ताजा समाचार

News

सम्झनामा आदिकवि भानुभक्त आचार्य

२०७५ असार ३१ आइतबार

यो संसारमा कति जन्मन्छन् कति मर्छन् तर कति भने मरेर पनि संसार, समाज र समूहमा सदैव स्मरण रहँदै जीवित रहेका हुन्छन् । त्यस्तै नेपाली साहित्याकाशका पहिला जगमगाउँदा तारा भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते आइतबारका दिन कौडिन्य गोत्रीय ब्राह्मण श्रीकृष्ण आचार्यका नाति, धनञ्जय आचार्य र धर्मावतीदेवीको एक मात्र पुत्ररत्नका रूपमा आजभन्दा २०४ वर्ष अगाडि तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने गाउँमा भएको थियो ।

उनका बाबु धनञ्जय आचार्य पाल्पा मालमा खरिदार भएकाले छोराको रेखदेखमा ध्यान दिन पाएनन् तर पछि उनका बाजे काशी कल्पवासमा गएपछि त्यही उनले दुई वर्षसम्म संस्कृतको राम्रो अध्ययन गरेका थिए । संस्कृत साहित्य तथा व्याकरण सँगसँगै यिनले ज्योतिष पनि पढेका थिए । बाजेको मृत्युपछि उनले घर फर्कनु प¥यो र त्यही समयमा उनले घाँसीबाट प्रेरणा पाइ इतिहासमा अमर रहने कार्यको सोच बनाएर रामायण लेख्नतिर लागे । कवि भानुभक्त काठमाण्डौमा पहिलोपल्ट वि.सं. १८९६ मा प्रवेश गरेका हुन् भने ३७ वर्षको उमेरमा १९०७ मा उनले पाल्पामा खरिदारको जागिर खाए । जागिर खाएको दुई वर्षमै वि.सं. १९०९ मा उनले आफनो जागिरबाट हात धुनु प¥यो । पिताको दण्डस्वरूप पाएको सजाए भानुभक्तका लागि ठुलो वरदान बन्न पुग्यो र पाँच महिनाको जेल सजाएमा यिनलाई रामायणका अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धा काण्ड र सुन्दरकाण्ड तयार पार्ने मौका जु¥र्यो । 


नेपाली साहित्यकै इतिहासमा सबैभन्दा चर्चामा आएका र प्रायः सबैद्वारा लेखिएका तथा अध्ययन भएका प्रतिभा भानुभक्त नै हुन् । जति यिनका बारेमा लेखिएको छ त्यति अन्य साहित्यकारका बारेमा लेखिएको छैन । यसै आधारमा के भनिएको पाइन्छ भने श्री ५ पृथ्वीनारायण शाहले टुक्रिएको नेपालको भौगोलिक एकीकरण मात्र गरे, तर भानुभक्तले विशेष गरी रामायणमार्फत् टुक्रिएको, क्षतविक्षत र आहत नेपाली मुटुको एकीकरण गरे, भाषिक, सामाजिक, साँस्कृतिक र भावनात्मक एकीकरण गरे ।  भानुभक्त प्रदत्त नेपाली भाषाका कारण संसारभरीका नेपालीहरूका बिच भाषिक एकता कायम हुन सकेको छ । चाप्लुसी र खुसामद गर्न नजान्ने उनले अड्डाका कर्मचारीको भोलि भोलि भन्ने प्रवृत्तिको कवितामै यसरी वर्णन गरेका छन् |


बिन्ती डिट्ठा बिचारीसित कति म गरुँ चुप् रहन्छन् नबोली । 
बोल्छन् ता ख्याल् गया झैँ अनिपछि दिनदिन् भन्दछन् भोलि–भोलि ।
की ता सक्तीनँ भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि 
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।


रामायण लेखन पश्चात् १९१० मा प्रश्नोत्तरी र भक्तमाला, १९१९ मा वधूशिक्षा १९२५ मा रामगीता र १८८९ देखि १९२५ सम्म विभिन्न फुटकर रचनाहरू देखिएका छन् । नेपाली भाषा साहित्यको उत्पत्ति, उत्थान र विकासमा आदिकवि भानुभक्तको विशेष योगदान रहेको छ । उनका सबै कवितामा संगीतको अविच्छिन्नता मौलिक आस्वाद पनि उत्तिकै अनुभव गर्न सकिन्छ । नेपाली कविताको सिङ्गो प्राथमिक कालको प्रतिनिधित्व गर्ने कवि आचार्य कालज्वरले ग्रस्त भै ५४ वर्षको उमेरमा वि.सं. १९२५ असोज ६ गतेका दिन एकमात्र छोरा रमानाथ आचार्य र पत्नी रेवतीदेवी आचार्यलाई छोडेर सदासदाका लागि यस भौतिक संसारबाट बिदा भए पनि नेपाली भाषा साहित्यका अनुरागीहरूका माझ उनी कहिल्यै नअस्ताउने भानु भएर चम्किरहेका छन् ।


योगदान
नेपाली भाषासाहित्यमा भानुभक्त आचार्यले निकै ठुलो योगदान गरेका छन् । जसको परिणाम स्वरूप उनलाई आदिकविको सम्मान प्राप्त भएको छ । राष्ट्रभाषा नेपालीका प्रमुख प्रचारक बनेर साहित्यका माध्यमबाट नेपाली जनजीवनका आस्था, विश्वास र व्यवहारिक पक्षलाई समेट्दै यिनले देश र समाजमा नेपाली भाषाप्रतिको प्रेममा बढावा दिएका छन् । संस्कृत भाषा र पुराणको वर्चस्व भएको तत्कालीन समयमा नेपाली भाषालाई छुट्टै पहिचान र मौलिकतामा हिँडाउने कामको लागि मर्यादा पुरुषोत्तम श्रीरामको महिमालाई आधार बनाएर भाषिक र आध्यात्मिक जगत्मा मौलिक पहिचान स्थापित गराउन भानुभक्तले ठुलो चुनौतीको सामना गर्नु परेको थियो । साहित्यिक रचनाका माध्यमबाट समाजमा धर्म, दर्शन, संस्कृति, सभ्यता, नैतिकता, आदर्शता, प्रेम र सत्यताको पाठ सिकाउनु भानुभक्तको योगदान हो ।

भौतिक उन्नति र विकासका नाममा समाज र परिवारमा भित्रिएका विभिन्न विकृतिलाई भातृप्रेम, पतिपत्नी प्रेम, पुत्रप्रेम, कर्तव्यपरायणता, प्रजावत्सल, आज्ञाकारीता, विनयशीलता स्वामीभक्तिका माध्यमबाट परिवर्तन गराउने ध्येय राखेर रामायण जस्तो महाकाव्यात्मक ओज, गुण, गरिमा र संरचनायुक्त कृतिको रचना गर्नु अर्काे ठुलो योगदान हो । भाषा, साहित्य, संस्कृति, सभ्यता, धर्म, दर्शन हाम्रा चिनारी हुन् । नेपाली भाषालाई सामान्य र तुच्छ ठान्ने तत्कालीन पण्डितहरूका विपक्षीमा जनपक्ष लिएर देवभाषा संस्कृतमा मात्र होइन नेपाली भाषामा र संस्कृत भाषाका पुराण मात्र नभइ तिनको नेपालीकरण गरी नेपाली राष्टूभाषाको काव्यात्मक जग बसालेर त्यसको गुणात्मक उचाइ हाँसिल गर्नु भानुभक्तको नेपाली भाषा र साहित्यप्रतिको योगदान हो भने त्यही युग अनुसारको प्रगतिशीलता पनि हो । एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, पितृप्रेम, भातृप्रेम, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयमा समन्वय एवम् समष्टि भाव भित्र्याएर नेपाली राष्ट्रियतामा पु¥याएको योगदान स्वरूप यिनलाई नेपालका राष्ट्रिय विभूतिजस्तो गरिमामय सम्मान प्राप्त छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण संसारभरीका नेपालीभाषीहरूका बिच भाषिक 
एकता कायम हुन सकेको छ । त्यही भानुभक्तीय रामायणको आत्मामा बसेको नेपाली भाषाले नै उनलाई अमर बनायो । 
भानुभक्तलाई नेपाली भाषाका प्रथम आदिकवि मानिएको छ । यो उनको उपाधि या विशेषण मात्र नभएर उनको समकालीन नेपाली कविताकै साङ्केतिक नाम हो । जनताको दिललाई नछोएसम्म र त्यसको स्पन्दनसँग नमिसिएसम्म कविताले आफ्नो अस्तित्व प्रमाणित गर्न सक्दैन भन्ने कुरा भानुभक्तले त्यहाँ देखाइ दिएका छन् । भानुभक्त पूर्वका कविहरूले टुटेफुटेका अभिव्यक्तिमा कविता रचेका र सीमित परिधि ओगटेकाले तिनले कविताको सग्लो अनुहार प्रस्तुत गर्न सकेका थिएनन् । त्यस बेलामा केवल भानुभक्तले नै कविताको वास्तविक पहिचान गराएका थिए । त्यसैले उनी नेपाली भाषसाहित्यका आदिकवि हुन् । 


कविताको वास्तविक मर्म बुझेर लेख्ने कवि भानुभक्त नै हुन् । त्यसैले भानुभक्त नै 
आदिकवि हुन् । मोतीरामले भानुभक्तलाई दिएको आदिकवित्वको उपाधिले त्यति धेरै चर्चा पाएको थिएन वि.सं. १९९७ मा जुद्धशमशेरले भानुभक्तलाई आदिकवि मान्नुपर्ने धारणा राखेपछि उनको आदिकवि निकै चम्किलो भयो । सूर्यविक्रम ज्ञवाली द्वारा सम्पादित भानुभक्त स्मारक ग्रन्थ (१९९७) मा जुद्धशमशेरको भनाइ यस्तो छ ः अध्यात्म रामायण लाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी उतारी रामरस फैलाउने कवि भानुभक्त आचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ ।


यसपछि मात्र भानुभक्त आधिकारिक आदिकवि बनेका हुन् । आफूलाई पाश्चात्य चेतनाका आधिकारिक विद्वान् प्रमाणित गर्न खोज्नेहरू उत्तरआधुनिकता र प्रगतिशीलका नाममा सिधासाधा लेखक र पाठकका दिमागमा काल्पनिक वितण्डा मच्चाइ रहेका छन् । भानुभक्तलाई विवादमा तान्नेहरू  उनको वधूशिक्षालाई विवादको विषय मान्ने गर्दछन् । वधूशिक्षामा तत्कालीन समयका नारीलाई भानुभक्तले उपदेश दिएका छन् । समाजपरक समालोचनाका जन्मदाता हिपोलाइट टेनका आधारमा हेर्ने हो भने वधूशिक्षाका आधारमा भानुभक्तलाई गाली गर्न मिल्दैन किनभने कुनै पनि साहित्यकार र साहित्यको समालोचना वा समीक्षा गर्दा जाति, युग र पर्यावरण लाई आधार मानेर लेख्नु पर्दछ ।

यी तिन कुराको हेक्का नगरीकन कुनै साहित्य र साहित्यकारको मूल्याङ्कन गरियो भने त्यो सही हुँदैन नाइन्साफि हुन्छ । यदि कसैले समालोचना गर्छ र स्थापित सिद्धान्त बेगर कृति र कृतिकारको आलोचना गर्दछ भने त्यो सही समालोचना नभई केवल मनको बह मात्र हो । सिद्धान्त बिनाका मनका बह वैज्ञानिक हुँदैनन् । आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यको उपजीव्यका रूपमा प्रयोग गरिएको छ । नेपाली कविता साहित्यको रामभक्तिधारा अन्तगर्त रहेर काव्य सिर्जना गर्ने कवि आचार्य उत्तरवर्ती साहित्यकारहरूका लागि उपजीव्य रूपमा देखिएका छन् । आधुनिक नेपाली सहित्यमा भानुभक्तलाई विभिन्न विधामा विषयवस्तुका रूपमा पनि प्रयोग गरिएको छ । उनलाई उपजीव्यका रूपमा पहिलो पटक प्रयोग समालोचना विधामा गरिएको छ र यही विधामा भानुभक्त सम्बन्धी धेरै लेखिएको छ । कविता विधामा सर्वप्रथम महाकवि देवकोटाले वि.सं १९९५ सालमा घाँसी कवितामा भानुभक्तलाई उपजीव्य बनाइएको छ । यसमा देवकोटाले भानुभक्तलाई प्रथम ध्वनि को संज्ञा दिँदै नेपाली साहित्यको सुन्दर शुक्रताराका रूपमा चिनाएका छन् । कविता विधाका साथै देवकोटाले उनलाई निबन्ध विधामा पनि उपजीव्य रूपमा ग्रहण गरेका छन् । वि.सं. २००२ सालमा नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष शीर्षकको निबन्ध लेखेर भानुभक्तलाई नेपाली साहित्यमा सर्वश्रेष्ठ व्यक्तिका रूपमा उल्लेख गरिएको छ । नाट्यसम्म्राट बालकृष्ण समले नेपाली नाट्य विधामा भानुभक्तलाई उपजीव्य रूपमा ग्रहण गरेका छन् । वि.सं. २००० सालमा भक्त भानुभक्त शीर्षकको नाटक लेखेर भानुभक्तको जीवनीमाथि कथात्मक रूपमा  प्रकाश पार्ने कार्य गरिएको छ । भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइ दिएपछि २००२ साल भाद्र २२ गतेका दिन गौरीशङ्कर नाट्य समुदायले यसको मञ्चन गरेको थियो । यस नाटकमा उनले भानुभक्तलाई आदर्श युगपुरुषका रूपमा उभ्याउने काम गरेका छन् । 


हास्यव्याङ्ग्यात्मक निबन्धकार भैरव अर्यालले पनि वि.सं.२०२२ सालमा अमरावती कान्तिपुरी नगरी शीर्षकको निबन्ध लेखेर भानुभक्तलाई उपजीव्य रूपमा ग्रहण गर्दै भानुभक्त सम्बन्धी सम्मान व्यक्त गरेका छन् । उपजीव्यका रूपमा ग्रहण गरी भानुभक्त सम्बन्धी चलचित्र बनाएर नेपाली साहित्यकार र नेपाली राष्टिूय विभूतिप्रति सम्मान जनाउँदै यादव खरेलले भानुभक्त शीर्षकको चलचित्र बनाए । भानुभक्त धेरै नेपाली साहित्यकारका उपजीव्यका रूपमा प्रयोग भएका छन् । प्रत्येक वर्ष देशभित्र र बाहिर भानुजयन्तीको अवसरमा भानुभक्त सम्बन्धी सयौं कविता लेखिन्छन् र प्रकाशन पनि हुन्छन् तिनको कुनै शोधखोज गरिएको छैन । ती सबै कृतिका रूपमा आएको खण्डमा भानुभक्त उपजीव्य परम्परा बृहत् देखिने छ । समालोचना विधामा र अनुसन्धानको परम्परामा पनि भानुभक्तीय स्रोत सङ्ख्यात्मक रूपमा अगाडि देखिन्छ ।


काव्यात्मक प्रवृत्ति 
आदिकवि कवि भानुभक्त आचार्यले नेपाली कविताको क्षेत्रमा दिएका कृतिहरू सङ्ख्यात्मक रूपमा कमी भए पनि गुणात्मक रूपमा भने उत्कृष्ट छन् । तीन दर्जन भन्दा बढी फुटकर कविता तीन वटा खण्डकाव्य र एउटा महाकाव्यका आधारमा उनका काव्यात्मक प्रवृत्तिहरूलाई निम्न बुँदामा समेटिएको छ ।ः


क विषयगत विविधता
आदिकवि भानुभक्त आचार्यका कृतिहरूको सामान्य रूपमा अध्ययन गर्दा उनका कवितामा विभिन्न विषयलाई आधार मानेर कविताको रचना भएको छ । मूल रूपमा रामभक्ति धारामा केन्द्रित भएर काव्य रचना गरे पनि धार्मिक विषयवस्तु भन्दा भिन्न विषयलाई पनि कवितामा स्थान दिएर विषयगत विविधता प्रवृत्ति अपनाएका हुन् । नेपाली माटो, हावापानी, प्रकृति चित्रण, देशप्रेम तथा राष्टूभक्ति, नैतिक आचरण, सामाजिक विकृति तथा विसङ्गतिप्रति व्यङ्ग्य, भोलिवाद, आध्यात्मिक तथा दार्शनिक विषयवस्तु उनका कविताका विषयवस्तु हुन् ।


ख देशप्रेम तथा राष्ट्रभक्ति
कवि भानुभक्तका बालाजु वर्णन र कान्तिपुरी नगरी कवितामा उनको देशप्रेम तथा राष्टूभक्ति प्रस्तुत भएको छ । आफ्नो देशलाई पृथ्वीभरीकै स्वर्गका रूपमा वर्णन गरेर राष्ट्रको सौन्दर्य व्यक्त गर्नु देशप्रेम तथा राष्ट्रभक्ति हो । स्वराष्ट्रको गौरवमय गाथाको अभिव्यक्तिमा उच्च देशभक्तिको भावना प्रबल रूपमा व्यञ्जित यस कवितामा नेपाललाई प्राकृतिक सौन्दर्यको खानीका रूपमा व्यक्त गर्दै कविले विश्वका सुन्दर सहर भन्दा केही कम नभएको आशय प्रस्तुत गरेका छन् । 


ग प्रकृतिको चित्रण
कवि भानुभक्त आचार्यले आफ्ना कवितामा नेपाली प्रकृतिको मनोरम चित्रण गरेका छन् । उनका बालाजु वर्णन, कान्तिपुरी नगरी र रामायण महाकाव्यमा प्रकृतिको तन्मय वर्णन रहेको छ । नेपाली खोला, नाला, हावा, पानी, वनजङ्गल, ढुङ्गा, माटो आदिलाई कवि आचार्यले चित्रण गरेका छन् । रामायणका राम वनगमन, अरण्यकाण्ड र अन्य थुप्रै स्थानमा नेपाली प्रकृतिको चित्रण पाउन सकिन्छ ।
घ नीति चेतना 
कवि भानुभक्त आचार्य मूलतः रामभक्ति धाराका केन्दीय प्रतिभा भए पनि त्यसैमा जोडिएर नीति चेतना प्रखर रूपमा देखिएको छ । नीति चेतना मूल रूपमा वधूशिक्षा र प्रश्नोत्तरीमालामा कृतिमा अभिव्यक्त भए पनि अंशतः उनका सबै रचनामा नैतिक मूल्य मान्यताहरू अभिव्यञ्जित भएका छन् । पूर्वीय संस्कृति र सभ्यताका पक्षपाती कवि आचार्यले कुनै न कुनै रूपले क्रृषिहरूले झै कवितामा निर्देशनात्मक उपदेश व्यक्त गरेका छन् । मनुष्यले आफ्नो जीवनमा अवलम्बन गर्नुपर्ने चरित्र, स्वभाव, आचरण, व्यवहार तथा सामाजिक क्रियाकलापमा देखाउनु पर्ने उदारता, सरलता र तरलतालाई कविताको नैतिक चेतनामा चित्रण गरेका छन् ।


ङ सामाजिकता
कवि भानुभक्त आचार्य सामाजिक विषयको प्रयोग गरेर काव्य रचना गर्ने प्रथम नेपाली कवि हुन् । उनी भन्दा पूर्वका कविहरूले केवल शासक स्तुति तथा ईश्वर भक्तिलाई मात्र कविताको भाव वा विषयवस्तु बनाएका थिए भने कवि आचार्यले नेपाली समाजमा रहेका सासू बुहारीका झगडा, खानपान, बिहे व्रतबन्ध, झगडिया डिठ्ठा, विचारी आदिलाई कविताको विषयवस्तु बनाइ साहित्य र समाजलाई जोड्ने काम गरेका छन् । भानुभक्त आचार्यले सामाजिक विषयका कविता लेख्नु तत्कालीन समयमा सामाजिक अनीति, अनियति, अकर्मण्यता र कलहमाथि आक्रमण गरी तिनमा सुधार ल्याउनु थियो ।


च हास्यव्यङ्ग्यात्मकता
कवि भानुभक्त आचार्यका कवितामा हास्यव्यङ्ग्यको समेत प्रयोग पाइन्छ । सामाजिक तथा प्रशासनिक विकृतिहरूको चित्रण गर्ने सन्दर्भमा हास्यव्यङ्यको प्रयोग भएको छ । भानुभक्तले आफूले भोगेका पीडा र रमाइला क्षणलाई व्यङ्ग्य र हास्यमा व्यक्त गरेका छन् । अड्डा अदालतको भोलिवाद र अन्य क्षणमा रचेका कवितामा उनले हास्यव्यङ्ग्यको प्रयोग गरेका छन् ।


छ रसको विविधता 
आदिकवि भानुभक्तका कविता कृतिमा संस्कृत साहित्य विभिन्न रसको प्रयोग पाइन्छ । भक्ति रसका रसर कविता सिर्जना गर्ने कवि आचार्यका कविता कृतिमा श्रृङ्गार, वीर, करुण, रौद्र, हास्य, शान्त आदि शास्त्रीय रसहरू  पनि आएका छन् । उनका कृतिमा अंशतः विविध रसहरूको प्रयोग भए पनि मूलतः करुण, शान्त र हास्य नै देखिन्छ ।


ज क्षिप्रसिर्जनशीलता
कवि भानुभक्त आचार्यका थुप्रै विशेषता मध्ये क्षिप्रसिर्जनशीलता पनि एक हो । उनका जीवनका केही क्षणमा कविताको बाढी नै आएको देखिन्छ । तत्काल घटेका घटनाहरूमा झटपट कविता सिर्जना गर्न सक्ने उनको स्वभाव कतिपय कवितामा देखिएको छ । पाँच महिना जेलमा रहँदा रामायण जस्तो उच्चकोटिको महाकाव्य रचना गरेर कवि आचार्यले क्षिप्रसिर्जनशीलताको परिचय दिएका छन् । डिठ्ठा विचारीसँगको बिन्ती, मित्र तारापतिको घरमा लेखिएको वधूशिक्षा आदि कवितामा आँसु लेखन तथा क्षिप्रसिर्जनशीलता पाइन्छ ।


झ भाषिक विशिष्टता
कवि भानुभक्त आचार्य शुद्ध नेपाली भाषाको प्रयोग गर्ने राष्ट्रिय कवि हुन् । उनी भन्दा पूर्ववर्ती कविहरू ले शुद्ध नेपाली भाषाको प्रयोग गर्न सकेका छैनन् । नेपाली कवितामा संस्कृत, हिन्दी, कुमाउनी र ब्रज मिश्रित नेपाली भाषाको वर्चस्व भएको अवस्था कवि भानुभक्त त्यस दोषबाट मुक्त भै नेपाली भाषाको प्रयोग गर्ने कवि हुन् । उनको भाषा प्रयोग सरल, सरस र बोधगम्य हुनुका साथै अत्यन्त आकर्षक र प्रभावकारी पनि रहेको छ ।


ञ छन्दगत विविधता
कवि भानुभक्त आचार्य प्राथमिक कालीन नेपाली कविता परम्परामा शास्त्रीय वार्णिक छन्दका कुशल प्रयोक्ता हुन् । उनले आफ्ना कविता कृतिमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरीणि, स्रग्धरा, वशन्ततिलका, वंशस्थ, इन्द्रवज्रा र मालिनी आदि छन्दको निकै राम्रो प्रयोग पाइन्छ । छन्दको विविधता भएपनि शार्दूदविक्रीडित छन्द नै कवि आचार्यको प्रमुख हो । यसले उनलाई लोकप्रिय पनि बनाएको छ । लेखक सुदूरपश्चिमान्चल क्याम्पस धनगढीका उपप्राध्यापक हुनुहुन्छ ।

प्रमुख समाचार

कर्मचारी

View All