ताजा समाचार

News

छ वटा प्रदेशमा ४५ मन्त्री

२०७४ माघ १२ शुक्रबार
काठमाडौँ, माघ १२ 
 
प्रदेश सरकारमा कुल सांसद् सङ्ख्याको दश प्रतिशतभन्दा नबढ्ने गरी मन्त्री छनौट गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरू सहमत भएका छन् । नेपालको संविधानले प्रदेशमा कुल सांसद्को २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । 
 
सिंहदरबारमा विहीबार बसेको वाम कार्यदलको बैठकमा प्रदेश सरकारमा कुल सांसद सङ्ख्याको दश प्रतिशतभन्दा नबढ्ने गरी मन्त्री छनौट गर्न एमाले र माओवादी नेताबीच सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । सातवटा प्रदेशमा प्रत्यक्ष निर्वाचित ३३० र समानुपातिकबाट चयन भएका २२० जना गरी ५५० जना सांसद छन् । वाम गठबन्धनको प्रस्तावअनुसार कुल सांसदको दश प्रतिशत मात्रै मन्त्री बनाउँदा बढीमा ५५ जना मन्त्री बन्ने छन् । 
 
प्रदेश २ बाहेक छवटा प्रदेशमा वाम गठबन्धनले सरकार बनाउन सक्ने सम्भावना छ । कुल सांसदको दश प्रतिशतलाई मात्रै मन्त्री बनाउँदा छवटा प्रदेशमा बढीमा ४५ जना मन्त्री हुनेछन् । प्रदेश २ मा भने मधेसवादी दलको बहुमत छ । यहाँको प्रदेश संसद १०७ जनाको छ । प्रदेश २ मा पनि दश प्रतिशतको सीमाभित्र रहेर मन्त्री बनाइए सातवटा प्रदेशमा जम्मा ५५ जना मन्त्री हुनेछन् । वाम गठबन्धनको सरकार निर्माण हुने प्रदेशमा कुल सांसद सङ्ख्याको दश प्रतिशतभन्दा नबढ्ने गरी मन्त्री छनौट गर्ने विषयमा बैठकमा सहमति भएको उहाँले बताउनुभयो । प्रदेश २ बाहेक बाँकी ६ वटा प्रदेशमा वाम बहुमतको सरकार गठन हुने सम्भावना छ । 
 
प्रदेशमा कुल सांसद् सङ्ख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्था रहे पनि संवैधानिक व्यवस्थाअनुसार प्रादेशिक मन्त्रिमण्डल गठन गरिए मुलुक भरी मन्त्रीको सङ्ख्या धेरै हुने भएकाले दश प्रतिशत मात्र मन्त्री बनाइने सहमति भएको नेता पाण्डेले बताउनुभयो । वाम गठबन्धनको नेतृत्वमा गठन हुने प्रादेशिक मन्त्रिमण्डलको आकारबारे बैठकमा नेताहरूबीच सहमति भए पनि प्रदेश सरकारको मुख्यमन्त्री र सभामुखको टुङ्गो लाग्न नसकेको जानकारी उहाँले दिनुभयो । 
 
पाण्डेका अनुसार, प्रदेशका मुख्यमन्त्री र सभामुखहरूको नामसमेत टुङ्गो लगाउने विहीबारको बैठकको ‘एजेन्डा’ रहे पनि त्यसबारे माघ १४ गते बस्ने कार्यदलको बैठकले मात्र टुङ्गो लगाउने छ । बिहीबारको बैठकमा समेत प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे छलफल भएको थियो । बैठकमा प्रदेश सरकारमा एमाले र माओवादी केन्द्रकोे सिट सङ्ख्या निर्धारण, दुवै दलका नेताको व्यवस्थापन, समावेशी र पार्टी एकताको विषयमा समेत छलफल भएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All