ताजा समाचार

News

भारतको पहाडगञ्जबाट ३९ नेपाली महिलाको उद्धार

२०७५ श्रावण १६ बुधबार
image not found

साउन १६ -

भारतको पहाडगञ्जबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ। दिल्ली महिला आयोगको सहयोगमा पहाडगञ्जबाट ३९ नेपाली महिलाको उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ। यसअघि मंगलबार मात्रै भारतकै मैदानगढीबाट प्रहरीले १९ जना नेपाली महिलाको उद्धार गरेको थियो।

ती महिलालाई दिल्ली महिला आयोग, नेपाली दूतावास र स्थानीय प्रहरीको सहयोगमा उद्वार गरिएको हो। उद्वार गरिएका महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेका थिए। मानव ओसारपसारका माध्यमबाट उनीहरुलाई खाडी मुलुकमा जबरजस्ती देह व्यापारमा लगाइन्छ भन्ने उजुरीका आधारमा उनीहरुको उद्धार गरिएको हो।

एक सातामा ७३ नेपाली महिलाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसै क्रममा नेपाली महिलाको पासपोर्ट पनि बरामद गरिएको छ। अवैध रुपले तेस्रो मुलुक पठाउने भन्दै दिल्लीका विभिन्न स्थानमा नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट आएको प्रहरी, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसका स्थानीय प्रहरीको संयुक्त टोलीले सम्भावित ठाउँमा छापा मारेको थियो।

उक्त प्रकरणमाथि छानबिन गरिरहेको बनारस प्रहरीकै सूचनाका आधारमा दूतावासका प्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको हो। उद्वार गरिएका महिलाहरुलाई दिल्ली महिला आयोगको आश्रय स्थलमा राखिने र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने दूतावासले जनाएको छ। यसअघि गत मंगलबार मध्यरातमा उद्वार गरिएका नेपाली महिलाहरुलाई दूतावासले मंगलबार बिहान नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं पठाएको थियो।

प्रमुख समाचार

कर्मचारी

View All