News
धान पसाउने बेलासम्म मल पाएनन् किसानले
२०७५ भदौ ३ आइतबार

धनगढी ३ भाद्र -
खेतीपाती सुरु हुँदादेखिको रासायनिक मल अभाव कैलालीमा अझै पनि यथावत रहेको छ । धान पसाउने बेलासम्म जिल्लाको अधिकांश किसानले मल पाउन सकेका छन् ।
मलबिनै गरिएको धान खेती राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । ‘मल नपाएर त्यतिकै गरिएको धान पसाउन सुरु भइसकेको छ’, कैलारी गाउँपालिका–७ बसन्ताका कर्णबहादुर चौधरीले भने–‘रासायनिक मलको आशैआशमा गोडमेलको कार्य पनि सकियो । अझै मल पाइएन ।’
सो वडाको बसन्ता र भुईयाँफाँटा गाउँमा धान ब्लक क्षेत्र बनाइएको छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उत्पादन बृद्धि गर्ने उद्देश्यले धान ब्लक क्षेत्र बनाइएको हो ।
धानको गोडमेल सकेपछि युरिया मल हाल्नु पर्ने बेला रहेको भुईयाँफाँटाका फूलराम चौधरीले बताए । ‘धान पसाउने तयारी अवस्थामा छ । गोडमेल सकेकाले अहिले युरिया मल हाल्नुपर्ने हो ।’ चौधरीले भने, ‘मलका लागि गाउँका सहकारीमा दिनकै पुग्ने गर्छु । आएकै छैन भन्छन् ।’
परियोजनाको ब्लकअन्तर्गत उनले डेढ विधामा धान रोपेका छन् । वडा नम्बर ७ को बसन्ता क्षेत्रको डेढ सय विघा क्षेत्रलाई परियोजनाले समेटेको छ । धानको पकेट क्षेत्रअन्तर्गतकै खेतमा मल हाल्न नपाएको कृषक चौधरीले गुनासो गरे ।
गोडमेल गरेर पसाउनलाई ठिक्क परेको धानमा अहिले मल हाल्न नपाए उत्पादन घट्ला भन्ने उनको चिन्ता छ । ‘रोपाइ गरेपछि मल हालेको हो तर केही ठाउँमा धानको बोट राम्ररी हुर्कन पाएको छैन ।’ फुलरामले भने, ‘पसाउने बेला हुन थालेकाले अहिले अनिवार्य रुपमा मल हाल्नुपर्ने हो तर गाउँका धेरै किसानले मल पाएका छैनन् ।’
निर्वाहमुखी कृषिलाई व्यवसायीक र आधुनिकीकरण गरी देशलाई अन्नमा आत्मनिर्भर गर्ने उद्देश्यले सरकारले दुई वर्षदेखि देशका विभिन्न जिल्लामा प्रधानमन्त्री कृषि आधुनिक परियोजना संचालन गरिरहेको छ । किसानलाई सहुलियत दरमा कृषि यन्त्र, उन्नत बीउ, मल आदिलाई परियोजनाले प्राथमिकतामा राखेको छ ।
राष्ट्रिय धान दिवस मनाउनका लागि बसन्ता पुगेकी प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री बिनिता चौधरीले समयमै मल उपलब्ध गराउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिइन् । तर, उनको प्रतिबद्धता प्रतिबद्धतामै सीमित बनेको किसानको भनाइ छ ।
परियोजना लागू भएको क्षेत्रमा कृषि यन्त्र र कृषि सामग्रीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकता दिएको बताए पनि कैलालीमा धानको उत्पादकत्व वृद्धि गर्न लागू गरिएको ब्लक र पकेट क्षेत्रका किसानले रासायनिक मल पाएका छैनन् ।
कतिपय किसानले रोपाइ गरेपछि रासायनिक मल नै हाल्न नपाएको गुनासो गरेका छन् । कैलारी–५, जबदहुवाका गहनलाल चौधरीले आफूले लगाएको ३ बिघा जग्गामा मल हाल्न नपाएको बताए । ‘रोपाइका बेला पनि आवश्यकताअनुसार मल हाल्न पाइएन । अहिले झन मल नै छैन ।’ उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत कैलालीको कैलारी गाउँपालिकामा धानको २ वटा ब्लक र ८ वटा पकेट क्षेत्र छन् । प्रतिब्लकमा डेढ सय विघा र प्रतिपकेटमा १५ विघा समेटिएको छ । गठन भएका कृषक समूहमार्फत कृषि यन्त्र, बीउ, मल, प्रविधि आदिमा सरकारले सहयोग गर्ने गरेको कैलारी गाउँपालिकाका कृषि संयोजक दिपकबहादुर खड्काले बताए ।
ब्लक र पकेट लागू भएका क्षेत्रमा गठन भएका समूहले मल किनेर किसानलाई सहुलियतमा बिक्री गर्ने गरेका छन् ।
धान पसाउने बेला मल हाल्न नपाएपछि उत्पादन घट्ने चिन्ता किसानमा छ । धानबालीका लागि यतिबेला अन्तिम पटक मल आवश्यक हुने कैलारी–५ पवेराका किसान जगीलाल चौधरीको भनाइ छ । उनले भने–‘अहिले मल हाल्न पाइएन भने उत्पादन घट्छ । कतिपय बोट राम्ररी हुर्कन पाएको हुँदैन । मल छर्के हुर्कन पाउँछ ।’
धान ब्लक संचालक समिति गोबरैलाका अध्यक्ष रमाकुमारी चौधरीले सरकारी मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीलाई मलका लागि पटकपटक आग्रह गरे पनि आवश्यकताअनुसार मल पाउन नसकेको बताइन् ।
‘
प्रधानमन्त्री कृषि परियोजना लागू भएको क्षेत्रमा सरकारले बीउ, मलको उपलब्धतालाई उच्च प्राथमिकता दिनुपर्ने हो ।’ रमाले भनिन्, ‘उन्नत बीउ र समयमै मल पाएमात्र उत्पादकत्व बढ्छ ।’ धानमा २ देखि ३ पटकसम्म युरिया आवश्यक पर्ने भए पनि कतिपय किसानले १ पटकमात्र मल हाल्न पाएका उनले बताइन ।
कैलालीमा ७२ हजार ५०० हेक्टर जमिनमा धानखेती गरिन्छ । जिल्लाको धान पकेट र ब्लक क्षेत्रमा मात्र रासायनिक मलको अभाव नभइ जिल्लाभरी रहेको जनाइएको छ । एकातिर किसान मल नपाएर हैरान छन् भने अर्कोतिर सरकारी मल बिक्री गर्दै आएका कृषि सामग्री र साल्टटे«डिङ्गका गोदाम रित्तै छन् ।
कैलालीका लागि थप पाँच सय मेट्रिक टन मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जानकारी दिएको छ । एक साताभित्रै केहि परिमाणमा मल आइपुग्ने कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डेयले दावी गरे ।
कैलालीका लागि मात्रै धानका लागि साढे सात हजार मेट्रिक टन युरिया आवश्यक हुने गर्दछ । तर, कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यकतानुसार युरिया आपूर्ति गर्न सकेको छैन । प्रदेशको नौ वटा जिल्लामा गरेर कम्पनीले जम्मा पाँच हजार मेट्रिक टनमात्रै युरिया बिक्री गरेको छ । यस्तै साल्टटे«डिङ्गले बैशाखयता प्रदेशभरि २ हजार मेट्रिकटन मल बिक्री गरेको छ ।