ताजा समाचार

News

सर्वोच्चमा बिहानभर पराजुलीको पर्खाई : विकल्प केही नभएपछि राजीनामा आयो

२०७४ चैत १ बिहिबार

 चैत १ – न्यायपरिषद्ले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र थमाएपछि न्याय क्षेत्र एकाएक तरंगित भयो ।

शीतल निवासमा नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ हुँदै गर्दा पराजुली पदमुक्त भएको पत्र बाहिरिएको थियो । त्यसलगत्तै आएका प्रतिक्रियाबाट आज बिहीबार सर्वोच्च अदालतमा के हुने होला भन्ने धेरैको धेरैथरी अनुमान थियो । 

आफू सधैं झैं बिहीबार पनि अदालत गएर नियमित काम गर्ने पराजुलीले प्रतिक्रिया दिनुभएको थियो । त्यसैले पनि सर्वोच्चमा के होला भन्ने आशंका थियो । सर्वोच्च अदालत अघिल्तिर आज अरु दिन भन्दा भिन्नै चहलपहल थियो । कार्यालय समय पहिलेदेखि नै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । कानुन व्यवसायी, पत्रकार लगायत पनि १० नबज्दै अदालत पुगिसकेका थिए ।

सर्वोच्च अदालतमा आजको पेशी गोपाल पराजुली वा दीपकराज जोशीमध्ये कस्ले तोक्ला भन्ने धेरैको जिज्ञासा थियो । बिहान १० बज्नै लाग्दा बरिष्ठ न्यायाधीश दीपकराज जोशी अदालत पुग्नुभयो । अनि कायम मुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्नुभयो । उहाँले पेशी समेत तोक्नुभयो । सर्वोच्च अदालतले आफ्नो वेभसाईटमा पराजुलीको नाम हटाएर कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम र तस्वीर राख्यो ।

न्यायपरिषद् सचिवलाई पदमुक्त गर्ने निर्णय लिने अधिकार नभएको दाबी गर्दै नियमित काम गर्ने बताउनुभएका पराजुली भने सर्वोच्च अदालत आउनुभएन । न्यायपरिषदमा समेत आफ्नो पक्षमा एकजना मात्रै देखिएपछि उहाँलाई सर्वोच्च जाने आँट आएन । राष्ट्रपतिकोमा पुगेर राजीनामा पत्र दिनुभयो ।

जन्ममिति र नागरिकताको विषयले पराजुली विवादमा तानिनुभएको हो । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र थमाएपछि पराजुलीले आफुू पदमुक्त नभएको भन्दै कार्यालय गएर काम गर्ने बताउनुभएको थियो ।

न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीको ६५ वर्षको उमेर गएको २१ साउनमा नै पूरा भइसकेको भन्दै पदमा नरहेको जनाएको थियो । फरक फरक जन्ममितिका प्रमाणपत्र सार्वजनिक भएपछि पराजुली विवादमा मुछिंदै आउनुभएको थियो ।

तर, पराजुलीको राजीनामा नै आउनेसम्मको यो घटनाको सुरुवात भने सोमबार न्यायाधीश चोलेन्द्र शमशेर जवराले सर्वोच्चको पूर्ण इजलास बहिस्कार गरेपछि भएको थियो । न्यायपरिषद्ले पत्र थमाएपनि बिहीबार पराजुली अदालत जाने मुडमै हुनुहुन्थ्यो । तर उहाँ नआएपछि तरंगति भएको न्यायलय केही शान्तजस्तो भएको छ ।

यो विवादबारे सर्वोच्च अदालतको परिसरमै भेटिएका कानुनविद्को भने मिश्रित प्रतिक्रिया आएका छन् । एउटा सचिवले प्रधानन्यायाधीशबारे निर्णय गर्नुले राम्रो नजिर नबस्ने नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काको दाबी छ ।

तर, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले राजीनामा दिएर उहाँ घर बस्नुभएकाले अब विवाद लगभग समाधान भैसकेको बताउनुभयो । राजीनामा दिने कि के गर्ने भन्नेमा अन्योल रहेको बेला पराजुलीले अन्तत: राजीनामाकै बाटो रोज्नुभएको छ ।