ताजा समाचार

News

अटलको अटलताले बनाएको पहिचान

२०७५ भदौ २९ शुक्रबार

डिबी सुनार

‘मैले जहिले पनि बाचा बोकेर आउनुको साटो केहि गर्ने दृढ संकल्प बोकेर आएको छु ।’ यो भनाई जति प्रेरक छ त्यति नै मोहक पनि छ । अक्सर नेताले सपना धेरै बाँड्ने तर ब्यवहारमा भने लागु नगर्ने प्रवृति हाबी हुँदा राजनीति गर्ने नेताहरु प्रति आम मानिसको श्रद्दा घटेर गएको छ । राजनीतिमा आवद्ध भएर देशको सेवा गर्छु र समाजमा उच्च प्रतिष्ठा बनाउछु भनेर लागेको मानिसले राजनीति जनताको लागि होइन आफू अनुकुल प्रयोग गर्ने साधन बनाउने संस्कार विश्व राजनीतिक परिबेशमा देखिएको छ ।

यी सम्पूर्ण विशेषण भन्दा भिन्नै अनि बिशिष्ट पहिचान बनाउँदै राजनेताको रुपमा चित्रण गर्ने गर्दछन, अटल बिहारी बाजपयीलाई भारतमा । राजनीति देश र जनताको उन्नति र सर्बोपरि बिकासको लागि समर्पण गर्ने उच्च सेवा हो भन्ने भावनालाई जहिले पनि केन्द्रबिन्दुमा राखेर राजनीतिमा एउटा भिन्नै अटल छबि बनाउनु भएका बाजपेयीले सक्रिय राजनीति गर्दा विश्व जगतको ध्यान आफु तिर खिचेका थिए । त्यसैले,  उनलाई भारत सरकारले १९९२  पद्मा विभूषणले विभूषित गर्नाको साथै भारतमा सबैभन्दा उच्च कोटिको पदक र सम्मान ‘भारत रत्न’ को काबिल ठानेर भारत सरकारले सन् २०१५ यो उपाधि प्रदान गरेको थियो । चतुर राजनेता भएर नै उनको शासनकालमा भारतले उल्लेखनीय फड्को मारेको थियो । खास गरिकन आर्थिक बिकास, कुटनीति र अन्तराष्ट्रिय सम्बन्धको सवालमा । यति खिताबले पनि उनको योगदानको कदर कम हुन्छ भन्दै भारत सरकारले उनी जन्मेको दिन डिसेम्बर महिनाको २४ तारिकलाई ‘सु-शासन दिवस’ घोषणा गरेको छ ।

सबल र कुशल नेतृत्व अनि कुटनीतिज्ञ मात्रै भनेर बाजपेयीको परिचय दिंदा अन्याय हुन्छ । बहुआयामिक प्रतिभाका धनी बाजपेयी कुशल श्रष्टा हुनुका साथै कबिता र गजल मार्फत समाजको वास्तबिकतालाई उतार्दै चेतना भर्ने खुबी पनि राख्दथे । कबिता बाचन गरेर सबैको दिल जित्ने प्रयास गर्दथे । सरल जीवनको पक्षपाति भएकोले उनको अगाडी त्यति सहजै कसैले औंला ठड्याउने हिम्मत राख्दैनथे । उनको विनीत स्वभाव सबैका निम्ति प्रेरणाको श्रोत थियो । त्यसैले उनी कुनै खास व्यक्ति र आम नागरिक बीच कुनै दुरी नराखी समदुरीको भाब कायम राख्दथे । सबैलाई समान रुपमा सम्मान गर्ने उनको बानीले गर्दा प्रतिपक्षीसंग पनि कुनै संकोचन राख्दैनथे ।

संसदमा प्रतिपक्षको मतलाई पनि उत्तिकै सम्मान गर्दै कहिले पनि प्रतिपक्षीलाई गलत देखाउन को निम्ति कुशब्द को प्रयोग गर्दैनथे । कसैलाई धर्म, भाषा, संस्कृति, बर्ण र जातको आधारमा भेदभाव गर्दैनथे । उनले भनेको एकदमै चर्चित भनाईले उनको समाज र राष्ट्र प्रतिको उत्तरदायित्वको बोध गराउदथ्यो । ‘यदि भारत धर्म निरपक्ष राष्ट्र नभएको भए भारत देश भारत हुदैनथ्यो’ उनको यो भनाई नै सबै नागरिकप्रति सम्मान थियो भनेर बुझ्न कसैलाई कठिन हुँदैन । उनि समाबेशी विकासको अवधारणामा विश्वास गर्दथे र सबैलाई साथमा लिएर देशको बिकास गर्न चाहाने राजनेताको रुपमा आफ्नो परिचय बनाएका थिए । उनको देहावसान केवल देहत्यागको एक प्राकृतिक नियमको दायरा भित्र मात्र ब्याख्या गर्न त्यति बाञ्छानिय हुँदैन । उनको मृत्यु भारतको राजनीतिमा एउटा युगको अन्त्य भएको छ । एउटा सपनाको अवशान भएको छ । एउटा सोचको अन्त्य भएको छ र एउटा प्रेरकको अन्त्य भएको छ । यो क्षति भारत लगायत छिमेकी मुलुकको लागि अपुरणिय क्षति भएको छ ।

१६ मे १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बन्नु भएको थियो । त्यस पछि १९९८ देखि १९९९ मा १३ महिना दोश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्नु भयो र १९९९ देखि २००४ सम्म पूर्ण कार्यकाल सेवक प्रधानमन्त्री बनेर देश र जनताको प्रधानमनत्रीको रुपमा आफ्नो परिचय बनाउनु भएको थियो । बाजपेयी पहिलो गैर कांग्रेसी प्रधानमन्त्री हुन जसले पूर्ण कार्यकालको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नु भएको थियो । आधुनिक भारतको निर्माणमा नेहरुले जग बसालेका थिए भने बाजपेयीले ‘सुपरस्ट्रक्चर’ निर्माण गरेका थिए । उनको यो महान कार्य र दुरदर्शिताले गर्दा सबै भन्दा सफल प्रधानमन्त्रीको उपमा दिन अहिलेका भारतका राजनीतिक विश्लेषकहरु कत्ति पनि कन्जुस गर्दैनन् । उनले बनाएको अटल छापले उनि सफल प्रधानमन्त्रीको सुचिमा जहिले पनि अंकित हुनेछन भन्ने आधारहरु प्रशस्त मात्रामा छन् ।

आधारभूत मुद्दाको पक्षपाती 

गाँस , बास, कपासका अलावा शिक्षा, स्वास्थ, बिजुली, सडक र पानी आधारभूत मुद्दा अन्तर्गत पर्दछन । जुन बिषय बिकासको मोडेल बनाउदा जहिले पनि बाजपेयीको प्राथमिकतामा पर्दथे । जब प्रत्येक भारतीय यी बस्तुको सहज पहुँचमा हुन्छ अनि मात्र पूर्ण भारतको विकासको परिकल्पना गर्न सकिन्छ भन्ने सोचाईबाट प्रेरित थिए बाजपेयी । शिक्षा एउटा यस्तो अस्त्र हो जसले कुनै पनि अनिर्णित बिषयहरुलाई निर्णायक पथमा  डोर्याउछ भन्ने बुझाइलाई आत्मासाथ गर्दै उनले सन् २००१ मा प्रधानमन्त्री भएको बेला ‘सर्व शिक्षा अभियानु’ कार्यक्रम लागु गरेका थिए । विकसित भारतको परिकल्पना भनेको शहर देखि गाउँ सम्मका प्रत्येक नागरिक शिक्षाको पहुँचमा हुनुपर्छ भन्ने थियो ।

त्यसैले उनले यो कार्यक्रम मार्फत देशभरि शिक्षाको अभियान नै चलाएका थिए । यो अभियान अन्तर्गत ६ देखि १४ बर्षका हरेक बालकहरुलाई अनिबार्य निःशुल्क शिक्षाको प्रबन्ध गरे । यो प्रबन्धले भारतका अधिकांश बच्चाहरु लाभान्भित भए जसले गर्दा स्कुलमा भर्नाको अनुपातले निकै ठुलो हिस्सा ओगट्यो । सन् १९८५ सम्ममा प्राथमिक तहमा २५ मिलियन बच्चाहरु पढ्ने सुबिधाबाट बन्चित थिए र सन् २००१ सालमा लागु भएको यो अभियानले २००६ साल सम्म आउँदा यो संख्या अप्रत्याशित रुपमा घटेर जम्मा चार मिलियनमा झर्यो । पाँच  सालको छोटो अवधिमा यो संख्या यति धेरै तल झर्नु भनेको परिकल्पना भन्दा बाहिरको कुरा थियो । बाजपयी सरकारले ८६ औ संबिधान संशोधन गर्दै निशुल्क शिक्षामा हरेक बच्चाको पहुच भनेर पारित गर्यो जो शिक्षाको सवालमा कोशेढुंगा साबित भयो ।

बिज्ञान तथा अनुसन्धान बिकास

बिज्ञानको क्षेत्रमा पनि बाजपेयीको पालामा उल्लेखनीय प्रगति भएको छ । भारत आजाद भएपछी तेश्रो पटक सन् २००३ मा ‘विज्ञान तथा प्रबिधि नीति’ लागु गर्दै भारतलाई आधुनिक युगमा अब्बल राष्ट्रको रुपमा दर्ज गराउन सफल भएका थिए । प्रगतिशील समाज निर्माण अभियानमा यो नीतिले देशका हरेक नागरिक, बच्चा देखि बृद्दसम्म, शहर देखि गाउँसम्म सबैको पहुँचमा प्रबिधि पुर्याउने लक्ष्य लिएको थियो । २००३ सम्म भारतले बैज्ञानिक अनुसन्धान र विकासमा जीडिपीको १.१% हिस्सा खर्च गर्थ्यो भने २००७ सम्ममा यो प्रतिशितको आकार २% पुर्याउने लक्ष्य लिएको थियो बाजपयी सरकारले तर २००४ पछि दोश्रो पटक उनी प्रधानमन्त्री हुन सकेनन र यो सपना साकार हुन सकेन । २०१८ सम्म आउँदा भारतले बैज्ञानिक अनुसन्धान र विकासमा जीडीपीको जम्मा ०.६९% अंश छुट्याइएको छ । अनुसन्धान र विकासको प्रयोजनको निम्ति विकसित राष्ट्रले जिडिपीको २% भन्दा बढी बजेट छुट्याउने गर्दछन । यो मामिलामा सबै भन्दा धेरै दक्षिण कोरियाले ४.२९% विनियोजन गर्दछ ।  त्यस पछि दोश्रोमा ईजराइलले ४.१०% र तेश्रोमा जापानले ३.५८% बजेट बिनियोजन गर्दछन ।

स्वतन्त्रता दिवस अगष्ट १५, २००३ मा अटल बिहारी बाजपयीले चन्द्रायान अंतरिक्षयानलाई अन्तरिक्षमा पठाउने स्वीकृतको घोषणा दिनु भएको थियो । यो योजना बडो महत्वकांक्षी योजना भनेर सर्बत्र भनियो तर बाजपेयीले उक्त योजना सफल पार्न कुनै पनि कसर बाँकि नराखी यथाशिघ्र कार्यान्वयनमा ल्याउन निर्देशन दिए । यो योजनाको घोषणा नै बिज्ञान तथा प्रबिधि क्षेत्रमा भारतको महत्वपुर्ण खुड्किलो थियो । नोभम्बर २००८ मा जब भारतको पहिले अन्तरिक्षयान अन्तरिक्षमा प्रवेश गर्‍यो त्यो संगै भारत विश्वमा अन्तरिक्षयान प्रक्षेपण गरि चन्द्रमामा तरंग फहराउने चौथो मुलुक भयो ।

बाजपेयीको सरकार भएकै बेला सन् १९९८ सालमा भारतले न्युक्लियर राज्यको घोषणा गरेको थियो । राजस्थानको  पोख्रानामा  न्युक्लियर  विस्फोट गर्न आदेश दिए र सफल परिक्षण पश्चात भारत सरकारले बिज्ञप्ति मार्फत विश्व जगतलाई जानकारी गरायो । भारतको यो मुभ विश्व आमुल परिबर्तनको एउटा कडी थियो । यो घोषणा संगै भारत अन्तराष्ट्रिय जगतमा शंकाको घेरामा रह्यो । अमेरिकाले त यो बिषयलाई लिएर भारतमाथि नाकाबन्दी नै लगायो भने पाकिस्तानले पनि लगत्तै एटोमिक परिक्षण गर्यो । चीनले त भारतको यो मूभलाई अन्तराष्ट्रिय सम्बन्धको उलंघन र दक्षिण एशियामा असहिष्णुता फैलाउनलाई मलजल पुर्याउने भनि टिप्पणी समेत गर्‍यो । युएनमा समेत चीनले भारतको यो गतिविधिको गम्भीर भर्त्सना गर्‍यो र एनपीटिमा हस्ताक्षर गर्नुपर्छ भनेर माग नै उठायो । तर पनि भारतले बेवास्ता गर्दै ठुलो साहसका साथ् आफ्नो अभियानमा टसमस भएन । हाला यो अभियानले भारतलाई कति फाइदा गर्यो या घाटा गर्यो समीक्षाको पाटो बन्यो यो बिषय ।

अर्थव्यवस्था र भौतिक संरचना 

भौतिक संरचनाको महत्वपुर्ण अंशको रुपमा बजपेयी सरकारले सुरु गरेको ‘गोल्डेन चतुष्कोष सडक परियोजना’ लाई मानिन्छ जसले भारतको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । यो परियोजना भारतको सबैभन्दा ठुलो सडकको परियोजना थियो जसको कुल लागत पचास हजार करोड थियो । १९९९ मा बजपेयी सरकारमा जाँदा देशभरीमा जम्मा ४९५८५ किमी राष्ट्रिय सडक संजाल थियो भने जब उनी आफ्नो कार्यकालबाट बहिर्गमन हुँदा कुल राष्ट्रिय सडक संजाल ६५५६९ किमी पुगेको थियो । यो सडकको बिस्तार त्यसपछिका सरकारको पालामा २०१३ सम्म आउँदै गर्दा ७९२४३ किमी पुगेको थियो जुन बाजपेयी सरकारको अनुपातमा निकै कम थियो । मनमोहन संघको १० सालको कार्यकालमा जति सडक संजाल बिस्तार भयो त्यो बराबर बाजपेयीको पालामा ५ बर्षमा भएको थियो । अर्को महत्वपूर्ण योजना थियो ग्रामिण सडक योजना त्यसैगरी भारतको सफल परियोजना मध्येको अर्को परियोजना थियो दिल्ली मेट्रो परियोजना, यो पनि बाजपयीको पालामा सुरुवात गरिएको थियो ।

यिनको पालामा आर्थिक छलाङ्ग पनि उल्लेखनिय मात्रामा कायम भएको थियो । पीभी नरसिमा रावको पालामा लागु भएको एेतिहासिक आर्थिक उदारिकणरलाई निरन्तरता दिंदै स्थिर आर्थिक वृद्धिदरलाई कायम राख्न सफल भएका थिए । ६-८% को आर्थिक वृद्धि दर कायम राख्दै अर्थतन्त्र गतिलो ढंगले  बरकरार राखेका थिए । उनको सरकारको पालामा धेरै कठिनाईहरु पनि भोग्नु परेको थियो । डिसेम्बर १३, २००१ सालमा भारतको संसद भवनमा आतंकबादी हमला भएको थियो भने त्यसै बर्षमा  चक्रवात सहित गुजरात राज्यमा ठुलो भुकम्प पनि गएको थियो । जसको कारण भारतले ठुलो आर्थिक धक्का महसुस गर्नु परेको थियो । २१औं शताब्दीको विश्वमा घटेका घटना मध्ये सबै भन्दा ठुलो घटना अमेरिकामा भएको ९/११ को हमला पनि त्यसै बर्ष भएको थियो । उअनको सरकार हुँदा विश्वमा आयल संकट पनि परेको थियो, १९९९ कार्गिल वार पनि घटेको थियो । यी सबै यस्ता परिघटना हुन् जसले राष्ट्रको अर्थतन्त्रमा ठुलो धक्का दिन्छन तर बजपेयी सरकारले देशको अर्थतन्त्रमा कुनै प्रकारको खलल आउन दिएनन । यिनले  निजीकरणको अवधारणालाई पनि बढावा दिए भने राजकोषीय घाटालाई न्यूनीकरण गर्नको निम्ति राजकोषीय दायित्व कानुन बनाए जुन कानुन एकदमै सफल रह्यो ।

विदेश नीति 

अटल बिहारी बाजपयी विदेश नीतिमा निकै नै सजक भएका देखिन्छन खास गरिकन छिमक नीतिको सवालमा । त्यसैले त उनले भनेको थिए, ‘एउटा मित्र बदल्न सकिन्छ तर छिमिकी बदल्न सकिदैन ।’ उनी पाकिस्तानलाई गाली गरेर भोट ग्रहण गर्ने कुराको विरोधी थिए । उनी विश्वस्त थिए कि गाली गरेर छिमेकीसँगको सम्बन्ध झन् दलदलमा फस्छ न कि राम्रो बन्छ, त्यसैले उनको पालामा अमेरिकासंग बिग्रेको सम्बन्धलाई सुमुधुर सम्बन्धमा परिणत गरे । २२ बर्ष पछि उनको पालामा अमेरिकाका तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले भारतको भ्रमण गरिसकेपछि  सम्बन्ध सुमुधुर बनेको थियो । चीनसंग भारतको सीमाको बिषयलाई लिएर बिबाद कायम नै थियो जो उनको पालामा धेरै हदसम्म साम्य भएको थियो । ब्यापारको दृष्टिकोणबाट पनि चीन र भारतको व्यापारमा पनि सुधार भएको थियो त्यसैगरी अमेरिकासंग पनि ब्यापार सुध्रेको थियो भारतको ।

उनको पालामा काश्मिर जस्तो अति संबेदनशील क्षेत्रमा समेत फ्री एण्ड फेयर चुनाब भएको थियो  र बेला बेलामा भनिन्छ कि यदि अटल बिहारी फेरी प्रधानमन्त्री हुन्थे भने सायद कास्मिरको अवस्था अहिले जस्तो हुन्थेन । पाकिस्तान र भारतको सम्बन्ध सुमुधुर बनाउनको लागि उनले ठुलो महत्वपुर्ण कदम चालेका थिए । १९९९ मा उनले दिल्ली देखि पाकिस्तानको लाहोर शहरसम्म मैत्रीपुर्ण बस संचालन गर्दै सम्बन्ध बिस्तारको ढोका खोलेका थिए । जसलाई बस डिप्लोमेसी पनि भनिन्छ । बस डिप्लोमेसी मार्फत उनी शान्ति बार्ताको प्रारम्भ गर्ने भनि कार्ययोजना बनेका थिए ।

उनी त्यो बसमा आफैं सवार भई पाकिस्तानको भ्रमणमा निस्के पनि र त्यहाँ उनले सबैको मन जित्ने भाषण पनि दिए । जसको पाकिस्तानमा खुबै प्रशंसा भएको थियो । दुर्भाग्यबस केही समय पछि नै कार्गिलको युद्धमा दुवै देश फसे । यो युले लामो आयु लिन पाएन उनको संबेदनशील कदमले गर्दा । युद्ध समाप्तीसँगै शान्ति बार्ता पुन प्रारम्भ गर्नाको निम्ति पाकिस्तानका प्रधानमन्त्री परबेज मुसरफलाई भारतको एेतिहासिक स्थल आग्रा भ्रमणको निम्तो दिई शान्ति बार्ताको निरन्तरता दिएका थिए । उनको विदेश नीतिलाई थप बल पुर्याउने भनेको उनले भन्ने गरेको तिन शब्द थिए, मानवता, लोकतन्त्र र काश्मिरियत जसलाई ‘बाजपयी डक्ट्रिन’ पनि भनिन्छ ।

प्रमुख समाचार

कर्मचारी

View All