो । अत्वारी पर्वको समाचार मिडियामा खासै कभरेज गरेको देखिदैन । जसकाकारण थारु अत्वारी पर्व नै ओझेलमा परेको महुशस थारु अगुवाहरुले गर्ने गरेका छन् । 

प्रमुख समाचार

कर्मचारी

View All