ताजा समाचार

News

भेदभाव उन्मुलनसम्बन्धी नेपाली बालिकाहरुको प्रतिवेदन जेनेभामा पेश हुने

२०७५ भदौ २४ आइतबार

२४ भदौ, काठमाडौं - 

महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्नेसम्बन्धी महासन्धी (सिड) को समितिमा पठाउने उद्देश्यले नेपाली बालिकाहरुले छायाँ प्रतिवेदन तयार गरेका छन् । यस्तो प्रतिवेदन सम्भवतः विश्वकै पहिलो रहेको दाबी गरिएको छ ।

राजधानीमा सातै प्रदेशका १९ जिल्लाबाट उपस्थित बालिकाहरुको भेलाबीच प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यसको सहजीकरण गरेको कन्र्सोटियम–नेपालले बालिकाहरुले लेखिएको यस्तो प्रतिवेदन विश्वकै पहिलो रहेको दाबी गरेको छ ।

प्रतिवेदनमा बालिकाहरुले पछिल्लो समय बढ्दै गएको असुरक्षा, बलात्कार तथा हिंसाको घट्नालाई प्रमुखताका साथ उठाएका छन् ।

कार्यक्रममा कञ्चनपुरकी बालिका ममता सार्कीले भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आफ्नो धारणा राख्दै न्यायको अपिल गरिन् ।

अर्की बालिका अनिषा गिरीले बलात्कृत बालिकाको रोदन शिर्षकको कविता मार्फत् प्रश्न गरिन्, ‘कहिलेसम्म भइरहन्छ अपराध समाजमा, सिद्धान्तमा मात्र सीमित कानून कहिले उत्रिन्छ व्यवहारमा ?’

रोल्पाकी मुना सुवेदीले पनि छोरीको वेदना कविता सुनाउँदै पीडकलाई आग्रह गर्दै भनिन्, ‘मैले तिमीलाई र तिमीले मलाई सम्मान गरे मात्र हाम्रो अस्तित्व पूरा हुन्छ ।’

स्वीटजरल्याण्डको जेनेभामा आगामी अक्टोबर २२ देखि सुरु हुने सिड समितिको ७१ औं सत्रको १ महिना अगाडि पेश हुने नेपाल सम्बन्धी प्रतिवेदनमा ४९ जिल्लाका बालिकाहरुका मुद्दा समेटिएको बालिका समिक्षा कार्कीले बताइन् ।

विभिन्न जिल्लाबाट उठेका मुद्दाहरुलाई सिडको अधिकारभित्रको १६ वटा धारासँग सम्बन्धित रहने गरी १२ वटा छुट्टाछुट्टै समूहमा समाविष्ट गरिएको सहजकर्ता संस्था कन्सोर्टियम– नेपालका अध्यक्ष सन्तराम डंगोलले जानकारी दिए ।

प्रमुख समाचार

कर्मचारी

View All