ताजा समाचार

News

मुख्यमन्त्री कार्यालय अगाडि अण्डा फुटाएर विरोध

२०७५ श्रावण २२ मंगलबार
image not found

धनगढी २२ साउन -


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्नु पर्ने माग गर्दै आन्दोलित कैलालीका किसान र व्यवसायीले सोमवार मुख्यमन्त्री कार्यालय परिसर पुगेर विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गेट अगाडि अण्डा फुटाएर, चल्ला छोडेर विरोध जनाएका हुन । आन्दोलित किसानले गेट अगाडि दूध समेत पोखेका थिए । 

कृषि तथा पशुजन्य उत्पादन र आपूर्तिमा महत्वपूर्ण स्थान ओगटेको कैलालीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना हुनु पर्ने यहाँका किसान तथा व्यवसायीको माग छ ।

सङ्घीय सरकारले प्रदेश नम्बर ७ को बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुर गरी पाँच जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापनाको प्रस्ताव गरेको छ । तर, पशुजन्य उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको कैलालीलाई उपेक्षा गर्न नहुने किसान र व्यवसायीको जिकिर छ । उनीहरुले संयुक्त सङ्घर्ष समिति गठन गरेर आइतवारदेखि आन्दोलन थालेका छन् । 

कैलालीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएमा किसानले सुविधा पाउने, पूर्वाधारको विकास हुने, कृषिमा प्रविधिको प्रयोग बढ्ने लगायतका फाइदा हुने सङ्घर्ष समितिका सदस्य समेत रहेको अत्तरिया कृषि उपज थोक बजारका अध्यक्ष नन्दलाल भट्टले बताए । ‘तर, सरकारले यहाँका किसानलाई यी सेवा सुविधा पाउनबाट बञ्चित गर्ने प्रयास गर्दैछ’, उनले भने । 

यो प्रदेशको प्रमुख आर्थिक मेरुदण्ड कैलाली रहे पनि यहाँका किसानलाई सङ्घीय सरकारले प्रोत्साहन गर्नुको सट्टा मनोबल घटाउने नीति लिएको भट्टले आरोप लगाए । 

माग पूरा नभएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिले जनाएको छ । आन्दोलनकै क्रममा जिल्लाको अत्तरिया बजार, लम्की, टीकापुर लगायतका क्षेत्रमा विरोध ¥याली, विरोध सभा गर्ने समितिले जानकारी दिएको छ । फोटो क्याप्सन ः प्रदेश नम्बर ७ को मुख्यमन्त्री कार्यालय अगाडि अण्डा फुटाएर, चल्ला छोडेर विरोध प्रदर्शन गरिदैं । 

प्रमुख समाचार

कर्मचारी

View All