ताजा समाचार

News

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

२०७४ चैत ५ सोमबार
image not found

चैत ५ । आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जिम्बाब्वे गएको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।

विश्वकप छनोट क्रिकेट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको हो ।

टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ भावना घिमिरेलगायतका अरु व्यक्तित्वहरु तथा सयौंको संख्यामा प्रशंसकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले ऐतिहासिक उपलब्धि संस्थागत गर्न क्यानको विवाद समाधान गर्नुका साथै घरेलु संरचना बलियो हुनुपर्ने बताए ।

यस्तै, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीको बलबुतामा प्राप्त उपलब्धि जोगाउन अब सबै सरोकारवाला पक्षहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एसोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एक दिवसीय मान्यता निश्चित गरेको हो ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्यान्ड्ससँग ४५ रनले हारेपछि नेपाल प्रतियोगिताको आठौं स्थानमा सीमित बन्यो ।

सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को मान्यता पाएको नेपालले ३० वर्षको अवधिपछि अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो ।

प्रमुख समाचार

कर्मचारी

View All