ताजा समाचार

News

नेपाल–भारत जोड्ने महाकालीको तिग्रम पुलमा आवतजावत् बन्द

२०७५ भदौ ३ आइतबार
image not found

३ भदौ दार्चुला -

भारत-नेपाल जोड्ने दार्चुलाको उत्तरपश्चिमी महाकाली नदीको तिग्रम झोलुङगे पुलमा आवतजावत बन्न गरिएको छ ।

वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवत् जावत्मा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

व्याँस गाउँपालिका- धौलाकोटको तिग्रममा निर्माण गरिएको नेपाल-भारत जोड्न झोलुङगे पुलको नेपालतिर ठूलो पहिरो खस्दा जोखिममा रहेकाले मानिसहरुको आवत् जावत् बन्द गरिएको धौलाकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमिर रावलले बताए ।

नेपालतिर ठूलो पहिरो खसेकाले पुल जोखिममा परेकाले सम्भावित दुर्घटना हुन नदिन आवतजावत् बन्द गरिएको प्रहरी सहायक निरीक्षक रावलले जानकारी दिए ।

पहिरो पन्छ्याउने र पुल जोगाउनका लागि सस्पेन्स ब्रीज डिभिजन कार्यालयसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सस्पेन्स बि्रज डिभिजन कार्यालयले केन्द्रबाट वजेट विनियोजन गर्दासम्म ढिलाइ हुने भन्दै जिल्ला स्तरबाटै पुल संरक्षणका लागि पहल गर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

महाकाली नदी नियन्त्रण आयोजना लगायतका विभिन्न कार्यालयहरुसंग समन्वय गरी तारजाली लगाएर पुल जोगाउने पहल भइरहेको उनको भनाइ छ ।

यस्तै पुल नजिकै रहेको नेपाल प्रहरीका पोष्टसमेत पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता एवं प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । त्यसै गरी गएरातीको अविरल वर्षाका कारण हुती इप्रकाको मैदानसमेत भत्किएको छ ।

तुइनको यात्रा बढ्यो

नेपाल भारते जोड्ने त्यसक्षेत्रको एकमात्रै तिग्रम पुलमा आवत् जावत् बन्द गरिएपछि स्थानीयहरुले तुइनको यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

पहिरोका कारण पुल नै उच्च जोखिममा परेकाले पुलमा आवत् जावत् बन्द गरिएपछि स्थानीयहरु तुइनको जोखिमपूर्ण गर्न बाध्य भएका छन् ।

झोलुङ्गे पुल निर्माण गरिदाँ धौलाकोट लगायत नजिकका स्थानीयहरुले सदरमुकाम आउदाँ जाँदा तिग्रम पुलको प्रयोग गर्ने गरेका थिए ।

तिग्रम पुलमा आवत् जावत्मा प्रतिबन्द लगाएपछि स्थानीयहरु अहिले तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानिय कपिलदेब भट्टले बताए ।

महाकाली नदीमाथि जिल्लाको उत्तर पश्चिमी सीमा क्षेत्रमा एउटा मात्रै पुल भएकाले पनि विकल्पको रुपमा तुइनको प्रयोग गर्न व्याँसका स्थानियहर बाध्य भएका छन् ।

जिल्ला सदरमुका खलंगासम्म आवत्जावत् गर्नसमेत तुइनको तरेर वा तिग्रम पुल तरेर भारतको बाटो प्रयोग गर्न पर्ने बाध्यता उनीहरुको छ ।

व्याँस क्षेत्रका स्थानियहरुको मुख्य बजार क्षेत्र नै भारतको धारचुला भएकाले पनि दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्न समेत भारतीय बजार क्षेत्र धारचुला आउने गरेका छन् ।

नेपाल बजार क्षेत्र अर्थात् सदरमुका खलंगा आउन नेपालतिर बाटो नहुदाँ भारतीय बाटो प्रयोग गर्न त्यहाँ स्थानीयहरु अहिले जोखिमपूर्ण तुइनको यात्रा गरिरहेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All