ताजा समाचार

News

चीनका ‘युद्ध नायक’ झु नेपाल आउँदै

२०७५ श्रावण ११ शुक्रबार
image not found

सरकारले चीनका युद्ध नायक जनरल झु झुचेङलाई नेपाल भ्रमणको निम्तो दिएको छ। राष्ट्रपति सि चिनफिङ निकट सैन्य कमाण्डर झुचेङ सन् १९७९ को चीन–भियतनाम युद्धमा नायकको उपाधी पाउने सैन्य अधिकारी हुन्।

 

चीनको जनमुक्ति सेनाको केन्द्रीय सैन्य आयोगका ज्वाईन्ट स्टाफ झुचेङलाई रक्षा मन्त्रालयको प्रस्तावमा नेपाल भ्रमणको निम्तो दिइएको हो। मन्त्रीपरिषद्को २० असारको बैठकले झुचेङलाई नेपाल भ्रमणको निम्तो दिन रक्षालाई स्वीकृति दिएको थियो।

 

झुचेङले चीन–भियतनाम युद्धमा देखाएको बहादुरीको कदर गर्दै चीनको केन्द्रीय सैन्य आयोगले उनी संलग्न गणलाई ‘नायक गण’ र उनलाई युद्ध नायकको उपाधी दिएको थियो। १७ वर्षको उमेरमा चिनियाँ जनमुक्ति सेनामा भर्ना भएका झुचेङले २६ वर्षको उमेरमा भियतनामसँग भएको युद्धको कमाण्डर भएर गुआन्छी मोर्चा सम्हालेका थिए।

 

कम्बोडियामा चीन समर्थक खमेररुजको सत्ता रहेका बेला भियतनामले कम्बोडियामाथि आक्रमण गरेपछि चीनले खमेररुजको सत्ता जोगाउन भियनाममाथि आक्रमण गरेको थियो। राष्ट्रपति सीले दुई वर्षअघि केन्द्रीय सैन्य आयोगको महत्वपूर्ण जिम्मेबारीमा ल्याएका झुचेङ स्थल सेना कमाण्डर थिए। अहिले उनले जनमुक्ति सेनाको चेङ्दु सैन्य कमाण्डको जिम्मेबारी सम्हालेका छन्।

 

सबैभन्दा सानो उमेरमा चीनको शक्तिशाली ४१ औँ सैन्य समूहको कमाण्ड सम्हालेर चर्चामा आएका झुचेङ भूराजनीतिक र सैन्य कुटनीतिका प्रखर मानिन्छन्। राष्ट्रपति सीसँग निकट रहेर काम गरिरहेका झुचेङले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतसँग भेटवार्ता गर्नेछन्।

 

नेपाल–चीन संयुक्त सैन्य अभ्यास दुई वर्षअघि सुरु भएपछि चीनका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ। यसै सिलसिलामा केही समयअघि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले चीन भ्रमण गरेका थिए। जनरल झुचेङको नेपाल भ्रमण तालिका र उनको आगमन मिति गोप्य राखिएको छ।

प्रमुख समाचार

कर्मचारी

View All