ताजा समाचार

News

कलुवापुर – बेलौरी सडक निर्माणमा चरम लापर्वाही

२०७४ पौष १ शनिबार
image not found
बेलौरी, पुस १ -  
कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डको काममा चरम लापर्वाही भईरहेको छ  । सडक निर्माणका लागि ठेक्का लिएको निर्माण कम्पनीले काम अगाडि नबढाउँदा कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही भएको हो । सडक धुलाम्मे र खाल्डाखुल्डीले भरिएको यात्रुलाई असहज भएको छ । 
 
तीन दशकदेखि सो सडकमा बस सेवा सञ्चालनमा छ । वर्षात्कमा सडक हिलाम्मे र खाल्डाखुल्डीमा पानी जम्ने गरेकाले बस सेवा ठप्प हुँदा सर्वसाधारणको जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ । सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्नका लागि चार दशक अघि सर्भेक्षण गरिएको सडक हालसम्म पूरा हुन नसक्दा सर्वसाधारणले जिल्ला सदरमुकाम पुग्नका लागि निकै कष्ट झेल्नुपरेको छ ।
 
कच्ची सडकै कारण २७ किमीको यात्रा तय गर्न यात्रुले रु १६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ । खेतमा उत्पादन गरिएको तरकारी बजारसम्म पु¥याउन समेत हम्मेहम्मे पर्ने गरेको शोभातालका किसान साइटु चौधरीले बताउनुभयो । “सडकको बिग्रँदो अवस्थाका कारण खेतमा उत्पादित तरकारी बेच्न नपाएर खेतमै कुहिने गरेको छ” उहाँले भन्नुभयो, “सडकको सहज व्यवस्था भए बजारसम्म जान सक्थ्यो, सस्तोमै गाउँघरमै बिक्रीसमेत हुने गरेको छैन ।”
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको तीन किमी क्षेत्रमा र चान्देव दक्षिणको सामुदायिक वन क्षेत्रमा सडक दायाँबायाँ बढेको झाडीका हाँगा झ्यालको सिसा खोलेर हातले पन्छ्याई चालकले बस चलाउनुपर्ने बाध्यता छ ।
 
विसं २०४३ देखि सडक किनाराका रुखका हाँगा नहटाइँदा यस्तो समस्या आएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सडक कालोपत्रे गर्ने कुरा उठ्दै आए पनि हालसम्म पूरा हुन नसकेको कालागौँडीका शिक्षक गेंदुराम रानाले बताउनुभयो । 
 
“विसं २०७३ असार मसान्तमा कलुवापुर–बेलौरी सडक पक्की निर्माणको ठेक्का भएको खबरले यस क्षेत्रमा खुशी छायो”, बेलौरीका समाजसेवी केशवराज जोशीले भन्नुभयो, “हालसम्म निर्माण कार्यको थालनी नहुँदा अन्योल छाएको छ ।” 
जानकारका अनुसार विसं २०३४ मा कलुवापुरदेखि भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी ४० किमी सडकको सर्भे डिजाइन गरिएको थियो । बेलौरीबाट जिल्ला सदरमुकाम भीमदत्तनगर सारिएपछि सडक निर्माणको कामले गति लिन नसकेको हो ।
 

प्रमुख समाचार

कर्मचारी

View All