ताजा समाचार

News

मदिरा सेवन गरी पौडी खेल्ने क्रममा दुई महिनामा २५० जनाको मृत्यु

२०७५ श्रावण १९ शनिबार

पोल्याण्ड -

पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ । 

पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ नजिक वनभोज तथा पारिवारिक जमघटका लागि जाने र भोजका क्रममा अत्यधिक मदीरा सेवन गरी पौडी खेल्ने क्रममा बर्षेनी सयौँ नागरिकको डुबेर मृत्यु हुने गरेको पोल्याण्डको प्रहरीका प्रवक्ता मार्जेना अजिन्स्काले बताए । 

यस बर्षको जुलाई महिनामा मात्र ७५ जनाले ज्यान गुमाएका थिए भने यो महिना पनि १० जनाको मृत्यु भइसकेको उनले बताए । 

मृतकमध्ये अधिकाँश ५० बर्ष माथिको उमेर समूहका नागरिक रहने गरेको पाइएको प्रहरीले जनाएको छ । मृतकमध्ये ३१ देखि ५० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या पनि धेरै नै रहने गरेको प्रहरीले जनाएको छ । 

गत बिहीबार पनि वनभोजमा अत्यधिक मदीरा सेवन गरी सुरक्षाकर्मीद्वारा निरीक्षण नपुग्ने तालको भित्रीक्षेत्रमा पौडी खेल्ने क्रममा दुई सहोदर दाजुभाईको मृत्यु भएको हो । मृतकमध्ये एक जनालाई प्रहरीले तत्कालै उद्धार गर्न खोजे पनि उद्धार प्रयास विफल भएको थियो । 

पोडी खेल्ने क्रममा मृत्यु हुने महिलाको सङ्ख्या भने १५ प्रतिशतमात्र रहेको र डुबेर मृत्यु हुने अधिकांश स्थानहरू ताल तथा नदीका क्षेत्रहरू रहेको बताइएको छ । पोल्याण्डमा गत वर्ष पनि ताल तथा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ४४९ रहेको प्रहरीले बताएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All