ताजा समाचार

News

३० वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

२०७५ श्रावण १९ शनिबार

काठमाडौं, साउन १९ -

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एकदिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा १ रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो ।

२१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै २१५ रनमात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै, नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धशतक प्रहार गरे । ६९ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे ।

सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने ८, अनिलकुमार साह ४, ललित भण्डारी ४, रोहितकुमार पौडेल ६ तथा वसन्त रेग्मीले १ रनमात्र जोडे । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले ३ विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले २/२ विकेट लिए ।

दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । योसँगै दुई खेलको शृंखला एक/एकको बराबरीमा सकिएको छ ।

सन् १९८८ मा आइसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिबियामा गत चैतमा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो । सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले ८ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो ।

नेपालले सन् १९९६ मा आइसीसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो । सुरुआतमा नेपालले आइसीसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो ।

सन् २००८ मा नेपाल फिजीसँग हार्दा दुई वर्ष डिभिजन–५ मै रह्यो । सन् २०१० मा भने घरेलु भूमिमा आयोजना भएको डिभिजन–५ प्रतियोगितामा अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन नै बन्यो । त्यही वर्ष नेपालले डिभिजन–४ खेल्ने अवसर पाएको थियो । इटालीमा भएको डिभिजिन–४ मा नेपाल तेस्रो स्थानमै सीमित बन्यो ।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो । नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो । सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो । डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थानसमेत बनाएको थियो ।

एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन–३ को दोस्रोपटक विजेता बन्यो । २०१४ मै नेपालले टी–ट्वेन्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो । तर, चौथो स्थानमा सीमित भयो । यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो ।

दुई वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौं स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो । सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

लगत्तै जिम्बाब्वेमा भएको विश्वकप छनोटमा समूह चरणबाट बाहिरिएपनि नेपालले प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाउने कान्छो टोली बन्न सफल भयो ।नेपालसहित ‘वान डे’ मान्यता पाउने टोलीको संख्या अब २३ पुगेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All