ताजा समाचार

News

दोषी को? पिडा कस्लाई ? उपाय के?

२०७४ कार्तिक २४ शुक्रबार
image not found

सदियौं देखि राज्यबाट उपेक्षित, बेलौरी क्षेत्रलाई पूर्व पश्चिम राज मार्ग सित जोड्ने गरी महेन्द्रनगरबाट २० कि.मि. पूर्व कलुवापुर देखि दक्षिण–दुलनिया– बन्साहा–कालागौडी–स्याली –ढक्का–चान्देउ –बन्तरिया–मैनाहा–शान्तिपुर–बेलौरी बजार–भुराकोट–बैशाखा–बेलौरी भन्सार–नेपाल भारत सिमाना दशगजा स्तम्भ नं. २१० निकट भारतको खजुरिया, पुरनपुर सवहाइवे सित मिलान हुनेगरी भण्डै ३१ कि.मि. लामो कलुवापुर बेलौरी सहायक राजमार्ग को सर्वे डिजाइन आज भन्दा ४० वर्ष पहिले २०३४ सालमा भयो । 

बेलौरी क्षेत्र भन्नाले कञ्चनपुर जिल्लाको सम्पुर्ण दक्षिणी भेग, पश्चिम झिलमिला देखि पूर्व मोहना घाट, डोके बजार सम्म झन्डै ६० कि.मि. लामो र दक्षिण नेपाल भारत सिमा (१० गजा) देखि उत्तर मोटामोटी १० कि.मि. चौडाई भएको ६०० वर्ग कि.मि. बुझिन्छ ।सयौं गाँउ टोल र दर्जन बढि साना–ठुला बजार भएको सघन आवादी भएको अत्यन्त उर्वर क्षेत्र हो । सडक यातायातको नाजुक अवस्था भएर पनि उखु खेति निकै राम्रो हुने हुनाले २ वटा ठुला चिनी मिलहरु र २ वटा क्रेसर मिल र ६० भन्दा बढी गुड उद्योग छन् । 

कञ्चनपुर जिल्लाको पुरानो वि.स. १९१७ दखि २०१९ (इ.स. १८६०–१९६२)सदरमुकाम दक्षिणी भेगको केन्द्र, भौगोलिक, औद्योगगिक, व्यापारिक र प्रशासनिक महत्व वोकेको ऐतिहासिक स्थल बेलौरी पूर्वपश्चिम राजमार्ग सित जोड्नु स्थानिय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय आवश्यकता हो । 

कलुवापुर–बेलौरी सहायक राजमार्ग निर्माणमा अत्यन्त ढिला सुस्ती, चरम लापरवाही, बेवास्ता, उपेक्षा, स्थापित माप दण्डको ठाडो उल्लंघन गरिएको देखिन्छ । ह्यूमपाइप, कल्भर्ट, स्लेव कल्भर्ट र पूल निर्माणमा डिजाइन कर्ताको मनपरी देखिन्छ । कुनै ४मि, कुनै५मि, कुनै८मि, कुनै१०मि. सम्मको चौडा पुलपुलेसा हुनु लापरवाही र उपेक्षाको प्रमाण हो । ठुला २ वटा पूलहरुको चौडाई पनि चार, सवा–चार मि. मात्र कायम गरिएको छ । २१ औं शताब्दीमा हालसालै राजमार्गमा बनेका उक्त पूलहरुको चौडाई सिङ्गल लेनको हुनु सडक विभागबाट स्थापित माप दण्डको ठारो उलंघन होइन र ?

४ दशक सम्म सडक पक्की नहुनुले बेलौरी क्षेत्रका जनता ज्यादै उपेक्षित, उत्पिडित र शोषित छन भन्न कर लाग्दछ । कलुवापुर र बेलौरी बजारको दुरी २७ कि.मि. छ बिगत २५ वर्षदेखि यस कच्ची सडकमा बस सेवा चलेको छ । अधिकाँश भागमा गुणस्तर हीन ग्रेवल भएपनि केही किलोमिटर कालो पत्रे पनि गरिएको छ । कलुवापुरदेखि बेलौरी सम्म लामो दुरिका बेलौरी, काठमाण्डु नाइट र बेलौरी बुटवल लाई छोडेर १० वटा बस नियमित चल्दछन । प्रतिबस ३० वटा यात्री भएपनि ३०० जनाले आउ–जाउ गर्दा ६०० जनाले दैनिक यात्रा गर्दछन । २७ कि.मि. दुरी पार गर्न तीन, साढेतीन घण्टा समय लाग्छ र यात्रा अत्यन्त जोखिमपुर्ण हुन्छ । स्याली नदिको पुल वारीपारी ४ कि.मि. क्षेत्रमा कुनै खोलाको बगरमा बस गुडेजस्तो लाग्छ । आरक्ष क्षेत्रको ३ कि.मि. जंङ्गल र चान्देव दक्षिण को सामुदायिक वन क्षेत्रमा सडक दाँया–वाँया बढेको झाडिका हाँगा झ्यालको शिसा खोलेर, हातले पन्छ्याएर चालकले बस चलाउने बाध्यात्मक र जोखिम पुर्ण अवस्था छ । २०४२।०४३ मा सडकनिर्माणका लागि रुख कटान गरेर, क्लीयर गरिएको हो । अहिले फैलिएको झाडी सडक विभागले पूर्ण स्वामित्व लिईसकेपछि उब्जेको, फैलिएको हो । 

कलुवापुर बेलौरी रोड

कलुवापुर बेलौरी रोडमा सवारी भाडादर पनि ज्यादै महङ्गो छ । २०७२ फाल्गुन ११ गते निर्धारण गरिएको भाडादर अनुसार महेन्द्रनगर बेलौरीको भाडा रु. १६२ तोकिएको छ । महेन्द्रनगर कलुवापुरको दुरी २० कि.मि. छ र भाडा रु ५५ तोकिएको छ । यहाँ प्रति कि.मि. २ रुपिया७५पैसा पर्न जान्छ । बचेको रु. १०७ कलुवापुर बेलौरी बजार २७ कि.मि. का लागि प्रति कि.मि. ३ रुपयाँ ९६ पैसा पर्न जान्छ । यस राजमार्गमा प्रत्येक यात्रीले १ रुपयाँ २१ पैसा प्रति कि.मि. महेन्द्रनगर कलुवापुरको भन्दा बढि भाडा तिर्दै आएका छन । १ दिनमा ३००२.६०० यात्रीले १ रुपया २१ पैसा गुणा २७, गुणा ६००. १९हजार ६ सय २ रुपया बढि भाडा तिरेका छन् । केहि वस पुनर्वास क गाँउ सम्म र केहि वस गोकुलपुर बजार सम्म चल्ने गरेका छन । यसै दरले बढि भाडा तिर्नुपर्दा यहाँका यात्रीले दैनिक रु. २०००० (बिस हजार) भन्दा बढि भाडा तिरेका छन लेखाजोखा गर्ने हो भने १० दिनको बढि भाडा रकम रु. २,००,००० (दुइ लाख), १ महिनाको रु. ६,००,००० (छ लाख), र १ वर्षको रु. ७२,००,००० (बहत्तर लाख) हुन्छ । महेन्द्रनगर कलुवापुर कालोपत्रे भएको २० वर्ष भन्दा बढि भईसक्यो । २० वर्ष यता कलुवारपुर बेलौरीका यात्रीले १४,४०,०००००÷–(चौध करोड चालिस लाख)बढि भाडा तिरेका छन ।

दैजी– बेलौरी रोड

दैजी– बेलौरी रोडको पनि यसै अनुपातमा बढि भाडाको मान राख्ने हौ भने गत २० वर्षमा बेलौरी क्षेत्रको जनताले झण्डै २०,८०,००००० (बिस करोड अस्सी लाख) जति बढि भाडा तिरिसकेका छन । छिमेकी भारतीय गाउँ बस्तीको भाडाको अवस्था हेर्नेहो भने बेलौरी निकट खजुरिया बजार देखि पलिया बजार ३५ कि.मि. को भाडा भारु रु. ३२ छ नेपाली रुपान्तरण गरि हिसाब गर्दा प्रति कि.मि. १ रुपया ४६ पैसा पर्न आउँछ जबकि नेपाली बजारमा भारतीय बजार भन्दा डिजलको मुल्य कम छ । बेलौरी धनगढी रोडमा बस भाडा झनै चर्को छ । यहाँ यात्रीले प्रति कि.मि. रु. ५ तिर्नुपरेको छ । बेलौरी काठमाडौं ७५० कि.मि. को भाडा रु. १३००।– हुँदा प्रति कि.मि. १ रुपैया ७३ पैंसा मात्र पर्दछ ।

लामो समयदेखि यस क्षेत्रका राजनैतिक दलका नेता, कार्यकर्ता, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी आदि सम्पूर्ण चेतनशील नागरिक समाजको एकशुत्रिय माग कलुवापुर बेलौरी सडक पक्कि हुनुपर्छ भन्ने नै हो । २०४८ को आम निर्वाचनमा सबै प्रत्यासी र सम्वद्ध दल तथा बिजयी उम्मेदवार (ने.का.) बासुदेव भट्ट र चुनावी आम सभामा सर्वमान्य नेता गणेशमान सिंहको पनि सडक निर्माण चाँडै गराउने प्रतिवद्धता हो । २०५१ को मध्यावधी निर्वाचनमा सबै प्रत्यासी उम्मेदवार, सम्बद्ध राजनैतिक दल र बिजयी उम्मेदवार (ने.क.पा. एमाले) राम कुमार ज्ञवालीक्षेत्र नं. १, भोजराज जोशी क्षेत्र नं. २, तथा तत्कालिन पार्टि अध्यक्ष मनमोहन अधिकारीले सडक छिट्टै बनाउने प्रतिबद्धता सार्वजनिक गरेका हुन । २०५६ को आम निर्वाचनमा सबै प्रत्यासी उम्मेदवार सम्बद्ध दल र बिजयी उम्मेदवार (ने.का.) तारणी दत्त चटौत, क्षेत्र नं. २, नारायण प्रकाश (एन.पि)साँउद क्षेत्र नं. १ तथा चुनावी आम सभामा पूर्व प्रधानमन्त्री एवम् ने.का. वरिष्ट नेता शेरवहादुर देउवाले सडक निर्माण चाँडै गर्ने प्रतिवद्धता पनि गरेका हुन । २०६४ संविधान सभाको निर्वाचनमा सबै प्रत्यासी उम्मेदवार, सम्बद्ध दल र बिजयी उम्मेदवार (एकिकृत माओवादी) टेकेन्द्र भट्ट, क्षेत्र नं. ३, देविलाल चौधरी क्षेत्र नं. २, पुरन राना क्षेत्र नं.१ र दलका केन्द्रिय नेताहरुले सडक छिट्टै निर्माण गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन ।

२०७० संविधान सभा निर्वाचनमा सबै प्रत्यासी उम्मेदवार सम्बद्ध दल र बिजयी उम्मेदवार (ने.का.) बहादुर सिंह थापा, क्षेत्र नं. ३, नारायण प्रकाश (एन.पी)साँउद, क्षेत्र नं.२, दिवान सिंह विष्ट, क्षेत्र नं.१, चुनावी आम सभामा पूर्व प्रधानमन्त्री एवम् ने.का. वरिष्ट नेता शेरबहादुर देउवाले सडक निर्माण छिट्टै गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन । सम्झनै पर्ने हुन्छ यस सहायक राजमार्गको दक्षिणी विन्दु नेपाल भारत सिमाना देखि चान्देव सम्म क्षेत्र नं.१, चान्देव देखि बन्साह सम्म, क्षेत्र नं.२, बन्साह देखि झलारी सम्म, क्षेत्र नं. ३ पर्दछ । बेलावेलामा यस क्षेत्रको भ्रमण गर्ने नेता तथा विशिष्ट प्रशासक हरुले पनि सडक छिट्टै निर्माण हुनु पर्ने सुझाव दिन्छन । नेताहरुमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द तथा पुष्प कमल दहाल, नेता चित्र बहादुर के.सि., नेता कमल थापा आदि बाट पनि सडक छिट्टै बनाउने प्रतिवद्धता भएका हुन । कञ्चनपुर जिल्ला दक्षिणी भेगका तत्कालिन सबै गा.वि.स. हरुको एकल वा छुट्टा–छुट्टै प्रतिनिधी मण्डलले राजधानी गएर सडक निर्माणका लागि ताकेता गरेका समाचारहरु सार्वजनिक भएका हुन । 

२०७३ असार मसान्तमा कलुवापुर बेलौरी सहायक राजमार्ग पक्कि निर्माणको ठेका भएको खवरले यस क्षेत्रमा खुशि छायो । ८ महिना विती सक्दा निर्माण कार्यको थालनी नभएकोले अन्योल छायो । २०७३ फाल्गुन मा कैलाली कञ्चनपुरको ऐतिहासिक महत्वको बेलौरी भन्सार छेउमा सडक डिभिजन महेन्द्रनगर बाट आयोजित एक भव्य समारोहमा सांसद दिवान सिंह विष्ट बाट सिलान्यास गरिएको समारोहमा प्रस्तुत प्रतिवेदन अनुुसार २४ महिना भित्र निर्माण कार्य सम्पन्न भईसक्नुपर्ने जानकारी सार्वजनिक भयो । यस क्षेत्रको जनतामा एक किसिमको उत्साह जाग्यो । 

 

२०७४ असोज आईपुग्दा सम्म निर्माण कार्यको गति निराशाजनक देखिएको छ । २०४८देखि २०७० सम्म भएका स्थानिय र राष्ट्रिय निर्वाचनमा पदिय दायित्व प्राप्त गर्ने दौडमा लागेका सबै जिवित प्रत्यासीहरु, आकांक्षीहरु, बिजयी नेताहरु, सम्बद्ध दलका यस क्षेत्रमा पदासिन नेताहरु, २०७४ असार १४ गते यस क्षेत्रका स्थानिय तह निर्वाचनमा, गाँउपालिका, नगरपालिका अध्यक्ष उपाध्यक्ष पदका सबै आकांक्षीहरु (जोधा हुन खोज्नेहरु) सबै प्रत्यासी उम्मेदवारहरु सम्बद्ध दल र खासगरी अध्यक्ष पदमा बिजयी बेलौरी न.पा.का पोतीलाल चौधरी, बेल्डाँडी गा.पा. का धन बहादुर थापा, शुक्लाफाँटा न.पा.का दिल बहादुर ऐर, लालझाडी गा.पा. का मदन सिंह बडायक, पुनर्वास न.पा.का जिवन थापा नेतृत्वको स्थानिय सरकार,यस क्षेत्रका पूर्व सांसदहरु आगामी मंसिर २१ मा हुन गइरहेको प्रादेशिक र संघिय निर्वाचनका आकांक्षी (जोधा बन्न खोज्नेहरु) उम्मेदवारहरु बुद्धिजिवी, समाजसेवी, सञ्चारजगत, चेतनशील नागरिक समाज, सडक डिभिजन कार्यालय महेन्द्रनग, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा सम्बद्ध सरकारी अरु लाइन एजेन्सीहरु समेत सडकको दयनिय अवस्था,निर्माण कार्यको शुन्य गति निर्माणमागरिएको चरम लापरवाही तथा वेवास्ता अन्यायपूर्ण भाडादर देखेरजनतालाई तत्काल राहत दिन सडकको निर्माण कार्य समयावधि भित्रै गुणस्तरियता सहित सम्पन्न गर्न, करोडौ रकम क्षतिपूर्ति दिनकस्तो प्रभावकारी परिणाम मुखी सामयीक र न्यायपूर्ण कदम चाल्दछन्, सरोकारवालाहरुका लागि बडो कौतुहल र जिज्ञासाको विषय बनेको छ ।  

 

 प्रतिवद्धता, इमान्दारी, परिश्रम र समर्पणले नै देशको भविष्य सुनिश्चित गर्दछ ।“

 

 

 

लेखक– केशवराज जोशी 

तत्कालिन महाकाली उ.मा.वि. बेलौरीका पूर्व प्राचार्य 

 

प्रमुख समाचार

कर्मचारी

View All