ताजा समाचार

News

गृहमन्त्रीज्यू ! निर्मलाका हत्यारा खोज्ने सबै कांग्रेसीमात्रै हुन् र ?

२०७५ भदौ १२ मंगलबार
image not found

 केशवराज जोशी -

भनिन्छ, बुढेसकालको सहारा छोराछोरी । जवान छोराछोरीको लाश काँधमा बोकेर मसानघाट पुर्‍याउनु कुनै पनि आमाबाबुका लागि जीवनको सबैभन्दा ठूलो पीडा हो । त्यसमाथि बलात्कारपछि मारिएकी आफ्नी छोरी जलाएर फर्किएपछि न्याय माग्दा अवोध बालकको प्रहरीको गोलीबाट ज्यान गएपछि निर्मलाका आमाबुबाको मनमा कस्तो भावना पैदा भइरहेको होला ?

 

खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैं निर्मला गुमाउँदाको पीडा र त्यसपछि न्यायका लागि प्रचण्ड गर्मीमा धाउँदाको सकस पन्त परिवारले व्यहोरेका छन् । जनताले वर्षौं लडेर ल्याएको गणतन्त्र होस् या लोकतन्त्र, यसका मालिक जनता नै हुन् । सिङ्गो नेपाल र अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान तानेको एक क्रुर घटना बनेको छ निर्मला हत्याकाण्ड । 

 

घटनाका बारेमा जसको विवेकले जे देख्यो, त्यही बोल्यो । निर्मला बलात्कार र हत्यामा संग्लन दोषीलाई कारबाही गर भनेर सडकमा निस्किएको जनताको जुलुसमाथि प्रहरीले गोली चलायो, सडकमै ढले शनि खुना । अन्य दर्जनौं घाइते छन् । न्याय माग्न सडकमा निस्किएका जनतामाथि गोली चलाइयो लोकतान्त्रिक भनिने सरकारका रक्षकहरुबाटै । 

ad

 

निर्मला हत्याकाण्डमा प्रहरीको बयान नै अन्तिम सत्य मान्ने तर हजारौं जनताको प्रहरीमाथिको अविश्वासलाई घूसपैठ, अराजक तत्व देख्ने, न्यायको मागका लागि गोली थाप्न तयार हुने जनतालाई कांग्रेसको समूह देख्ने ने क पाका नेता भीम रावल हुन् वा बलात्कारीको पक्षमा आन्दोलन गरे भनेर हिंसा भड्काउने गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी । यो बीचमा आएका यी दुई अभिव्यक्तिको विषयमा सरकार र ने क पा किन मौन छ ? योबीचमा गृहमन्त्रीसँग आईजीपी सर्वेन्द्र खनालले भेटे र प्रहरीले गरेको अनुसन्धान नै अन्तिम सत्य भएको ब्रिफिङ गरे । गृहमन्त्रीले त्यही माने । तर, गृहमन्त्रीज्यू ! एकपटक तपार्इंले किन सोच्नुभएन कि सडकमा प्रहरीविरुद्ध हजारौं जनताको जुलुस किन उर्लियो ? किन प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष गरेन भनेर आवाज उठ्यो ? तपाईं नै हो, जनता मालिक हो भनेर सडकदेखि सिंहदरबारसम्म कुर्लने, तर आज तिनै मालिक भनिएका जनताका छोरी बलात्कृत भएर मारिइन् । अनि न्याय चाहियो भनेर सडकमा उर्लंदा कांगे्रस कसरी देख्नुभो ? एकपटक सिंहदरबार बाहिर आएर जनता बनेर हेर्नुस्, जनतामा तपाईंप्रति बढ्दै गएको आक्रोश र घट्दै गएको विश्वासको तह कस्तो छ । तपाईं जनताको गृहमन्त्री कि प्रहरीको मात्रै ? कञ्चनपुरको सडकमा निस्किएका जनता के अपराधी थिए ? के राज्यविरुद्ध विद्रोह गरिरहेका थिए वा आतंकवादी थिए ? 

 

निर्मला हत्याकान्डका ३२ दिन

 

गत साउन १० गते पढ्न साथीको घरमा गएकी निर्मला पन्तको भोलिपल्ट उँखुबारीमा शव फेला परेको थियो ।

 

निर्मलाकी आमा छोरी खोज्न १० गते नै रोशनी र वविताको घरमा जाँदा भित्र प्रवेश गर्नसमेत दिइएन । जुन घर छोरीकी साथीको घर थियो । भित्र प्रवेश गर्न नदिने पनि छोरीकी साथी र उनकी दिदी नै हुन् ।

 

अर्को दिनसम्म पनि प्रहरीले घटनाका बारेमा चासो नदिएपछि गाउँलेसँगै पुगेकी निर्मलाकी आमालाई बबिताले ‘निर्मलाको साइकल भेटिएको भए शव पनि त्यहीँ होला’ भनेकी निर्मलाकी आमा बताउँछिन् । त्यति हुँदा पनि बम दिदीबहिनीलाई प्रहरीले किन अनुसन्धानको दायरामा ल्याउन सकेन ?

 

छोरी हराएको सूचना दिँदा पनि ‘अहिले राति भयो भोलि फोटो लिएर आउनू अनि खोजौँला’ भनेर टार्ने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक किन कारवाहीको दायरामा आउन सकेनन् ? कि उनलाई पहिले पहिले नै ‘माथिबाट निर्देशन’ आइसकेको थियो ?

 

‘हाइप्रोफाइल’ का परिवार संलग्न भएको आशंकामा प्रहरी नै यसरी पन्छिन खोजेको स्थानीयको आशंका छ । जुन कुरा स्थलगत रिपोर्टिङका क्रममा हामीले पनि पाएका थियौं ।

 

तर प्रहरीले ‘सधैं भीडले भनेको किन मान्ने ?’ भन्ने प्रहरी नेतृत्वसम्मका क्रियाकलाप र अभिव्यक्तिले जनताको न्याय मार्ने प्रयास गरेको देखिन्छ ।

 

यहाँसम्मकी कञ्चनपुरबाट निर्वाचित जनप्रतिनिधिसमेत पीडित निर्मलाको घरमा पुग्न सकेका छैनन् ।

 

सीआईबीका डीएसपीलाई किन छुट ?

 

घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठायो । टोली झण्डै ३ हप्ता कञ्चनपुर बस्यो । घटनाको २४ दिनपछि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिप विष्टलाई सीआईबी र कञ्चनपुर प्रहरीको टोलीले संयुक्त रुपमा सार्वजनिक गरे । विष्टलाई नै निर्मला हत्याको मुख्य अभियुक्त बनाइएपछि नागरिकमात्रै होइन, निर्मलाका परिवार नै अचम्मित भए । सीआईबीजस्तो विश्वासिलो निकायका डीएसपीले कसरी यस्तो अनुसन्धान गरे ? के कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई कानुनको डण्डा चलाइँदा सीआइबीका डिएसपी अगुंर जिसीलाई छुट दिन मिल्छ ? 

 

अझ पक्राउपछि ११ दिन गोप्य रुपमा थुनामा राखेका चक्र बडुकै बयानअनुसार सीआईबीबाट आएका भनिएको सिभिल ड्रेसका प्रहरीले बढि यातना दिएका थिए रे । के उनलाई पनि गोप्य रुपमा ‘नक्कली मुठभेड’ को तयारी प्रहरीले गरेको थियो ? होइन भने पक्राउ गरिएका व्यक्तिलाई चरम यातना किन दिइयो ? र घटना गोप्य राख्ने काम प्रहरीबाटै किन भयो ? यसको जवाफ अहिलेसम्म आउन सकेको छैन ।

 

न्याय माग्दा कसरी हुन्छ राजनीति ? 

 

राजनीतिक एजेण्डा थियो भन्ने मान्न सकिन्छ कञ्चनपुर घटनामा राजनीति भयो । प्रतिपक्षी दलको नाताले कांग्रेसले मौकामा चौका हान्न खोज्यो होला तर सडकमा निस्किएको जनसागर कुनै दलको थिएन बरु न्यायका निम्ति उर्लिएको सुनामी थियो । जनताको त्यो मौनतापछि निस्किएको सुनामी छालले क–कसलाई कुन किनारमा पुर्याउने हो, निष्पक्ष छानबिन भएको अवस्थामा प्रष्ट होला । घटनाको वास्तविकतामा नगई ने क पाका जिम्मेवार नेताले कांग्रेसले आन्दोलन उचालिरहेको र हिंसा भड्काइरहेको अभिव्यक्ति दिए । हत्याराको पहिचान गरेर कारबाहीको माग जनस्तरबाट चर्किएको बेला त्यो अभिव्यक्ति किन दिए ? गृहमन्त्रीकै सल्लाहकारले सामाजिक सञ्जालमा किन गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए ?

 

जब राजनीतिमा अपराध र अपराधमा राजनीति हुन्छ, त्यहाँ जनताले न्यायको अपेक्षा गर्नु भनेको आकाशको फल आँखा तरी मर भनेझैं हो । सत्तामा रहेकाहरुले न्यायका लागि उर्लेको लहरलाई कांग्रेसको जुलुस देख्ने र त्यहीअनुसारका अभिव्यक्ति दिने प्रवृत्तिले कञ्चनपुर घटनालाई थप चर्काउन मद्दत गरेको देखिन्छ । न्यायको माग गर्नेहरुलाई जसरी पनि गलाउने, सत्ता र शक्तिको दुरुपयोग गर्दै बन्दुकबाटै ठिक पार्न खोज्ने सत्तासीनहरुको चरित्रका कारण निर्मलाले न्याय पाउन सकेकी छैनन् । बरु एउटाका लागि न्याय माग्दा अर्कोले ज्यान गुमाउनुपर्यो । सँगसँगै प्रतिपक्षीले पनि सरकारलाई वैधानिक बाटोबाट दबाब दिन सकेन । घटना घटिसकेपछि, मान्छे मरेपछि मात्रै जाग्ने सत्ता चरित्र होस् वा प्रतिपक्षको भूमिका दुवै गैरजिम्मेवार छन् । 

 

राहत होइन, न्याय चाहियो

 

सरकारले पीडित परिवारलाई राहत दिने घोषणा गरेको छ । स्थानीय तहले पनि राहतको घोषणा गरेका छन् । पीडित परिवारले भने राहत होइन, न्यायमा जोड दिएका छन् । निर्मलाको इज्जत र जिन्दगी १० लाखले फिर्ता ल्याउन सकिँदैन । राज्यले राहत दिनुपर्छ तर न्यायसहितको । फेरि पनि कुनै पनि नेपाली चेली ‘निर्मला’ हुन नपरोस् । 

 

अपराधमा संग्लनहरुको असली अनुहार र भरपर्दो प्रमाण जनताको अगाडि सार्वजनिक होस् ताकि फेरि–फेरि ‘हाम्रा निर्मलाहरु’ बलात्कारपछि हत्याको शिकार बन्ने अवस्था कहिल्यै नआओस् । हाम्रा चेलीहरु, अधिकारकर्मीहरु बलात्कारीलाई कारवाहीको माग गर्दै माइतीघर मण्डलमा अर्धनग्न अवस्थामा आउनु नपरोस् । सरकार पनि बेलैमा सचेत होस् । 

 

बलात्कारपछिको हत्यामा संलग्न नभएका निर्दोष व्यक्ति जेलमा बस्ने र बलात्कारी समाजमा अनुहार देखाएर हिँड्न सक्ने अवस्था फेरि नआओस् । प्रहरीले निष्पक्ष अनुसन्धानपछि ‘दुधको दुध, पानीको पानी’ बनाइदियो भने वास्तवमा निर्मला र उनको परिवारले न्याय पाएको ठहरिनेछ । 

प्रमुख समाचार

कर्मचारी

View All