ताजा समाचार

News

सीमान्तकृत बालिकाका लागि ब्यूटीसियन तालिम

२०७५ श्रावण २२ मंगलबार
image not found

धनगढी २२ साउन -

सीमान्तकृत बालिकाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले धनगढीमा सोमबारदेखि आधारभूत ब्यूटीसियन तालिम सुरु गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरे । विभिन्न कारणले पढ्न नपाएका, एसईई उत्तीर्ण गर्न नसकेका बालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुलाई स्वरोजगार बनाउनु पर्ने सोंचमा नगरपालिका रहेको उनले बताए । 

वडले भने–‘सीमान्तकृत, एकल महिला, मुक्त कमैया, कमलरीहरुको क्षमता बढाउनका लागि नगरपालिका विभिन्न सामाजिक संघसंस्थासंग हातेमालो गर्न तयार छौं ।’ उनले तालिमका नाममा तालिम दिने र लिने कार्यको अन्त्य हुनुपर्ने पनि बताए । 

बेस नेपालमा कार्यक्रम संयोजक लक्ष्मण चौधरीले धनगढी उपमहानगरपालिकाका ३० वटा विद्यालयमध्ये १४ वटा विद्यालयमा आफूहरुले सीमान्तकृत बालिकाका लागि काम गरिरहेको बताए । उनले भने–‘विभिन्न सिकाई केन्द्रहरु मार्फत सीमान्तकृत बालिकाको क्षमता बढाउने काममा संस्था लागेको छ ।’

गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हेमकर्ण विकले गैसस महासंघ सदैव समाजिक र आर्थिक रुपमा पछाडि परेकाहरुको जीवनस्तरमाथि उठाउने काममा लागेको बताए । तालिम उद्घाटन कार्यक्रममा बोल्दै मर्सिकोरका अनुप केसीले सीमान्तकृत बालिकाहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारसंग आफूहरु समन्वय र सहकार्य गरेर काम गर्ने बताए । 

थारुवान मल्टी स्कील इन्स्टीच्यूटका अध्यक्ष यज्ञराज पाण्डेले आफूहरुले दिने तालिमले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मान्यता पाउने बताए । उनले भने–‘यहाँको प्रमाणपत्र लिएर विदेशमा समेत काम पाउन सकिने हुन्छ ।’

तालिम थारुवान मल्टी स्किल इन्स्टीच्युट आयोजनामा ३ महिना संचालन हुने भएको छ । तालिम यूकेएडको आर्थिक, मर्सिकोरको प्राविधिक सहयोग रहेको छ । बेस नेपालको स्टेम कार्यक्रम र  थारुवान मल्टी स्कील इन्स्टीच्युटबीच सम्झौता भएर तालिम संचालन भइरहेको थारुवान मल्टि स्कील इन्स्टीच्युट प्रमुख देबबहादुर धामीले बताए । 

प्रमुख समाचार

कर्मचारी

View All