ताजा समाचार

News

डोटीमा महिला हिंसाको प्रमुख कारण मदिरा

२०७५ श्रावण २४ बिहिबार
image not found
डोटी, २४ साउन -
 
डोटीमा महिला तथा घरेलु हिंसाको प्रमुख कारण मदिरा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशन तथा ईलाका प्रहरी कार्यालय दिपायलको आयोजनामा डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखामा बुधबार आयोजना गरिएको घरेलु तथा महिला हिंसा कार्यक्रमका सहभागिहरुले मदिराका कारण महिलाहरु हिंसामा पर्न थालेको गुनासो गरेका छन् । महिलाहरुलाई श्रीमानले मदिरा सेवन गरेर गाउ घरमा कुट पिट गर्ने गरेको कार्यक्रममा सहभागि मध्येकी एक महिला राईमती नेपालीले बताइन् ।
 
‘महिलाहरु दिनभरी घरको काममा ब्यस्त हुन्छन । श्रीमान राति रक्सी खाएर आउछन र कुटपिट गर्छन्, उनले भनिन्–‘श्रीमानको रक्सी छुटेको दिन त आनन्दले सुतिन्थ्यो ।’ श्रीमानको हिंसा सहन नसक्दा कतिपय महिलाहरु आत्महत्या समेत गर्न बाध्य हुने गरेको स्थानीयबासीहरु बताउँछन् ।
 
सो वडाका अधिकांश महिला श्रीमानले गर्ने हिंसाको कारण दिनानु दिन पीडित बन्न थालेको अर्की स्थानीय धौलीकुमारी साँउदले बताइन् । उनले भनिन्–‘वडा भरीमा रक्सी खाएर श्रीमाती नकुट्ने श्रीमान बिरलै होलान, घर परिवार बाटै श्रीमतीहरु पिडित छन् ।’ समाजको लाज तथा श्रीमानको डरका कारण आफूहरुले हिंसा गर्ने श्रीमान बिरुद्ध उजुरी गर्न नसकेको स्थानिय महिलाहरु बताउँछन् ।
 
आफनो वडामा बिक्रि हुने मदिरा नियन्त्रणका लागि प्रयास भईरहेको दिपायल सिलगढी नगरपालिका १ का वडाअध्यक्ष बहादुर खड्काले बताए । उनले भने–‘महिलाहरुको समूह तयार गरेर मदिरा नियन्त्रण गर्ने योजना बनाएको छु, मदिरा सेवन गरेर घरमा हिंसा गर्ने जो कोहीलाई पनि कार्वाहि हुने छ ।’
 
उता महिला तथा घरेलु हिंसा सम्बन्धि तालिम दिन गएका ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्रबहादुर मल्लले महिला हिंसा गर्नेलाई कानूनमा ६ महिना जेल सजाय तथा ५ हजार देखी ३० हजार सम्म जरीवाना रहेको बताए । उनले भने–‘महिला हिंसा गर्नेलाई कानुनी सजाया हुन्छ भन्ने बुझेर पनि श्रीमानको ईज्जत जोगाउन महिलाहरु हिंसा सहन बाध्य छन्,घरमा महिला हिंसा गर्नेलाई सामूहिक बहिस्कृत गर्नु पर्छ ।’
 
मदिरा सेवन गरेर घरमा श्रीमानले दुख तथा यातना दिने गरेपनि  पीडित महिलाहरु उजुरी दिन खासै प्रहरी समक्ष नआउने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । ‘डोटीमा प्रायगरी महिलाहरु श्रीमानको भरमा आश्रित हुने भएकाले श्रीमानबाट हुने घरेलु हिंसाका उजुरीहरु कमै मात्रमा आउने गरेका हुन्’ उनले भने–‘कमाई गर्ने श्रमिान नै जेलमा थुनेपछि घरमा समस्या हुने स्थिती देखेर महिलाहरु प्राय श्रीमानको हिंसा बिरुद्ध उजुरी गर्दैनन् ।’ पछिल्लो समय डोटीमा प्रहरीले यहाँका गाउ गाउमा महिला तथा घरेलु हिंसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम,तालिमहरु दिन थालेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All