ताजा समाचार

News

जडीबुटी निकासीमा शुल्क नलिइने

२०७५ श्रावण १८ शुक्रबार

नेपालगञ्ज, साउन १८ गते -

जीडबुटी निकासीका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हालसम्म लिँदै आएको अतिरिक्त पाँच प्रतिशत शुल्क अबदेखि नलिने भएको छ । सङ्घले जडीबुटी व्यवसायीलाई निकासीका लागि आवश्यक ‘सर्टिफिकेट अफ ओरिजन’बापत लिँदै आएको पाँच प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेको हो । झण्डै २० वर्षदेखि लिइँदै आएको सो शुल्क अबदेखि नलिने निर्णय गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । 


यस क्षेत्रका जडीबुटी व्यवसायीले करिब १५ वर्षदेखि सो अतिरिक्त शुल्क हटाउन माग गर्दै आएकोमा यस पटक सो शुल्क नलिने निर्णयमा सङ्घ पुगेको उहाँले जनाउनुभयो । जडीबुटी निकासीका लागि सर्टिफिकेट अफ ओरिजनको अधिकार सरकारले यस क्षेत्रका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घलाई दिएको छ । नियमित शुल्कमा कटौती गरिएको होइन, अध्यक्ष वैश्यले अतिरिक्त पाँच प्रतिशत सङ्घको भवनका लागि लिइँदै आएको रकम नलिने निर्णय गरिएको जानकारी दिँदै भन्नुभयोे, सङ्घको आफ्नै भवन बनेको पनि निकै वर्ष भइसकेकाले त्यो रकम लिइरहनु न्यायोचित थिएन । सङ्घले जडीबुटी निकासीमा प्रतिसयमा १७ पैसा लिँदै आएकोमा अबदेखि १२ पैसा मात्रै लिनेछ । उक्त रकममध्ये छ पैसा उद्योग वाणिज्य महासङ्घमा जाने अध्यक्ष वैश्यले जानकारी दिनुभयो । 


भारत सरकारले समेत जडीबुटी निकासीमा विभिन्न करलगायत झण्झट थपेको कारण निकासी घट्दै गएकोले निकासीमा प्रोत्साहनको उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ । सरकारले पनि प्रोत्साहनको नीति अघि सारोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष वैश्यले बताउनुभयो । पछिल्ला दिनमा स्थानीय तहले बढाएको करको दर र दायराबारे पनि सङ्घले सम्बन्धित निकायसँग छलफल र अन्तक्र्रिया गर्ने बैठकबाट निर्णय भएको अध्यक्ष वैश्यले जानकारी दिनुभयो । जन्मदेखि मृत्युसम्मका घटना दर्तामा मनपरी कर बढाइएको छ, अध्यक्ष वैश्यले भन्नुभयोे, यसले उद्योगी, व्यवसायी मात्रै होइन आम जनसाधारणलाई पनि समस्या सिर्जना गरेकाले त्यसबारे छिट्टै नेपालगञ्ज उपमहानगरपालिकासँग छलफल गरिनेछ । व्यवसायी करबारे निरन्तर छलफलपछि निकास निकालेको सङ्घले घटना दर्तालगायतका करबारे सुधार हुनेमा विश्वस्त रहेको अध्यक्ष वैश्यले बताउनुभयो । 


उता, नेपाल जडीबुटी व्यवसायी सङ्घले अतिरिक्त शुल्क हटाइएकोमा खुसी व्यक्त गर्दै लामो समयदेखि गर्दै आएको माग पूरा भएको जनाएको छ । सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको भवन धेरै वर्ष पहिले बने पनि पाँच प्रतिशत अतिरिक्त शुल्क लिँदै आएकोमा व्यवसायीलाई थप भार पर्दै आएकोमा अब सो भार नपर्ने बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All