ताजा समाचार

News

बाख्रा पालेर पैसा कमाउने सोचमा हुनुहुन्छ.? २ मिनेट पढ्नुहोस

२०७५ असार २५ सोमबार
image not found

कस्तो बाख्रा छान्ने ?
बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ ।

कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट जन्मेको वा जुम्ल्याह जन्माउने जातको वोका लागेको रोगब्याधि नलागेको, सकेसम्म खोप लगाएको, नियमित जुकाको र नाम्लेको औषधि खुवाएको हुनुपर्छ।

कति सम्म बाख्रा राख्ने ?
कति सम्म बाख्रा राख्न सकिने भन्ने कुरा कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरामा भर पर्छ। यदि अन्तराष्ट्रिय बाख्रापालनको मापदण्डलाई मान्ने हो भने प्रति १५ बाख्रा ९०० वर्गफिटको जमिनको आवश्यकता पर्दछ। तर उक्त प्रकारको क्षेत्रफल बाख्राको लागि छुट्ट्याउदा गाँउघरको लागि बाख्रा पालन निकै महँगो पर्न जान्छ। हाम्रो गाँउघरमा ५x५ फिटको हाराहारीको खोरमा ७-८ वटा सम्म बाख्रा पालेको देखिन्छ।

त्यसरी बाख्रा पाल्नु नितान्तै गलत हो भन्न सकिन्न तर यसरी बाख्रा पाल्दा बाख्रालाई पर्याप्त ठाँउ नपुग्ने भएकोले गर्भवती बाख्राहरूमा तुहिने समस्या पनि हुन सक्छ र सरसफाई गर्न निकै समस्या पर्छ। तर यस्तो ठाँउमा पनि केहि सामान्य सुधार गर्दा उन्नत तरिकाले, र सुरक्षित तवरले ५ देखि ६ वटा वाख्रा पाल्न सकिन्छ। कति वटा बाख्रा पाल्ने भन्ने कुरा हामीले बनाएको खोर कस्तो छ भन्ने कुरामा भर पर्छ।

खोर कस्तो बनाउने ?
बाख्राको खोर कस्तो बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ।

खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसा/पिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ।

बाख्राको खोर जमिनबाट केहि अग्लो (कम्तिमा ९० सेन्टीमिटर) बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ।

बाख्राको खोर बनाउदा कम्तिमा ५ फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ।

सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले ४ फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय र जनशक्ति लाग्न सक्छ र परिवारका सदस्यलाई झर्को लाग्न सक्छ।

बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ।

बाख्राको खोर बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।

बाख्रा पालन गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ।गर्भवती बाख्रालाई सकेसम्म छुट्टै राख्ने र राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने।

यदि बोका जन्मिएको छ र खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा ३ महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन्।

बोका कस्तो लगाउने/कुन बेला लगाउने ?
बोका लगाउदा आफ्नो खोरमा भएका बाख्रा संग कम्तिमा ६ पुस्ता संग नाता नपर्ने (मान्छेको जस्तै, र मामा/फुपुका चेला-चेली समेत पार्न नहुने) बोका पुर्ण स्वस्थ छ भने मात्र प्रयोग गर्ने।

बोका ९ महिना पुगेपछि मात्र प्रयोग गर्ने। यदि ९ महिना पुगेको छैन भने कम्तिमा ६ महिना पुगेकै हुनु पर्छ।६ वा ९ महिना पुगेको बोका पनि राम्रो संग बढेको छैन भने प्रयोग गर्दै नगर्ने।

प्रचलित” सिफारिस अनुसार ३० वटा पाठीहरूलाई एक बोका पर्याप्त छ भन्ने देखिन्छ। तर सृजना फार्म प्रा. लि. पाल्पामा गरिएको अनुभवमा १० माउ बरावर एक बोकाको आवश्यकता पर्दछ।

बाख्राले बोका खोज्ने समयमा बोकालाई विशेष खानपिनमा ध्यान पुर्याउनु पर्दछ। यदि गाँउमा सेवाको लागि बोका पालन गरिएको छ भने बोकालाई दैनिक खुराकमा प्रोटिनको मात्रा बढाएर दिने (जस्तै: भट्मास, भट्मासको मस्यौरा, गेडागुडी र सम्भव भए सम्म थोरै मात्रामा तेल र अण्डा)।

बाख्राले बोका खोजेको कम्तिमा ३ घण्टा पछि पहिलो पटक र ६ घण्टा पछि दोस्रो पटक बोका लगाउदा बाख्रा गर्भवती हुने सम्भावना ९९% सम्म हुन्छ। बोका लगाउदा बोकालाई एकपटक लगाउदा कम्तिमा ३ पटक सम्म बाख्रालाई चढ्न दिनु पर्दछ।

बाख्रालाई कुन समयमा बोका लगाउने ?
गाँउघरमा सामान्यतया ४ देखि ६ महिनाको उमेरमा पाठीहरूलाई बोका लगाउने चलन हो। ४ देखि ६ महिनाको पाठीलाई बोका लगाउनु भनेको १३-१६ वर्षकी युवतीहरू गर्भवती भए बरावर नै हो। भन्नुको मतलव उक्त उमेरमा पाठीहरू शारिरिक रूपले परिपक्क भएका हुदैनन्। यस्तो बेलामा पाठी गर्भवती भएमा सानो पाठा-पाठी जन्माउने, जन्माउन समस्या हुने, पाठा-पाठी तुहिने र झण्डै ३०% अवस्थामा माउ मर्ने सम्मको अवस्था देखिएको छ।

एक पटक बच्चा जन्माए पछि बाख्रालाई प्रसस्त खुराक पुगेको अवस्थामा १५ दिन भित्रै बोका खोजेको देखिन्छ। यदि त्यस्तो अवस्था भएमा उक्त बाख्रालाई बोका लगाउन हुदैन। यस्तो अवस्थालाई मानिसमा दाँज्ने हो भने हरेक वर्ष बच्चा जन्माएजस्तै हो। यसो गर्दा बाख्राको माउ अर्को गर्भको लागि शारिरिक रूपले परिपक्क भएको हुदैन। यस्तो अवस्थामा पहिलो बेतको पाठापाठीको दुध चाँडै सुक्ने भएकोले उनीहरूको पोषण पुग्दैन र पछिल्लो बेतमा दुध राम्रो संग आउदैन र आए पनि पर्याप्त पोषणयुक्त हुदैन।

गर्भवती, सुत्केरी र बच्चाको स्याहार
बाख्रालाई बोका लागेको २१ दिन सम्म बाख्रालाई साविक खुराकनै दिनु पर्दछ। २१ दिन पछि ४ महिना सम्म खुराकको मात्रा एक तिहाईले बढाउनु पर्दछ। गर्भवती भएको ४ महिना पुगेपछि साविकको खुराक भन्दा दोब्बर मात्रामा खुराक दिनु पर्ने हुन्छ जस्ले गर्दा गर्भका पाठापाठी राम्रो संग हुर्किन सक्छन र जन्मे पछि माउले प्रसस्त दुध पुर्याउन सक्छ।

बाख्रा सुत्केरी भएपछि सालनाल राम्रो संग व्यस्था गर्नु पर्दछ र कुनै पनि हालतमा बाख्रालाई खान दिनु हुदैन। पाठा-पाठी जन्मिने वितिक्कै सफा कपडाले पाठा-पाठीको नाक पुछिदिनु पर्दछ। बाँकी शरिर सफा गर्ने काम बाख्रालाई नै दिनु पर्छ र जन्मिने वितिक्कै पाठा-पाठी माउ बाट टाढा लानु हुदैन, अन्यथा बाख्राले पाठा-पाठी चिन्दैन।

बाख्रा ब्याए पछि पहिलो दिन हलुका खुराक दिनु पर्छ र मनतातो पानी प्रसस्त दिनु पर्दछ। पछिल्लो दिन बाट एक महिना नपुग्दा सम्म साविकको खुराकको दोब्बर खुराक दिनु पर्दछ।

बाख्रा ब्याए पछि सामान्यतया १५ दिन सम्म माउ र बच्चा २४सै घण्टा संगै राख्नु पर्दछ। गाँउघरमा सुत्केरी माउ राख्ने छुट्टै खोर नभएको अवस्थामा बच्चालाई सकेसम्म लामो समय माउसंगै राख्ने र वेलुका खोरमा राख्नु भन्दा र विहान खोरबाट माउलाई निकाल्ने वितिक्कै दुध चुसाउने काम गर्नु पर्दछ।

बच्चा २१ दिनको भएपछि घाँसमा बानी लगाउन प्रयास गर्ने (कलिलो र बाख्राले धेरै मन पराउने घाँस पाठापाठी संग झुण्ड्याएर राख्ने)।पाठापाठीको संख्या धेरै भएमा पाठापाठीलाई छुट्टै घाँसको व्यवस्था गर्नु पर्दछ जस्ले गर्दा पाठापाठीले प्रसस्त घाँस पाउन सक्छन्।

खुराक के दिने? घाँस र दाना:
बाख्राको खुराकमा हरियोघाँस र दानाको मात्रा राम्रो संग मिलेन भने राम्रो उत्पादन लिन सकिन्न। त्यसैलले घाँस र दानाको सहि सन्तुलन मिल्न जरुरी हुन्छ।

घाँस दिदा कम्तिमा ७० प्रतिशत हरियो र ३० प्रतिशत सुकेको घाँस भएको उपयुक्त मानिन्छ। तर हरेक मौसममा यस्तो व्यवस्था गर्न सकिदैन। तर गाँउघरमा घाँस दिदा जाडो सिजनमा डाले घाँस र नल/पराल/खर को मात्रा मिलाएर दिन सकिन्छ भने वर्षाको वेलामा भुईघाँस, डालेघाँस तथा मकैको खोस्टाको मात्रा मिलाएर दिन सकिन्छ।

सम्भव भएसम्म हरियो घाँस मध्य ३० प्रतिशत सम्म कोशे घाँस जस्तै स्टाईलो; बदामे झार, कोईरालो, टाँकी, भोर्लो, ईपिल-ईपिल आदि। बाँकी अन्य घाँस दिदा घाँसबाट प्रसस्त मात्रामा पौष्टिक तत्व पुग्छ।

घाँस दिदा “टेनिन”को मात्रा वढि भएका घाँस सकेसम्म नदिने र दिनु परेमा अन्य घाँस संग मिसाएर कम मात्रामा दिने। गाँउमा समान्यतया पाईने पढि “टेनिन” पाईने घाँसमा काफल, आँप, भोटे साखिनो (Indigofera sp.), मौवा र सालको घाँस, सिरू र काँस पर्दछन्।

घाँस दिदा सकेसम्म ओईलाएर दिनु पर्दछ र सकेसम्म निकै कलिलो र पलाउदै गरेको घाँस दिदा विषाक्त असर पर्न जान्छ। घाँस काट्दा सकेसम्म बिहान काट्नुको सट्टा दिउसो ३-४ बजे काट्दा वा साँझमा काटेको घाँसमा प्रसस्त मात्रामा स्टार्च हुने भएकोले पोषिलो हुन्छन्।

बाख्रापालनको लागि घाँसको साथसाथै केहि मात्रामा दानाको पनि आवश्यकता पर्दछ। गाँउघरमा तयारी दाना नपाईने हुँदा आफैले दाना बनाउनु पर्ने हुन्छ। दाना बनाउदा सबै सामाग्री गाँउमा व्यवस्था गर्न नसकिने भएकोले यसको लागि निश्चित यहिनै चाहिन्छ भन्ने छैन। हामीले परम्परागत रूपमा दिईरहेको दानामा सानो फेरवदल गर्दा निकै राम्रो लाभ लिन सकिन्छ।

दाना बनाउदा प्रोटिन, कार्वोहाईड्रेट र फाईवरको मात्रा संतुलित रूपमा मिलाउन सके राम्रो उत्पादन लिन सकिन्छ। सामान्यतया दानामा निम्न मात्रामा उक्त पदार्थहरू मिसाउन सकिन्छ: ६० प्रतिशत कार्वोहाईड्रेट, ३० प्रतिशत प्रोटिन र १० प्रतिशत फाईवर, कार्वोहाईड्रेट युक्त खानाहरू: अन्नवाली जस्तै मकै, कोदो, गहुँ।

प्रोटिन युक्त खानाहरू: गेडागुडी जस्तै सिमी, मस्याङ (झिलिङ्गी/सिल्टुङ), मास, बोडी, भटमास, पिना (एक पटक पानीमा भिजाएर रातभरी राख्ने त्यस पछि सुकाएर प्रयोग गर्ने), ढुटो।

फाईवरको मात्रा घाँसबाट पनि पुग्ने र ढुटोमा पनि प्रसस्त फाईवर हुने भएकोले चिन्ता गर्नु पर्दैन।दाना बनाउदा प्रतिकेजी ५ ग्रामको दरले नुन मिसाउने।सम्भव भए सम्म प्रतिकेजी दानामा ५ ग्राम सम्म मिनिरल मिक्सचर मिसाउदा राम्रो उत्पादन लिन सकिन्छ।

निम्वकर सिड्स कंपनी, पुणें, भारतमा र सृजना फार्म प्रा. लि. पाल्पामा गरिएको अनुसन्धानले देखाए अनुसार निम्न मात्रामा संतुलित दाना दिदा सबै भन्दा राम्रो उत्पादन लिन सकियो: (बोअर बाख्रामा प्रतिदिन सरदर १८० ग्राम प्रतिदिन र खरी बाख्रामा प्रतिदिन सरदर १३५ ग्राम प्रतिदिन)

जन्मेको २१ दिन पछि पाठापाठीलाई दाना खुवाउन पानी लगाउने।१ महिना देखि ३ महिना सम्मको पाठापाठीलाई सरदर दैनिक १५० ग्राम दाना दिने (एक लिटरको मगमा भरी दाना राख्दा सरदर ४०० ग्राम हुन आउछ)

३ देखि ६ महिना सम्मको पाठापाठीलाई दैनिक सरदर २०० देखि २५० ग्राम दाना दिने। ६ महिना देखि माथीको बोकालाई दैनिक सरदर ३०० ग्रामको दरले दाना दिने। माउ बाख्रा र सुत्केरी बाख्राको लागि दाना दिदा अवस्था अनुसार दिनु पर्दछ:

पहिलो पटक बोका लाग्न लागेको पाठीलाई बोका लाग्ने उमेर पुग्नु भन्दा १ महिना अघि देखि दैनिक २०० ग्रामको दरले दाना दिने र बोका लागेको ४२ दिन सम्म सोहि मात्राले दाना दिने।ब्याएको माउको हकमा ब्याएको एक महिना पछि दानाको मात्रा घटाएर २०० ग्राममा पुर्याउने (एकै पटक नघटाउने, क्रमश: घटाउने)

बोका लागेको ४२ दिन पछि ४ महिना सम्म दैनिक ३०० ग्राम दाना दिने।गर्भ रहेको ४ महिना देखि व्याएको १ महिना पछि सम्म ४०० देखि ६०० ग्राम सम्म दाना दिने।

सामान्य स्वास्थ सम्बन्धि सामान्य सल्लाहहरू
जुम्रा, उपियाँ, किर्नाहरू बाख्रालाई देखिने प्रमुख बाह्य परजिवी समस्याहरू हुन भने जुका, नाम्ले तथा चुर्ना प्रमुख आन्तरिक परजिवीहरू हुन्। वाख्राहरूमा रोगहरूले भन्दा माथी उल्लेखित परजिवीहरूको कारणले उत्पादकत्व घटेको देखिन्छ।

प्रायजसो बाह्य परजिवीको श्रोत जंगल र फोहोर बातावरण हो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुम्रा र उपियाँ नियमित खोरको सरसफाई गर्नाले नियन्त्रण गर्न सकिन्छ। यसको साथसाथै जंगलमा चराउन बन्द गर्दा किर्नाको प्रकोप लगभग पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ। यदि खोरमा ति बाहय परजिवीहरू खोरमा पहिलेनै आईसकेको अवस्थामा डिपिङ ट्याङ्क अथवा बाहय परजिवी नियन्त्रण गर्न विषादी प्रयोग गर्न सकिन्छ। डिपिङ ट्याङ्कको उपलब्धता नभएमा वा विषादी प्रयोग गर्ने तरिका थाह नभएमा वा नपाईएमा Ivermectin Inj. (Sub-cut) प्रविधिकको सल्लाहले दिन सकिन्छ।

आन्तरिक परजिवीको हकमा बच्चा जन्मेको १ महिना पछि र हरेक ३-३ महिनाको फरकमा Albendazole दिनु पर्दछ जस्ले जुकाको नियन्त्रण गर्न मद्दत गर्दछ। हरेक ६ महिनामा नाम्ले/माटेको औषधि (Oxyconazole) दिनु पर्दछ। तर यदि बाख्राको दिसामा नाम्ले देखिएमा हरेक ४५ दिनको फरकमा नाम्ले/माटेको औषधि दिनु पर्दछ।

चुर्नालाई खुवाउने औषधिबाट नियन्त्रण गर्न सकिदैन। यदि बाख्रामा चुर्ना देखिएमा Providene Iodine ले बाख्राको मलद्वार सफा गरिदिनाले वा कागतीको पात बाख्रालाई खुवाईदिनाले नियन्त्रण गर्न सकिन्छ।

बाख्रामा देखिने अर्को प्रमुख समस्यामा food poisoning पनि पर्दछ। Food poisoning को घरेलु उपचारमा चुक अमिलो खुवाउन सकिन्छ।

प्रमुख समाचार

कर्मचारी

View All