ताजा समाचार

News

बाटोभन्दा पहिले पुल बनाउन माग

२०७५ श्रावण २२ मंगलबार
image not found

धनगढी २२ साउन -

कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित देवहरिया–बेहडाबाबा सडक खण्डमा पर्ने खुटिया नदीमा पुल नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । 

नदी तरेर हिड्नु पर्ने बाध्यताका कारण बर्खामा समस्या भएको हो । चुरे क्षेत्रमा बर्षा भएपछि नदीमा पानीको सतह बढ्दा ओहोर दोहोर नै बन्द हुने गरेको स्थानीयले बताएका छन् । खुटियापारिका गाउँ पथरी, धुरझन्ना, डमौलिया लगायतका स्थानीय नदी तरेर धनगढी बजारसम्म दैनिक आवत जावत गर्दै आएका छन् । 

नदीमा पुल नहुँदाको पिडा हरेक बर्षात्मा खेप्दै आएको पथरी गाउँका गङ्गुराम चौधरीले बताए । ‘नदीमा बाढी आएको बेला ओहोर दोहोर नै बन्द हुने गर्दछ’, उनले भने–‘पुल नभएकाले धेरै समस्या खेप्दै आएका छौं ।’

स्थानीयवासीका अनुसार बर्खा याममा गाउँघरमा कोही विरामी परे धनगढीसम्म पु¥याउन निकै सास्ती हुने गरेको छ । खुटियामा पानी बढेको बेला देवहरिया–बेहडाबाबा सडक भएर विरामीलाई धनगढी पु¥याउन सकिन्न । धनगढीसम्म पुग्नका लागि यो छोटो दूरीको निर्माणाधीन सडक हो । नदी तर्न नसकेको बेला विरामीलाई बनबेहडाबाट राजमार्ग भएर धनगढीसम्म पु¥याउने गरेको पथरीकै जनक चौधरीले बताए । 

‘नदीमा पुल नबनेकाले बर्खा याममा घुमाउरो बाटो भएर धनगढी पुग्नु पर्दछ’, उनले भने–‘ राजमार्ग भएर जाँदा लामो दूरी पर्ने भएकाले बाटोमै विरामीले ज्यान गुमाउनु पर्ने खतरा पनि रहन्छ ।’ 

नदीमा पुल नहुँदा धेरै सास्ती खेप्दै आएकाले निर्माणाधीन देवहरिया–बेहडाबाबा सडकभन्दा पहिले नदीमा पुल बन्नु पर्ने स्थानीयको माग छ । ‘रोड भए पनि नभए पनि त्यसले खासै फरक पर्दैन’, चौधरीले भने–‘तर, पुल नहुँदा धेरै समस्या छ । बाटोभन्दा पहिले पुल बनाइ दिए धेरै नै सहज हुने थियो  ।’ 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ स्थित विभिन्न गाउँमा तरकारी खेती पनि प्रशस्त मात्रामा गरिन्छ । सो क्षेत्रका कृषक दिनहुँ तरकारी बिक्री गर्नका लागि धनगढी बजारसम्म पुग्ने गर्दछन् । बर्खा याममा नदी तर्न कठिनाइ भएपछि उत्पादित तरकारीको बजारीकरणमा पनि समस्या हुने गरेको गङ्गु चौधरीले सुनाए । 

‘नदीमा बाढी आएको बेला साइकलमा राखेर धनगढीसम्म तरकारी पु¥याउन सकिन्न’, उनले भने । पुल नहुँदाको पिडा खेप्दै आएका स्थानीयको माग अनुसार खुटिया नदीमा १५० मिटर लामो पुल निर्माण गरिदैंछ । आर्थिक वर्ष २०७४÷०७५ को असारबाट पुल निर्माणको काम थालिएको हो । धनगढीको सपना केएस जेभीले उक्त पुल निर्माणको काम गरिरहेको छ । 

उक्त निर्माण कम्पनीले एक वर्षको अवधिमा पुलको ‘फाउण्डेशन’ तयार गरेको छ । निर्माण कम्पनीले एक वर्षमा सन्तोषजनक काम गरेको जनाउँदै डिभिजन सडक कार्यालय महेन्द्रनगरका इञ्जिनीयर महेन्द्रराज पन्तले यहि गतिमा काम भए निर्धारित समयमा पुल निर्माणको कार्य सम्पन्न हुने बताए । 

‘निर्माण कम्पनीले एक वर्षको अवधिमा धेरै राम्रो काम गरेको छ’, उनले भने–‘यहि गतिमा काम भएमा निर्धारित समयमा पुल निर्माणको कार्य सम्पन्न हुन सक्छ ।’ उक्त पुल निर्माणको समायवधि तीन वर्ष रहेको छ । 

बजेटको कारणले निर्माण कार्य प्रभावित नभएमा दोस्रो वर्षमै पुलमाथि गाडी समेत गुडाउन सक्ने गरी निर्माण कार्य अगाडि बढ्ने इञ्जिनीयर पन्तले विश्वास व्यक्त गरे । उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले खुटिया नदीकै गिट्टी र बालुवा प्रयोग गरिरहेको छ । कम्पनीले पुल निर्माण स्थलमै क्रसर उद्योग सञ्चालन गरेर पुल बनाउने काम गरिरहेकोले निर्माण कार्य सन्तोषजनक रहेको इञ्जिनीयर पन्तले बताए ।  

केन्द्रीय योजना अन्तर्गत डिभिजन सडक कार्यालय कञ्चनपुर मार्फत निर्माण भइरहेको पुलको भ्याट बाहेकको लागत १४ करोड २१ लाख २४ हजार रुपिया रहेको छ । पुल निर्माण भएमा वडा नम्बर १७ मा पर्ने विभिन्न गाउँका स्थानीय सहित बर्सेनि बेहडाबाबा मन्दिरको दर्शन गर्न आउने तिर्थालुहरुलाई समेत आउजाउ गर्न सहज हुने जनाइएको छ । गङ्गा दशहरा लगायतको अवसरमा भारतबाट समेत हजारौं तिर्थालु बेहडाबाबा मन्दिरको दर्शन गर्न आउने गर्दछन् । 

प्रमुख समाचार

कर्मचारी

View All