ताजा समाचार

News

एसियाड ब्याडमिन्टनमा नङ्सलदेवीले माल्दिभ्सकी खेलाडीलाई हराइन्

२०७५ भदौ ७ बिहिबार
image not found

भदौ ७ -

शीर्ष वरीयताकी नेपाली ब्याडमिन्टन खेलाडी नङ्सलदेवी तामाङ १८औं एसियाली खेलकुद (एसियाड)को महिला एकलतर्फ ‘राउन्ड अफ सिक्सटिन’मा प्रवेश गरेकी छन् ।

इन्डोनेसियाको जकार्तास्थित जिबिके इस्तोरामा बिहीबार भएको खेलमा नङ्सलले माल्दिभ्सकी खेलाडी अब्दुल रजाक फतिमा नाबाहलाई २–० को सोझो सेटमा हराइन् ।

फतिमाविरुद्धको खेल नङ्सलले २१–१९ र २१–१५ ले आफ्नो पक्षमा पारिन् । नङ्सलले अब ‘राउन्ड अफ सिक्सटिन’को खेलमा जापानकी अकाने यामागुचीसँग खेल्नेछिन् ।

महिला एकलकै अर्को खेलमा नेपालकी जेसिका गुरुङ पराजित भएकी छन् । जेसिकालाई बिहीबार थाइल्यान्डकी रत्चानोक इन्तानोनले २१–७ र २१–४ को सोझो सेटमा हराएकी हुन् ।

पुरुष डबल्समा एक जित

एसियाली खेलकुदको ब्याडमिन्टनतर्फ पुरुष डबल्समा पनि नेपालले एक खेल जितेको छ ।

अन्तिम ३२ चरणको खेलमा नेपालका नवीन श्रेष्ठ र विकास श्रेष्ठको जोडीले बिहीबार मंगोलियाका सुमियासुरेन एन्खबात र तेमुलेन गोम्बोदोर्जको जोडीलाई २–० को सोझो सेटमा हरायो ।

नेपालका श्रेष्ठद्वयले २१–१२ र २१–७ को सोझो सेटमा खेल जितेका हुन् । ब्याडमिन्टनकै मिक्स डबल्समा भने नेपालका दुवै टोली पराजित भएका छन् ।

तामाङ दिदीभाइ रत्नजित र नङ्सलदेवीको जोडीलाई बिहीबारै इन्डोनेसियाको डेबी सुसान्तो र रिक्की कारानदासुवार्दीको जोडीले २१–१३ र २१–७ को सोभो सेटमा हराएको हो ।

यही विधाको अर्को खेलमा दीपेश धामी र जेसिका गुरुङको जोडीलाई हङकङका चुन हेइ ली र होइ वाह छाउको जोडीले २१–११, २१–११ को सहज सेटमा पाखा लगाए ।

प्रमुख समाचार

कर्मचारी

View All