ताजा समाचार

News

सामाजिक सञ्जालमा भाइरल बने नेमार

२०७५ असार २४ आइतबार
image not found

रसिया विश्वकप फुटबल प्रतियोगितामा छैटौँपटक उपाधि जित्ने लक्ष्य राखेको दक्षिण अमेरिकन टिम ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बेल्जियमसँग २–१ ले पराजित भएपछि ब्राजिलले ब्याक टु ब्याक सेमिफाइनलमा स्थान बनाउन सकेन ।

सन् २०१४ को विश्वकपमा घरेलु मैदानमा सेमिफाइनलमा ७–१ ले पराजित भएको ब्राजिलले रसियन भूमिमा घाउमा मलम लगाउने उद्देश्य राखेको थियो । तर, यसपटक ब्राजिल अन्तिम चारसम्म पुग्न सकेन । ब्राजिल प्रतियोगिताबाट घर फर्किए पनि स्टार स्ट्राइकर नेमार जुनियरको चर्चा कायमै छ ।

मेक्सिकोविरुद्ध भिएआर

प्रिक्वार्टरफाइनलमा नेमार मैदानमा अचानक चिच्याउँदा रेफ्री द्विविधामा परेका थिए । टर्च लाइनभन्दा बाहिर उपचार गरिरहेका नेमार एक्कासि खुट्टाको मसल्स पक्रेर रुन थाले । यसक्रममा उनी दुई वा तीनपटक मैदानमा पल्टिए ।

मेक्सिकोका खेलाडीले खुट्टामा नराम्रोसँग कुल्चेर गएको भाव देखाउँदै नेमारले रेफ्रीलाई प्रभावित पार्न यस्तो कार्य गरेका थिए । रेफ्रीले तत्काल घटना समाधान गर्न भिएआरको सहयोग मागे । भिएआर अफिसियलले नेमारको खुट्टामा विपक्षी खेलाडीले नकुल्चेको निर्णय दिए ।

त्यसपछि रेफ्रीले खेल भावनाविपरीत कार्य गरेको भनी उल्टै नेमारलाई पहेँलो कार्ड देखाए । मेक्सिकोसँगको खेलमा नेमारकै कारण ५ मिनेट २९ सेकेन्ड इन्जुरी टाइम निस्कियो ।

मैदानमा प्लेइङ एक्टिङ

पेरिस सेन्ट जर्मन (पिएसजी)मा विश्व कीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्ध भएका नेमार विश्वकपकै सर्वाधिक महँगा खेलाडी थिए । त्यही स्टारडमका कारण नेमारको प्रदर्शन सबैले सूक्ष्म रूपले नियालिरहेका थिए ।

तर, नेमारले पिएसजी र बार्सिलोनामा गरेको प्रदर्शनभन्दा औसत पनि नखेलेको आरोप युरोपियन फुटबल पण्डितहरूले गरेका छन् । पिएसजी र बार्सिलोनमा उनको चर्चा खेलका कारण भएको थियो । नेमारले विश्वकपमा त्यही किसिमले चर्चा कमाउने अपेक्षा थियो ।

तर, राम्रो खेलका कारण नभएर नराम्रो कामका कारण रसियामा नेमारको चर्चा बढी भयो । विश्वकपका दौरान भएका खेलमा मैदानमा देखाएको नाटकका कारण नेमार अहिले चलचित्रका जोकरजस्तै बनेका छन् ।

अन्तर्राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जाल उनका व्यंग्यात्मक कार्टुनले भरिएका छन् । मैदानमा विपक्षी खेलाडीले हल्का छुँदा पनि नेमार ठूलो धक्का दिएको भाव देखाउँथे ।

खेलाडीले सामान्य रूपमा ट्याकल गर्दा पनि डरलाग्दो र खुट्टा नै भाँचिएजस्तो हाउभाउ प्रस्तुत गर्थे । यसपटक फिफाले भिएआर प्रविधि प्रयोग गरेको छ । नेमार मैदानमा लडिरहँदा रेफ्री भिएआर सहयोग लिन बाध्य नै भए ।

नेमारका कारण थपेको इन्जुरी समय
स्विट्जरल्यान्ड ३ मिनेट ४० सेकेन्ड
कोस्टारिका २ मिनेट २५ सेकेन्ड
सर्बिया २ मिनेट ५६ सेकेन्ड
मेक्सिको ५ मिनेट २९ सेकेन्ड

आरटिएस टेलिभिजनको रिपोर्ट

अहिले स्विट्जरल्यान्डको आरटिएस टेलिभिजनले नेमारको सम्बन्धमा रोचक तथ्य सार्वजनिक गरेको छ । नेमारले विश्वकपमा चार खेल खेल्दा २३ पटक फलको सामना गरेका थिए । आरटिएसको रिपोर्टअनुसार नेमारले मैदानमा गरेको ‘प्लेइङ एक्टिङ’का कारण नसोचेको इन्जुरी समय निस्किएको छ ।

चार खेलमा २३ पटक फल सामना गर्दा नेमारका कारण खेलमा १४ मिनेट इन्जुरी समय थप भएको आरटिएसको रिपोर्टमा उल्लेख छ । यो रेकर्डले नेमारले विश्वकपमा गरेका २ गोल छायामा परे । मेक्सिकोलाई २–० ले हराउँदा नेमारले १ गोल गर्नुका साथै १ असिस्ट गरेका थिए ।

स्विट्जरल्यान्डसँग दर्जन फल

समूह चरणको पहिलो खेलमा नेमारमाथि दर्जनभन्दा बढी फल भएको थियो । त्यसपछि मेक्सिकोविरुद्ध उनले यसै किसिमको नियत भोगे । अचम्मको कुरा के छ भने मेक्सिको र ब्राजिलबीचको खेल सबैभन्दा रोमाञ्चक बनेको थियो ।

दुवैले काउन्टर एट्याक्टमा प्रतिस्पर्धा गर्दा अहिले विश्वकपकै राम्रो खेलमा यो खेल गनिएको छ । तर, सोही खेलमा नेमारकै नाटकका कारण ५ मिनेट २९ सेकेन्ड इन्जुरी समय थप भयो ।

उत्कृष्ट हास्य फुटबलर

यस किसिमको नाटक गर्दा सामाजिक सञ्जालमा नेमारलाई फिफा वर्ष खेलाडी नभएर फालेन डी फोर अवार्ड दिनुपर्ने हास्यास्पद टिप्पणी आएका छन् । यसैगरी, सामाजिक सञ्जालमा नेमारलाई यस वर्ष रसिया विश्वकपको उत्कष्ट हास्य फुटबलरको उपाधि दिनुपर्ने भनी आलोचना भएको छ ।

नेमारसँगै फ्रान्सका केलियन एम्बाप्पेलाई पनि त्यहीअनुसार तुलना गरिएको छ । एम्बाप्पेले उरुग्वेविरुद्धको खेलमा अनावश्यक नाटक गर्दा पहेँलो कार्ड पाएका थिए ।

नेमार र एम्बाप्पेले विश्वकपमा उत्कृष्ट नाटक प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दुवैलाई ओस्कर अवार्ड दिनुपर्ने आवाज नै उठाउन भ्याएका छन् ।

लिजेन्डद्वारा नेमारलाई सुझाब

मेक्सिकोविरुद्ध अकल्पनीय नाटक गरेको घटनाले नेमारको कार्टुन सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरै कार्टुन कम्पनीले विश्वकपको प्रसंगमा नेमारको स–साना कार्टुन फुटेज नै बनाए ।

वर्तमान समयकै राम्रा फुटबलरले मैदानमा खेलभन्दा नाटक बढी गरेपछि सन् १९९० का जर्मनीलाई विश्वकप दिलाएका कप्तान लोथार म्याथ्युजले बाध्य भएर मुख खोले ।

‘नेमारजस्तो वर्तमान समयकै उत्कृष्ट खेलाडीले मैदानमा नाटक गर्नुभन्दा आफ्नो वास्तविक खेल प्रदर्शन गर्नुपर्छ, यसैमा उसको र ब्राजिलको भलाइ हुनेछ,’ म्याथ्युजले भने ।

सन् २००२ मा ब्राजिललाई पाँचौँपटक विश्वकप दिलाएका हिरो रोनाल्डो भने नेमारप्रति उदार देखिए । नेमारतिर सद्भाव राख्दै रोनाल्डोले भने, ‘रेफ्रीले नेमार चोटग्रस्त हुँदा सचेत हुनुपथ्र्यो, किनभने विपक्षी खेलाडीहरू नेमारलाई चोट पु-याउने उद्देश्यका साथ फल खेलिरहेका छन् ।’

विश्वका लिजेन्डहरूले नेमारको खेल होइन, उनको मैदानको क्रियाकलापका विषयमै आफ्नो धारणा सार्वजानिक गर्नुप¥यो, जुन आफैँमा नौलो हो ।

प्रमुख समाचार

कर्मचारी

View All