ताजा समाचार

News

हरैयाबाट सारिएका सुकुम्बासी बिचल्लीमा

२०७५ श्रावण २६ शनिबार
image not found

धनगढी २६ साउन -


कसैले ओत लाग्न पाल तानेका छन् । कोही पाल तान्ने सुरसार गर्दैछन् । कैलालीको हरैया शिविरबाट धनगढी उपमहानगरपालिका १७ धुरझन्ना सारिएका सुकुम्वासीहरुलाई साउने झरीले हैरान बनाएको छ ।


लामो समयदेखि हरैयामा बस्दै आएका सुकुम्बासी परिवारलाई गत आसर १६ गते धुरझुन्ना पु¥याइएको हो । ‘हरैयामा रहँदा मजदुरी गरेर छाक टारिन्थ्यो’ सुकुम्बासीहरुकी अगुवा हिरा वादीले भनिन्–‘दुर्गममा ल्याएर राखियो काम गरेर खाउँ भन्दा पनि काम पाइदैन ।’ 


दिनभरी काम गरेर छाक टार्ने सुकुम्बासीहरु अहिले मुखमा माँड लगाउनका लागि समेत समस्या भएको बताउँछन् । सुकुम्बासीको नयाँ शिविरमा खानेपानीको पनि त्यस्तै समस्या रहेको छ । 


शिविर सार्नेहरुले २ वटा नल्काहरु बनाइ दिएका छन् । त्यही नल्काको भरमा शिविर धानिएको छ । शिविर शिवगंगा नदीको छेउमा रहेको खेतमा राखिएको छ । हिड्ने बाटोसम्म नछुट्याईएको खेतमा बनाइएका पालका टहराहरुभित्र सामान्य बर्षातमा समेत आहाल जम्ने गरेको छ । शिविरमा बिजुली पनि पु¥याइएको छैन । 


हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले नै धुरझन्नामा ५९ कट्ठा जग्गा खरिद गरी सुकुम्बासीको व्यवस्थापन गरेको हो । नेकपा पार्टीका केहि नेताहरुको विशेष आग्रहमा हरैयाको जग्गा छोडेर असार महिनामा धुरझन्ना आएको सुकुम्बासीहरुले बताएका छन् ।    

 

अहिलेसम्म ९१ परिवार आएर बसेको उक्त बस्तीका हिरा वादीले जानकारी दिईन । पोखराका शङ्कर कार्कीले ५९ कट्ठा जग्गा किनेर आफूहरुलाई धुरझन्नामा व्यवस्थापन गरेको उनले बताईन । 


‘प्रति परिवार एक कट्ठा जग्गा दिने भनेर हामीलाई हरैयाबाट उठाएर यहाँ ल्याइएको छ’, हिराले भनिन्–‘जग्गा छुट्टयाइएको छैन । तत्काल टहरामात्रै बनाएर बसेका छौं ।’ उनले प्रति परिवार १ कठ्ठा जग्गा दिने सहमतिपछि आफूहरु धुरझन्ना आएको बताईन ।

 

धुरझन्नामा बसेका सुकुम्बासीहरुको टहरा बनाउनका लागि कार्कीले नै त्रिपाल, बाँस उपलब्ध गराएका जनाइएको छ । कार्कीले नै दुई वटा हाते धारा र टिनले बेरेका ६ वटा चर्पी बनाई दिएका छन् । हरैयामा आफूहरुलाई राम्रो रहे पनि नेकपाका नेताहरुको आग्रहमा धुरझन्ना आएको सुकुम्बासी शिविरका डबल ताम्राकारले बताए  । 


‘सरकारमा रहेका पार्टीका नेता ज्यूले समेत तपाईहरुलाई त्यहाँ स्थायी व्यवस्थापन हुन्छ भनेर आश्वसन दिएपछि हामी लिखित सहमति गरेर आएका हौं’, डबलले भने–‘तर अहिले सम्म जग्गा छुट्याईएको छैन ।

    

केहि समयसम्म टहरामा बस्न र पछि सरकारबाटै आवासका लागि पहल गर्ने नेताहरुले आश्वसन दिएको सुकुम्बासीहरु बताउँछन् । सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । जग्गा बिक्रीमा तत्कालिन माओवादीका केहि नेताको संलग्नता रहेको आरोप लगाइएको छ ।  


जग्गा बिक्रीपछि हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए । अझै पनि ४८ परिवार सुकुम्बासी हरैयामा नै बसिरहेको जनाइएको छ । 


मुलुकमा द्वन्द्व उत्सर्गमा पुगेको समय २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो । उनीहरु कैलाली सहित पहाडी विभिन्न जिल्लाका छन् । माओवादी नेता गौरी जोशीले आफूहरुलाई  घर बनाईदिने आश्वासन दिएको सुकुम्बासीहरु बताउँछन् । 


‘नेताले हामीमाथि राजनीति गरे’


हरैयाबाट धनगढी उप–महानगरपालिका १७ धुरझन्ना सारिएका सुकुम्बासीहरुले आफूहरुमाथि नेताहरुले राजनीति गरेको आरोप लगाएका छन् । 


धुरझन्नामा सारिएका सुकुम्बासीहरुले अहिले पनि शिविरका नेताहरु हरैयामै रहेको बताए । ‘हामीलाई डुडेझारीमा जग्गा दिन्छौं भनेर राखिएको थियो’ सुकुम्बासी शिविरका डबल ताम्राकारले भने–‘त्यहाँ प्रतिकार गर्न भन्यो, हाम्रा छोराछोरी मरे, त्यही खाल्टोमा गाडियो ।

 

जग्गा दिन्छौ भनेर हरैया पु¥याए । अहिले त्यहाँबाट पनि उठाएर धुरझुन्ना पु¥याएका छन् ।’ उनले जग्गा नाममा नहाँलेसम्म आफूहरु नेताहरुको कुरामा विश्वस्त हुन नसक्ने बताए । माओवादीले जितेमा जग्गा दिन्छौं भनेका कारण २०६४ र २०७१ मा भोट हालेको बताउँदै डबलले भने–‘यस पटक गठबन्धनले जग्गा दिन्छौं भनेर भोट मागेका थिए हेरौं के गर्दछन् ?’


बस्ती बसाल्ने र उठाउने काममा माओवादीका नेताहरु लागेको आरोप सुकुम्बासीहरुले लगाएका छन् । माओवादीका नेता र शिविरभित्रका टाठाबाठाहरुले आफूहरुलाई ठगेको उनीहरुको आरोप छ । शिविरका कतिपय अगुवाहरु धुरझन्ना नआएर हरैयामा नै बसेपछि झुरझन्ना पुगेकाहरु सशंकित भएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All