ताजा समाचार

News

संघीय संसद प्रतिनिधिसभा अन्तरगत चार समितिको पहिलो बैठक

२०७५ श्रावण २१ सोमबार

संघीय संसद प्रतिनिधिसभा अन्तरगतका चार समितिको पहिलो बैठक आज बसेका छ । सार्वजनिक लेखा, कानुन, न्याय तथा मानव अधिकार, विकास तथा प्रविधि र शिक्षा तथा स्वास्थ्य समितिको पहिलो बैठक आज बसेको हो ।

प्र्रतिनिधिसभा गठन भएको पाँच महिनापछि पहिलो पटक सार्वजनिक लेखा समितिको बैठक बसेको हो । सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुबीच परिचय गर्दै कार्यविधिका विषयमा सामान्य छलफल गरिएको छ । समितिको निर्वाचन नभएसम्म जेष्ठ सदस्य श्रीवास्तवले नै समितिको बैठकको अध्यक्षता गर्नु हुनेछ । बैठकको अध्यक्षता समितिमा जेष्ठ सदस्य विमलप्रसाद श्रीवास्तवले गरेका थिए ।

२७ सदस्यीय समितिको कार्य क्षेत्र भित्र सार्वजनिक लेखा र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन रहेका छन् । नेपाल सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन संविधानको धारा ९७ बमोजिम विषयगत समितिहरुको गठन गरिएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समिति
त्यस्तै संघीय संसद प्रतिनिधिसभा अन्तरगत कानुन, न्याय तथा मानव अधिकार समितिको पहिलो बैठक बसेको छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा समितिको पहिलो बैठक बसेको हो । सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुबीच कार्यविधिका विषयमा सामान्य छलफल गरिएको छ । समितिको कार्य क्षेत्र भित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलय, न्याय परिषद, न्याय सेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेकाछन् । २३ सदस्यीय समितिमा सभापति चयन नभएसम्म जेष्ठ सदस्य कर्णले नै बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

विकास तथा प्रविधि समिति
त्यसै गरी सोही अन्तरगतको विकास तथा प्रविधि समितिको पहिलो बैठक पनि बसेको छ ।
समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाको अध्यक्षतामा विकास तथा प्रविधि समितिको पहिलो बैठक बसेको हो । सिंहदरबारमा बसेको समितिको बैठकमा कार्यविधिका विषयमा सामान्य छलफल गरिएको छ । बैठकमा समितिका सदस्यहरुले भवन निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारलाई सचेत गराउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

समितिको कार्य क्षेत्र भित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रहेका छन् । २७ सदस्यीय समितिको सभापति चयन नभएसम्म बैठकको अध्यक्षता जेष्ठ सदस्य लामाले नै गर्ने व्यवस्था छ । प्रतिनिधिसभा गठन भएको पाँच महिनापछि गत बिहिबार सो समिति गठन गरिएको थियो ।

शिक्षा तथा स्वास्थ्य समिति
त्यसै गरी शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि आज बसेको छ । प्रतिनिधिसभा गठन भएको पाँच महिनापछि पहिलो पटक शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेको हो । समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा समितिको कार्यविधिको बारेमा सामान्य छलफल गरिएको छ । छलफलमा भाग लिँदै समितिकी सदस्य चित्रालेखा यादवले सम्बन्धित मन्त्रालयले गरेका निर्णयको अनुगमन हुने गरी समितिको कार्यविधि तय गर्नुपर्ने बताईन् । उनले सम्बन्धित मन्त्रालयलाई आफ्नो काममा प्रतिवद्ध गराउन पनि समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

समितिका अर्का सदस्य गजेन्द्रबहादुर महतले प्रदेश सरकारको अधिकार हस्तक्षेप नहुने गरी सम्बन्धित मन्त्रालयको कामलाई अनुगमन गर्ने कार्यविधि बनाउनुपर्नेमा जोड दिए । उनले समितिले सरकारको काम जनतालाई थाहा पाउने गरी आफ्नो कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औल्याए ।

समितिको कार्य क्षेत्र भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । ती मन्त्रालयहरुको काम कार्वाहीको अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सुझाव दिने काम समितिले गर्दछ । २३ सदस्यीय समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र युवा तथा खेलकुद मन्त्री पदेन सदस्य रहने व्यवस्था गरिएको छ । संघीय संसद नियमावली अनुसार सभापति चयन नभएसम्म समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य विश्वकर्माले नै गर्नेछन् ।

प्रमुख समाचार

कर्मचारी

View All