ताजा समाचार

News

धनगढीमा मिस फारवेष्ट प्रतियोगिता हुने

२०७५ श्रावण २४ बिहिबार
image not found
धनगढी, २४ साउन -
 
प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा ‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले मिस फारवेष्ट प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक रोयल कोल्याब्रेटिभ्स् प्रालि धनगढीले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगितामा १६ देखि २५ वर्षसम्मकाले मात्रै सहभागिता जनाउन पाउने रोयल कोल्याब्रेटिभ्स्का अध्यक्ष देवेन्द्र जोशीले जानकारी दिए ।
 
असोज २० गते हुने प्रतियोगिताका लागि भदौं ७ देखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा ‘अडिशन’ गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी भएकालाई भदौं २० देखि असोज १९ गतेसम्म एक महिनाको तालिम समेत प्रदान गरिने जोशीले जानकारी दिए । 
 
प्रतियोगितामा मिस फारवेष्टको ताज जित्नेलाई स्कुटर सहित विविध पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । यसैगरी, फष्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्ने जोशीले जानकारी दिए । उनले हरेक विधामा उत्कृष्ट हुनेलाई क्रमशः १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिने उल्लेख गरे ।
 
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक कालीप्रसाद बास्कोटा, अन्नपूर्ण शर्मा, निर्देशक हेमराज बिसी, पूर्व ओलम्पीयन दीपक बिष्ट र कोरियोग्राफर निलम चन्द रहने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ देखि ३० लाख रुपिया बजेट खर्च हुने आयोजकले जानकारी दिएको छ ।  ।

प्रमुख समाचार

कर्मचारी

View All