ताजा समाचार

News

काँग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न तीन उपसमिति गठन

२०७५ भदौ १७ आइतबार
image not found

काठमाडौं–

नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन गरिएको छ ।  नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले आईतबार पत्रकार सम्मलेन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचनासम्बन्धि उपसमिति, कार्य विभाजनसम्बन्धि उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धि उपसमिति गठन गरिएको जानकारी गराएको हो ।

राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचनासम्बन्धि उपसमितिमा फरमूल्लाह मन्सुर संयोजक तथा आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना सदस्य रहेका छन् । त्यसैगरी पार्टीका सबै निकायको काम, कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डा.मिनेन्द्र रिजाल संयोजक तथा दिलेन्द्रप्रसाद बडु, सिता गुरुङ र मदनबहादुर अमात्य रहनु भएको कार्य विभाजनसम्बन्धि उपसमितिलाई दिइएको छ । मानबहादुर विश्वकर्मा संयोजक तथा रमेश लेखक, प्रदिप पौडेल र अमरसिंह पुन अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमितिमा रहेका छन् । 

तीनवटै उपसमितिले आगामी भाद्र २३ गते भित्र विधान संशोधन सम्बन्धि प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश पनि दिइएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए ।
उपसमितिहरुले पेश गरेको प्रारम्भिक मस्यौदालाई समितिले एकीकृत गर्नेछ । एकीकृत मस्यौदामाथि छलफल गर्न प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पनि प्रवक्ता लेखकले जानकारी दिनु भयो । प्रदेशले लिएको सुझावको आधार परिमार्जन गरेर एकीकृत विधान मस्यौदालाई तयार पारी केन्द्रिय समितिमा बुझाइनेछ ।

नेपाली काँग्रेसले राज्यको पुनर्संरचनाअनुसार पार्टीको विधान तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले भदौ महिनाभित्र तयार हुने गरी पार्टीको विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ । प्रवक्ता लेखकले विधान संशोधनको मस्यौदा तयार पार्नका लागि आवश्यक आधार र क्षेत्र पहिचानको काम सम्पन्न गरिएको पनि स्पष्ट पारे ।

विधान संशोधन मस्यौदा समितिले विधान संशोधनका लागि यही भाद्र २१ गते भित्र आवश्यक सुझाव दिन पनि पार्टीको केन्द्रदेखि वडा तहसम्मलाई यस अघि नै आह्वान गरिसकेको छ । विधान मस्यौदा समितिले तयार पारेको विधानलाई पारित गर्न नेपाली काँग्रेसले मंसीर पहिलो हप्ता महासमिति बैठक बोलाउने निर्णय गरिसकेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All