ताजा समाचार

News

अछामको ठुलासैनमा ‘डिप बोरिङ’बाट पानी निकालियो

२०७५ भदौ ३ आइतबार
image not found

अछाम, भदौ ३ - 

अछामको मंगलसेन नगरपालिका–६ ठुलासैनमा डिपबोरिङबाट पानी निकालिएको छ । समुद्री सतहबाट करिब १८ सय मिटर अग्लो ठाउँमा रहेको ठुलासैनमा डिप बोरिङबाट ४०० फिटको गहिराईबाट पानी निकालिएको हो ।

पानी निकाल्नका लागि मंगलसेन नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेको थियो । विनियोजित बजेट मध्ये १५ लाख पेश्कि लगेर काम गरिएको र पानी निकाल्न करिब १४ महिना लागेको बताइएको छ ।

पानी निकाल्ने जिम्मा लिएको नेपाल हाइड्रोपावर कम्पनीले पानी निकालिसकेपछि मात्रै बाँकी रकम लिन पाउने गरि सम्झौता भएकाले रकम भुक्तानि नगरिएको तर रकम पुरै खर्च भइसकेको उपभोक्ता समितिका अध्यक्ष हेमराज भण्डारीले बताएका छन् ।

उक्त खानेपानीकै कारण आफूहरुले स्थानीयका गुनासो सुन्नुपरे पनि ३२ एमएम पानी निकाल्न सफल भएपछि निकै खुसी भएको उनको भनाइ छ । ठुलासैनको डाँडोमा जमिनबाट पानी निकाल्न सफल भएपछि आफु जीवनमै सबैभन्दा बढी खुसी भएको मंगलसेन नगरपालिका ६ का वडाअध्यक्ष जनकराज भण्डारीले बताएका छन् ।

स्थानीय नागरिकको पानी आउदैनकी भन्ने भ्रम अब सकिएको र यसलाई व्यवस्थापन गर्दै ठुलासैन र आसपासका नागरिकको खानेपानीको अभाव पुर्ती गरिने वडा अध्यक्ष भण्डारीले बताएका छन् । नेपाल हाइड्रोपावर कम्पनीको लामो समयको मेहनत र मंगलसेन नगरपालिकाको आर्थिक सहयोगले ठुलासैनको वषौँदेखिको खानेपानी समस्या समाधान भएको प्रतिक्रिया दिँदै वडाअध्यक्ष भण्डारीले यसलाई व्यवस्थापन गरि ठुलासैनबासीलाई स्वच्छ खानेपानी दिलाउन थप प्रक्रिया पनि तत्काल अघि बढाइने बताएका छन् ।

ईन्टेक, रिजर्भ ट्याङ्की र वितरण प्रक्रियाका लागि समेत बृहत योजना बनाएर अघि बढ्ने उनको भनाई छ । खानेपानीको चरम अभाव रहेको ठुलासैनमा डिप बोरिङबाट पानी निकालिएसंगै यहाँका स्थानीय निकै हर्षित भएका छन् । वर्षायाममा निकालिएको पानी दिगो र बाह्रै महिना सञ्चालन हुनुपर्ने स्थानीयको भनाइ छ ।

यसका लागि कम्पनी, उपभोक्ता समिति, वडा कार्यालय र नगरपालिकाले ध्यान दिनुपर्ने उनीको सुझाव छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको ठुलासैनमा पानीको समस्या समाधान भएपछि पर्यटनका थप गतिविधिहरु पनि अघि बढ्ने स्थानीयले आशा गरेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All