ताजा समाचार

News

डुङ्गामा निर्भर मोहना पारिका तीन गाउँ

२०७५ भदौ २० बुधबार
image not found

धनगढी २० भाद्र -


प्रदेश नम्बर ७ मा कैलाली सुगम जिल्लाको रुपमा चिनिन्छ । तर, सुगम मानिएको यहि जिल्लामै रहेका मोहना नदी पारिको गाउँको कथाव्यथा भने बेग्लै छ । विकासको दृष्टिकोणले प्रदेशमा अगाडि यो जिल्लाको तीन गाउँवासी वर्षौंदेखि जोखिम मोलेर दिनहुँ ओहोर दोहोर गर्न बाध्य छन् । 
  

मोहना नदीमा पुल नहुँदा कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिवरत्नपुर कटान, मोहनपुर र वडा नम्बर ७ स्थित हौसलपुरका स्थानीय जोखिम मोलेर ओहोर दोहोर गर्न बाध्य भएका हुन । कैलालीमा मोहना नदी पारि रहेको तीन वटा मात्रै गाउँ छ । ती गाउँ यिनै हुन । तीन वटै गाउँको कथाव्यथा मिल्दोजुल्दो रहेको छ । 
    

विकासका पहिलो खुडकिलो रुपमा रहेको सडक र सहज आवतजावतबाटै आफूहरु बञ्चित रहेको ती गाउँका स्थानीयहरुको भनाइ छ । नदीमा पुल नहुँदा दिनहुँ ज्यान जोखिममा राखेर ओहोर दोहोर गर्ने गरेको उनीहरुले बताएका छन् । नदीमा पुल नहुँदाको सबैभन्दा बढी पीडा विद्यालय जाने विद्यार्थी, बृद्धबृद्धालाई रहेको छ । 
    

‘विद्यालय जानका लागि छोराछोरीहरु घरबाट निस्केपछि चिन्ता लागि रहन्छ’, शिवरत्नपुर कटानका जीतबहादुर चौधरीले भने–‘उनीहरु फर्केपछिमात्रै ढुक्क हुने गर्दछौं ।’ 
 

आँखाबाट आँशु झार्दै आफ्ना बालबच्चाहरुलाई विद्यालय पठाउने गरेको अभिभावकहरु बताउँछन् । शिवरत्नपुर कटानमा आधारभूत विद्यालयमात्रै रहेकाले पाँच कक्षा पास गरि त्यहाँका विद्यार्थी हसुलिया स्थित दीपेन्द्र माध्यमिक विद्यालयमा पढन आउने गरेका छन् ।

 

तर, मोहना नदीमा पुल नरहेकाले उनीहरुले भविष्यका लागि जोखिम मोल्नु पर्ने बाध्यता रहेको चौधरीले बताए । उनले भने–‘विद्यालय गएका बालबच्चाहरु नफर्किदैं नदीमा ठूलो बाढी आएमा हामी अभिभावकहरु उनीहरुको प्रतिक्षामा नदी किनारमै बस्ने गरेका छौं । यति धेरै समस्या छ कि, कहिलेकाँही लाग्छ, बालबच्चालाई पढ्न हैन । उनीहरुको ज्यान जोखिममा पार्न पठाएका हौं ।’
 

धेरै ठूलो बाढी आएमा डुङ्गाबाट ओहोर दोहोर सम्भव नभएपछि विद्यार्थीहरुको विद्यालय छुट्ने गरेको छ । भने, नदी तर्नमै धेरै समय लागेका कारण उनीहरु अधिकांश दिन विद्यालयमा ढिलो पुग्ने गरेका छन् । बालबच्चा विद्यालय पुगेका बेला नदीमा बाढी आएपछि कतिपय विद्यार्थी हसुलिया, गोबरैला लगायतमा रहेका आ–आफ्नो साथीहरुको घरमा बस्ने गरेको स्थानीय ईन्द्रा चौधरीले बताइन् । ‘बालबालिकालाई धेरै समस्या छ’, उनले अगाडि थपिन्–‘बर्खा याममा डराउँदै उनीहरु नदी तरेर विद्यालय जाने गरेका छन् ।’
 

नेपाल–भारत सीमा नजिक २०४५ सालमा शिवरत्नपुर कटान बस्ती बसेको हो । सुकुम्वासी परिवारको बसोबास रहेको उक्त गाउँमा विद्युत पुगेको छैन । स्वास्थ्य केन्द्र पनि रहेको छैन । त्यहाँ बसोबास गरिरहेका ७३ घरपरिवारले लालपूर्जा पाएका छैनन् । गाउँघरमा कोही अचानक विरामी परेपछि उपचार गराउनका लागि सीमावर्ती भारतीय बजार चन्दन चौकीमा जाने गरेको स्थानीयले जनाएका छन् । 
 

‘डुङ्गामा विरामी राखेर नदी तर्नै सकिन्न’, जीतबहादुरले भने–‘नजिक चन्दन चौकी बजार रहेकाले उपचारका लागि सधैं उतै जाने गरेका छौं ।’ रातिको समय कोही विरामी परेमा उपचार गराउन जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भने कहिलेकाँही सताउने गरेको उनले बताए । 
 

मोहना नदी पारिकै गाउँ मोहनपुरको पीडा पनि शिवरत्नपुर कटानसंग मिल्दोजुल्दो छ । मोहनपुरवासी, विद्यार्थी पनि दैनिक जोखिम मोलेर डुङ्गाको भरमा ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको छ । यो वर्षदेखि गाउँकै डुङ्गा सञ्चालन भएपछि केहि सहज भएको मोहनपुरका स्थानीय सैतुराम चौधरीले बताए ।

 

उनका अनुसार यसअघि, ठेकेदारले डुङ्गा चलाउँदा झनै समस्या हुने गरेको थियो । ‘ठेकेदारले आफू अनुकूल डुङ्गा चलाउने, समयमा नआइदिने गर्दथे’, उनले भने–‘यो वर्षबाट गाउँकै डुङ्गा चलेपछि केहि सहज त भएको छ । तर, डुङ्गाको भरमा जिविका चल्ने बाध्यता भने अझै हट्न सकेन ।’
 

मोहनपुर गाउँमा कोही व्यक्ति विरामी परेमा गाउँवासी भारतका झोले स्वास्थ्यकर्मीको भर पर्ने गरेका छन् । भडरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा समयमा पुग्न सक्ने अवस्था नरहेकाले भारतको भरारी भन्ने गाउँमा पुगेर झोले स्वास्थ्यकर्मीबाट उपचार गराउने गरेको चौधरीले बताए । ‘नदीमा पुल नबन्दा वर्षौंदेखि यहि समस्याबाट गुज्रिरहेका छौं’, उनले भने–‘झोलुङ्गे पुलको माग धेरै पटक गरि सकेका छौं, तर, कहिल्यै योजना परेन ।’
 

आवत जावतमै समस्या भएका कारण मोहनपुरका कतिपय व्यक्तिले वारि रहेको के गाउँमा जग्गा खरिद गरेर घरमात्रै बनाइ बसोबास गर्न थालेका छन् । ‘तर, सबैको जग्गा खरिद गरेर घर बनाउन सक्ने हैसियत छैन’, चौधरीले भने–‘मोहनपुरमै बसेकाले समस्यै समस्या झेल्नु परेको छ ।’ उनले गाउँघरमा कोही व्यक्ति विरामी नभइ देओस भनेर कामना गर्दै आफूहरु बस्ने गरेको बताए । मोहनपुरमा ८२ घरपरिवारको बसोबास रहेको छ । 
 

आवत जावतको समस्या रहेको मोहनपुर मोहना नदीका कटानको जोखिममा समेत परेको छ । गाउँको पूर्वतिर जैविक तटबन्ध गरिए पनि बाढीले आधा तटबन्ध भत्काएर कटान सुरु गरेको स्थानीयले जनाएका छन् । पूर्वबाट नदीले कटान थालेपछि विपद्का बेला ओत लाग्नका लागि बनाइएको सुरक्षित घर र जनता प्राथमिक विद्यालय नै सुरक्षित नरहेको जनाइएको छ । 
 

यसैगरी, वडा नम्बर ७ मा विरानो गाउँको रुपमा रहेको हौसलपुरका गाउँवासी झनै समस्यामा छन् । यता, आउन नसक्ने भएकाले गाउँका सबै विद्यार्थी भारतीय विद्यालयमा अध्ययन गर्दै आएका छन् । उनीहरुले ओहोर दोहोर गर्ने एकमात्र माध्यम डुङ्गा नै बनेको छ । नदी तर्न माध्यम बनेको डुङ्गा पनि गाउँवासीले आफूखुशी चलाउन पाउँदैनन् । भारतीय सुरक्षाकर्मी एसएसबीले त्यसमा अवरोध गर्दै आएको छ । 
 

कैलारी गाउँपालिकाले यस वर्ष नयाँ डुङ्गा बनाउनका लागि हौसलपुर गाउँवासीलाई एक लाख रुपैया उपलब्ध गराएको थियो । उनीहरुले नयाँ डुङ्गा बनाए पनि एसएसबीको कारण सहज रुपमा सञ्चालन गर्न नपाइरहेको वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले बताए । उनले भने–‘यसपाली हौसलपुरवासी विगतको जस्तो बञ्चितीकरणको अवस्थामा छैनन् । हौसलपुरमा विकासको केहि योजना गएको छ ।’ हौसलपुरमा बालकक्षा सञ्चालनका लागि चालू आर्थिक वर्षमा सात लाख बजेट पनि दिएको अध्यक्ष चौधरीले बताए । 
 

‘तर, सडक हिलाम्य भएका कारण हौसलपुरवासीले हिडडुल गर्न सहज भने छैन’, उनले भने–‘ग्राभेल माग गरेका छन् । अर्को आर्थिक वर्षमा उपलब्ध गराउने छौं ।’
 

झोलुङ्गे पुल निर्माण हुने
शिवरत्नपुर कटान र खोनपुरको बीचमा पर्ने खोनपुर घाटस्थित मोहना नदीमा झोलुङ्गे पुल निर्माणको लागि चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरिएको छ । 
    

प्रदेश नम्बर ७ प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणको लागि बजेट विनियोजन गरेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । ‘बजेट आएको छ, तर, ठेक्का प्रक्रिया सुरु भएको छैन’, उनले भने–‘यहाँ, पुल बनेपछि भने आवतजावतमा सहज हुनेछ ।’ उक्त घाट भारतीय बजारसम्म पुग्ने छोटी नाका रहेकाले झोलुङ्गे पुल निर्माण हुने अध्यक्ष चौधरीले बताए । 
    

उनले डुङ्गामा निर्भर तीन वटै गाउँवासीको ओहोर दोहोर सहज बनाउनका लागि निःशुल्क डुङ्गा तर्ने व्यवस्था गरेको जनाए ।

प्रमुख समाचार

कर्मचारी

View All